दशैंले छोएन हुम्लीलाई, देशभर उल्लास छाइरहँदा हुम्लामा कामको चटारो

कात्तिक २, २०७५

हुम्ला – नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् । 

दशैंका बेला गाउँघरमा किसानलाई कात्तिके कामले छोएको छ । यति बेला दशैँसँगै कात्तिके बालीनाली भित्र्याउने समय पनि भएकाले दशैँलाई ओझेलमा पारेको चङ्खेली गाउँपालिकाका भक्तराज ऐडीले बताए ।


ADVERTISEMENT

हिमाली जिल्ला हुम्लामा एक बाली मात्र खेती हुने र छ महीनाको खेतीपातीले अर्को छ महीनासम्म पुर्‍याउनु पर्ने भएकाले यतिखेर यहाँका खेतीपातीमा लगाइएको कोदो, मकै, फापर, आलुजस्ता अन्न भित्र्याउन स्थानीयवासी व्यस्त छन् । कृषक बिहान ४ बजे उठेर खेतबारीको तुलफल टिप्ने र राति ८/९ बजे घर फिर्ता हुने गरेको उनले जानकारी दिएका छन् ।

वर्षमा एकचोटी आउने चाडमा पनि वैशाख, जेठमा लगाएका बालीनाली समयमै घर नभित्र्याउँदा बारीमै कुहिने चिन्ताले पनि यहाँका किसानले दशैँभन्दा महत्व कात्तिकको कामलाई दिने गरेको सिमकोट गाउँपालिका–२ ठेहेका हेमन्त बोहराले बताए । यति बेला पाकेका फलफूल समयमै घर नभित्र्याए चरा–चुरुङ्गीले खाने र पाकेको फल झरेर खेर जाने भएकाले पनि यहाँका कृषक व्यस्त भएका हुन् । 

कात्तिक २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस