विश्वव्यापी आलोचना भइरहँदा पनि 'सैनिक ज्यादती'बारे किन मौन छिन् सू की ?

आङ सान सू की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल
मंसिर १४, २०७५

म्यान्मारको राजनीति धेरैजनाका लागि अनौठो कुरा हो । अनि त्यसमा पनि आङ सान सू कीले देशका सशस्त्र बल तात्मदलाई दानवीकरण गर्न अस्वीकार गर्नु चाहिँ अत्यन्तै अनौठो मानिएको छ ।

तात्मदमाथि नरसंहारको उद्देश्य राखेको, बलात्कारलाई युद्धको हतियारका रूपमा प्रयोग गरेको, यातना दिएको र आगजनी गरेको आरोप छ । 


ADVERTISEMENT

सू कीलाई देशको प्रशासनको पूर्ण जिम्मेवारी नदिइएको भनी धेरैले बुझेका छन् किनकि सेनासँग बढी नै संवैधानिक अधिकारहरू उपलब्ध छन् । तर उनले एउटा मञ्चमा उभिएर संसारले दिएको निकै ठूलो माइक्रोफोन प्रयोग गरी
सेनाका जर्नेलहरूको किन भर्त्सना गर्दिनन् भन्ने कुरा व्याख्या गर्न गाह्रो देखिन्छ । उनीहरूलाई हत्यारा र बलात्कारी भन्नुको साटो सू की उनीहरूसँग सहकार्य गरिरहेकी छिन्, उनीहरूलाई महत्त्वपूर्ण पदमा नियुक्त गरिरहेकी छिन् र बर्दीधारी पुरुषहरू उनले साथीहरूमाझ भएजस्तो व्यवहार गरेकी छिन् । 

संसारका लागि यो विवादास्पद र नैतिक रूपमा भर्त्सनायोग्य कार्य हो । ‘कुनै समयकी नैतिक नेता आङ सान सू कीको मौनता म्यान्मारमा खतरनाक छ’, द हफिङटन पोस्ट घोषणा गर्छ । उनको ‘मूर्दातुल्य मौनताले उनलाई नैतिक
रूपमा कुकर्मको मतियार बनाउँछ’, द गार्डियन तर्क गर्छ ।

म्यान्मारको सेनामाथि नरसंहारको उद्देश्य राखेको आरोप लगाउने संयुक्त राष्ट्रसंघीय प्रतिवेदनले यस्तो निष्कर्ष निकाल्यो : ‘तात्मदका कारवाहीमाथि नियन्त्रणका लागि नागरिक अधिकारीहरूलाई प्राप्त संवैधानिक अधिकारले थोरै मात्र क्षेत्र राखेको भएपनि’ सू कीले घटनाहरूलाई रोक्न वा कम गर्नका लागि आफ्नो ‘नैतिक अधिकार’ प्रयोग गरिनन् । 

यो ‘नैतिक अधिकार’ के हो ? सू कीका आलोचकहरू यसलाई सेनाविरुद्ध ‘उभिनु’ हो भन्छन् जस्तै न्युयोर्कको वाल स्ट्रीटमा निडर बालिकाले हानिएको साँढेको सामना गरिरहेकी छिन् । यो ब्रह्माण्डमा नैतिकता एक हतियार हो । यो कसैको टाउको कुच्याउनका लागि प्रयोग गरिने ढुंगा हो । 

तर सू कीले यो दर्शनलाई कहिले पनि अपनाइनन् । उनको नैतिक ब्रह्माण्डमा साहस भनेको डरबाट मुक्ति हो जसलाई उनले शत्रुताबाट मुक्ति वा घृणा गर्ने आवश्यकताबाट मुक्तिका रूपमा परिभाषित गरेकी छिन् । यो साहसले नै उनलाई कोही व्यक्तिनजिक बस्न सम्भव तुल्याएको छ, न कि उनीहरूविरुद्ध उभिन । 

उनी नजरबन्दमा हुँदा मानिसहरू यसलाई साहस र लावण्यका रूपमा, अझ सन्तत्वका रूपमा, प्रशंसा गर्थे । सन् १९९५ मा सू कीलाई जोन पिल्गरले भेटेका थिए । उनी त्यतिखेर अनेकौंपल्टको थुनामध्ये एकबाट भर्खरै रिहा भएकी थिइन् । पिल्गरले उनलाई शत्रुशक्तिबाट घेरिँदा र आफ्नो परिवार, सहकर्मी र साथीभाइबाट टाढा हुनुपर्दा डर लागेको छ कि भनी सोधेका थिए । 

तर उनले जोड दिएर भनिन्, ‘छैन किनकि मैले उनीहरूविरुद्ध शत्रुभाव राखिनँ । अनि मानिसले त्यो बुझ्न नसकेको जस्तो लाग्छ । डर शत्रुताबाट आउँछ । मैले उनीहरूप्रति शत्रुताभाव राखिनँ त्यसैले आराम अनुभव गरें ।’

सू कीको नैतिक साहस यो दृढ विश्वासमा अडेको छ : घृणा र डर सँगसँगै उत्पन्न हुन्छन् । तपाईंले कसैलाई घृणा गर्नुभएन भने उससँग डराउनुपर्दैन । सन् २०१२ मा पहिलोपटक संसदमा प्रवेश गर्दा सू कीलाई पत्रकारहरूले तपाईंमाथि दमन गर्ने सैनिकहरूकै पंक्तिमा बस्नुपर्दा कस्तो अनुभव भयो भनी सोधेका थिए । उनले उत्तर दिइन्, ‘ममा सेनाप्रति सद्भाव छ त्यसैले उनीहरूसँग बस्नका लागि मलाई चिन्ता लाग्दैन । उनीहरूसँग बस्दा मलाई खुशी लाग्छ ।’ 

यो भन्नका लागि मात्र भनिएको कुरा थिएन । सू कीले सेनाप्रति दर्शाएको प्रेम उनको पिताप्रतिको प्रेममै निहित छ । उनका पिता बर्मेली सेनाका संस्थापक मानिन्छन् र देशका सबभन्दा ठूला स्वतन्त्रता नायक पनि । 

सू कीले बीबीसीकी क्रिस्टी योङलाई सन् २०१२ को अन्तर्वार्तामा स्तब्ध बनाउँदै आफूले ‘सेनालाई एकदमै मन पराउने’ किनकि यसलाई जहिले पनि ‘बुवाको सेना’ ठान्ने बताएकी थिइन् । योङले सेनामाथि लगाइएका आरोपहरूको
चर्चा गर्दा सू कीले जवाफ फर्काइन्, ‘पक्कै हो । उनीहरूले जे गरे नराम्रो गरे तर तपाईंले कसैलाई मन पराउनुभयो भने ऊ सुध्रिने समयको प्रतीक्षा गरिरहनुहुन्छ जस्तो मलाई लाग्छ ।’

कोही पनि सुध्रिनै नसक्ने गरी बिग्रिएका हुँदैनन् भन्ने विचार बौद्धधर्मको मेत्ता अवधारणाको केन्द्रमा छ । मेत्ता भनेको सबै प्राणीहरूका लागि असीमित, निःशर्त प्रेम र करुणा हो । मेत्ताले कुनै पनि व्यक्तिलाई उसको कर्मबाट
छुट्ट्याउन सक्ने करुणा माग गर्छ । एक हत्यारालाई हत्याराकै रूपमा मात्र हेर्दा क्षमाभाव असम्भव हुन्छ । क्षमाभावविना करुणा हुन सक्दैन र व्यक्ति मेत्ताको वृत्तभन्दा बाहिर रहन्छ । यो भनेको मानिसभित्र अन्तर्निहित रहेको
असलपनमा गहन विश्वास र सामाजिक परिवर्तनकर्ताका रूपमा प्रेमको शक्तिमाथिको प्रतिबद्धता हो । 

मेत्ताको राजनीति सर्सर्ती हेर्दा अत्यन्तै उच्च विचारको र धरातलको खतरनाक वास्तविकताबाट टाढिएको जस्तो देखिन्छ तर सू कीले सेनासँग कुनै बोझविना नै डील गर्ने इच्छा देखाउँदा व्यावहारिक तथा कठोर राजनीतिका लागि
स्थान उपलब्ध गराउँछ । सू कीले संसदीय प्रक्रियामा रहेका अप्ठ्यारा बाधा पार गर्नका लागि पूर्व जर्नेलहरूलाई विभिन्न पदमा नियुक्त गरेकी छिन् । उनले नीतिगत परिवर्तनहरू अघि बढाउन समेत पूर्व सैनिकहरूको प्रतिभा र
सञ्जालको उपयोग गर्ने गरेकी छिन् । 

यसले उनलाई संविधान संशोधनका विषयमा पारदर्शी ढंगले तथा अनवरत रूपमा कुरा गर्नका लागि रोकेको छैन । तात्मदले संविधानमा आफ्नो लागि खोजेको भूमिकालाई उनले यसरी प्रत्यक्ष चुनौती दिएकी छिन् । यसले उनलाई
गैरकानूनी हिंसाको आलोचना गर्न अनि मानवअधिकार उल्लंघनको निन्दा गर्न रोकेको छैन र विधिको शासनभित्रका संरचनामा रहेर न्यायको कुरा गर्न पनि रोकेको छैन । सू कीका लागि सेनाले गरेको काम खराब भएपनि सेना
आफैंमा खराब छैन । त्यसैले कुनै दिन सेनाले आफूलाई पापमुक्त गर्ने आशा उनले सधैं राखिरहनेछिन् । 

अहिले सू कीलाई आलोचना गर्ने फेशन नै चलेकाले तपाईं पनि उनको आलोचना गर्न सक्नुहुन्छ तर सू की एक आध्यात्मिक राजनीतिकर्मी भएको कुरा सत्य हो । उनीजस्तो राजनीतिकर्मी एकदमै दुर्लभ हुनाले हामीहरू मूल्यांकन
गर्नै जान्दैनौं ।

(इकोनोमिक टाइम्समा प्रकाशित अभिजीत दत्तको विश्लेषणको भावानुवाद)

मंसिर १४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस