रोनाल्डोमाथि बलात्कारको आरोप लगाउने जर्मन पत्रिका आफ्नो अडानमा कायम

असोज २६, २०७५

काठमाडौं — फूटबलर क्रिस्टियानो रोनाल्डोविरुद्ध बलात्कारको आरोपको रिपोर्ट पहिलोपटक प्रकाशित गर्ने एक जर्मन पत्रिकाले आफ्नो स्टोरीमा प्रयोग गरिएका प्रमुख दस्तावेजको आधिकारिकतामा शंका गर्नुपर्ने कुनै कारण नरहेको जनाएको छ । 

रोनाल्डोले चाहिँ सन् २००९ मा अमेरिकाको लास भेगास होटेलमा क्याथरिन मायोर्गालाई यौन आक्रमण नगरेको बताएका छन् । 

युभेन्टसका यी खेलाडीको प्रतिनिधित्व गर्ने वकिलहरूले बुधवार पत्रिकाले टापेका दस्तावेज पूरै झूटो रहेको दाबी गरेका छन् । 

तर डेर स्पीगेल पत्रिकाले बयान दियो ः ‘हाम्रो रिपोर्टलाई पुष्टि गर्ने विभिन्न स्रोतबाट प्राप्त सयौं दस्तावेज हामीहरूसँग छ । हामीहरू आफ्नो समाचारमा दृढ छौं । यी दस्तावेज आधिकारिक हैनन् भनी विश्वास गर्ने हामीसँग कुनै कारण छैन ।’

‘अझ, पहिलेकै जस्तो हामीहरू डेर स्पीगेलमा समाचार र लेख छाप्नुअघि मिहिन रूपमा सूचनाको तथ्य जाँच गर्छौं र कानूनी रूपमा पनि समीक्षा गर्छौं ।’

पत्रिकाको स्टोरी एउटा प्रश्नावलीमा केन्द्रित छ र त्यो रोनाल्डोका वकिलहरूबाट आएको उसको भनाइ छ । उक्त प्रश्नावलीमा रोनाल्डोले कथित आक्रमणका बेलामा मायोर्गाले ‘नाइँ’ र ‘रोक’ भनेको स्वीकारे । 

बुधवार रोनाल्डोका वकिल क्रिस्चियानसेनले दस्तावेजहरू विशुद्ध आविष्कार भएको र सन् २०१५ मा भएको साइबर आक्रमणको परिणाम भएको बताए । आक्रमणमा युरोपका विभिन्न ल फर्महरूबाट विद्युतीथ डाटा चोरिएका थिए । 

क्रिस्चियनसेनले आफ्नो पक्ष सन् २००९ मा लास भेगासमा भएको घटना सहमतिमा भएकोमा दृढ रहेको बताएका छन् । 

मायोर्गाका वकिलहरूले कुनै पनि किसिमका दस्तावेजहरू उपयुक्त कानून कार्यान्वयन निकायलाई दिएर सबै किसिमका असंगतिलाई निराकरण गर्नुपर्ने बताए ।

बीबीसीबाट


ADVERTISEMENT

असोज २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस