राष्ट्रिय क्रिकेट खेलाडी भण्डारीलाई एक लाख नगदसहित सम्मान

कात्तिक २८, २०७५

कञ्चनपुर –राष्ट्रिय क्रिकेट खेलाडी ललितबहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सम्मान गरेको छ । 

नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार १११ नगद रकम सम्मानपत्रसहित खेलाडी भण्डारीलाई सम्मान गरेका हुन् । 'खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले खेलाडी भण्डारीलाई सम्मान गरेका छौं,' नगरप्रमुख ऐरले भने, 'प्रतिभावान् खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पुर्‍याउँछ ।'


ADVERTISEMENT

खेलाडी भण्डारीले सम्मान हुन पाउँदा निकै खुशी भएको बताए । खेल मैदान बनाएर प्रतिभावान् युवालाई खेलप्रतिको आकर्षण बढाउन सकिने उनले बताए ।

कैलालीको धनगढीमा आयोजना गरिएको डिपिएल दुईमा क्रिकेट खेलाडी भण्डारी मोस्ट भ्यालुएबल प्लेयर घोषित भई गोल्डन बुट जितेका थिए ।

भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन् ।

कात्तिक २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस