सवारी दुर्घटनामा चालक कति जिम्मेवार ?

फाइल तस्वीर
मंसिर ९, २०७५

सडक दुर्घटना । डडेल्धुरामा बस पल्टिँदा १८ जनाको मृत्यु भएको घटनामा सीमित छैन । इलाम, सिरहा, सप्तरी समेतका ठाउँमा मोटर वाहन दुर्घटनामा थप यात्रुको ज्यान गैसकेको छ । महाकालीदेखि मेचीसम्मका इलाका दुर्घटनाबाट पीडित हुने क्रम जारी छ; बढ्दो छ । तर राज्यव्यवस्थासित गाँसिएका निकायहरू यसबारे उदासीन देखिन्छन् । सडक दुर्घटनाका विषय हवाई दुर्घटना हुँदा बन्ने छानबीन आयोग/समितिहरूको दायरामा परेको पनि पाइँदैन । यस्ता घटना खालि तथ्याङ्क र तालीकामा समावेश हुने विवरण बन्दै गएका छन् । यो निन्दनीय प्रवृत्ति हो । र, उपभोक्ता हकहितका लागि सक्रिय संस्था र व्यक्तिहरूले आवश्यकता अनुसार सरकारी उपेक्षाभावलाई अदालतको ढोकामा पु-याउन अघिसर्नु पर्छ ।

दुर्घटनाका कारण सतहमै देख्न सकिन्छ : सडकको दुरवस्था, वाहनहरूको भत्के-बिग्रेको अवस्था र चालकको असावधानी र लापरवाही । सवारी चालक प्रमाणपत्र वितरणमा पैसाको चलखेल समेत हुन्छ भन्ने प्रेस विवरणहरूलाई त्यसै पनि बेवास्ता गर्न सकिँदैन ।


ADVERTISEMENT

सडक दुर्घटनाका कारणहरू अरू पनि छन्; होलान् । तर उपलब्ध आँकडाको आधारमा ‘ धेरैजसो ’  दुर्घटना चालकको लापरवाहीबाट हुने गरेको प्रहरी विश्लेषण छ । कार्तिक २९ गते राष्ट्रिय समाचार समिति (रासस) ले वितरण गरेको समाचारमा प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकले गराउने दुर्घटनाका तीन पक्ष औंल्याउनु भएको छ : गुडाइएको वाहनलाई नियन्त्रणमा राख्न नसकिने बेगमा कुदाउनु, आफूले चलाएको वाहनभन्दा अघिल्तिरका वाहनलाई साँगुरो ठाउँ र मोडमा पनि उछिन्न (ओभरटेक गर्न होडबाजी गर्नु) र चालकले मादक पदार्थ सेवन गर्नु ।

स्पष्ट छ, चालकसित सम्बन्धित यी तीनवटै चुनौती सम्बोधन गर्न र समाधान निकाल्न सकिने प्रकृतिका हुन् ।‘गति सीमित’ का सङ्केत सडक राजमार्गहरूमा पर्याप्त संख्यामा राख्न लगाउन सकिने कुरो एउटा पक्ष हो भने नटेर्ने र जथाभावी उछिन्ने प्रवृत्तिमा  समयोचित जरिवाना ठाउँको ठाउँ तोकेर असुल गर्ने नियम लागू गर्न सकिने अर्को पाटो हो । मादक पदार्थको सेवन गरी वाहन कुदाउनेहरूलाई प्रहरीले एक हदसम्म अहिले नै निगरानीमा राखेको छ । यस कार्यलाई अब शहरी इलाकाहरूमा सीमित नराखी राजमार्गहरूमा बस ट्रक हाँक्ने चालकलाई निगरानीमा राख्ने उपाय गर्न मिल्ने नै देखिन्छ । चालू मापसे अभियान प्रभावकारी रहेको भए प्रवक्ता सुवेदीले मादक पदार्थ सेवनको प्रसङ्ग ताजा सन्दर्भमा उठाउनु हुने थिएन ।

सडक दुर्घटना कम गर्ने नीति र कार्यक्रम प्राथमिकताको आधारमा तत्काल शुरू होस् भन्ने लोकान्तरको सुझाउ हो ।

मंसिर ९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस