कात्तिक ५, २०७५

गोरखा-भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर यहाँ एक व्यक्तिको मुत्यु भएको छ । जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिनुभयो ।

छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्कासि चिप्लिएर भिरबाट खसेको मृतकका छोरा गिर्जा घलेकोे भनाइ उद्धृत गर्दै उहाँले बताउनुभयो । “बाबु चिप्लिएर खसे पछिसँगै भिरमा मह झिक्न पुगेका छोरा गिर्जा घलेले स्थानीयलाई खबर गरे, गाउँका सबैमान्छे खोजतलास गर्न पुग्याैं, घलेले भन्नुभयो, “करीब तीन÷चार घण्टापछि बल्ल मृतावस्थामा उनलाई फेला पार्यौँ ।” घले भिरबाट खसेर बेपत्ता भएको जानकारी पाएपछि बारपाक बजारदेखि करीब डेढ किलोमिटरको दूरीमा पर्ने उक्त भिरमा गाउँले सबै उनलाई खोज्न पुुगेका थिए । 

भिरबाट करीब पाँच मिटर तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाइ छ । उनको शरीर पूर्णरुपमा क्षतविच्छेद अवस्थामा फेला पारेको घलेले बताउनभयो । कुम्र्याह भिर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भिरमौरीको मह भिक्न जाने गरेका छन् । 


ADVERTISEMENT

कात्तिक ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस