चुनौति अमेरिकी कूटनीतिको, उध्दरण मनुस्मृतिको

मंसिर १५, २०७५

अंग्रेजी पुस्तकको समीक्षा अंग्रेजीमा हुनु स्वाभाविक हो । हिरामणि घिमिरेले त्यही गर्नुभएको हो---डा. देवेन्द्रराज पाण्डेको नयाँ पुस्तकको चर्चा ‘स्पटलाइट’ मा छपाएर । समीक्षकले समीक्षाको थालनी एक अमेरिकी उद्‌गारको उध्दरणबाट गर्नुभएको छ :

‘ If all sinners were to be shot at sight, few would be left to bury the dead.’---Clarence Darrow. ( सबै पापीलाई देख्नासाथ गोली ठोकेर मारियो भने मर्नेहरूलाई गाड्ने मानिस बाँकी रहने छैनन् )


ADVERTISEMENT

क्लेरेन्स ड्यारोले बीसौं शताब्दीको शुरूमाप्रकट गरेको यस विचारलाई उतिखेरैकै सन्दर्भमा पढ्नु गुन्नु श्रेयस्कर होला । विगतबाट पाठ सिकेर सजग हुने कुरो भिन्दै हो ।

घिमिरेले समीक्षा गरेको पुस्तकले अध्ययनमा ल्याएका कुराहरू मूलत: सदाचार, इमान्दारी र सेवाभावसित सम्बन्धित छन् ; भ्रष्टाचारको विरोधमा छन् । तर यस टिप्पणीले कोट्याउन खोजेको कुरो अर्कै छ, र त्यो हो उध्दरण र त्यसको प्रस्तुति सम्बन्धी प्रचलन ।

हिरामणि घिमिरेले धेरै मेहनत गरेर, खोजेर, खोतलेर सात समुद्रपारबाट ल्याएको एक घतलाग्दो उध्दरण नेपालका अंग्रेजी पाठकहरूसित बाँडचुँड गर्नुभएको छ । यो प्रशंसनीय काम हो । यस्तो काम पढालेखा कहलिने अन्य नेपालीले पनि गर्छन्, गरेका छन् । म पनि बेला-बखत, मौका पर्दा गर्छु । देश-देशावरका बयान, पुस्तकहरू छिचोल्दा नयाँ सोच वा कोण भेट्टाएँ भनेर खुसी पनि हुन्छु । उध्दरण दिनमा कञ्जुस्याञी गर्दिनँ ।

अचेल कहिलेकाहीँ लाग्छ, अनाहक टाढा-टाढा भौंतारिएर गल्ती पनि गर्दो रहेछु ।

खँदिला, रसीला र पोटिला उध्दरण वरिपरि पनि पाइने रहेछन् । यही हिमवत्खण्डको सेरोफेरोमा भेटिने रहेछन्—मूल्यवान् वृक्ष वनस्पति भेटिए झैं । वेद, उपनिषद्, गीता समेत एक हैन अनेक ग्रन्थ उपलब्ध छन् । रुचि हुनुप~यो, पहुँच बढाउनु प-यो । पहुँच बढाउन संस्कृतको अध्ययनले ठूलै सघाउ पुग्ने देखियो । जो जानकार छ उसबाट सिक्न सङ्कोच मान्नु भएन ।

एसियाको यस हिमाली खण्डमा उपयोगी र विचारोत्तेजक उध्दरण फेला पार्न सात समुद्रपारका लेखक, विद्वान्‌हरू यतै आइपुग्दा रहेछन् । भनौं, यता आएर बटुलेका सामग्री अंग्रेजीमा रूपान्तरण हुँदै युरोप, अमेरिका पुग्दा रहेछन् । र, त्यताका समाजको चिन्तन-मनन प्रकृयामा ती सामग्रीको योगदान हुँदो रहेछ । अन्वेषकहरू आदान-प्रदानमा लागेकै हुन्छन् ।

उदाहरण हुन सक्छ यसै वर्ष (सन् २०१८) संयुक्त राज्य अमेरिकामा प्रकाशित पुस्तक ‘वार अन् पीस’ ( शान्तिमाथिको युध्द ) । कूटनीतिक संयन्त्रहरू खिया लागेका, भुत्ते भैदिनाले विश्वमा अमेरिकी प्रभाव निरन्तर घटिरहेको छ भन्ने लेखक रोनन् फ्यारोको निचोड छ । पत्रकारिता र अमेरिकी परराष्ट्र सेवा दुबैतर्फको अनुभव बटुलेका फ्यारोले चर्चित पुस्तकको प्रस्तावना खण्ड नै पूर्वीय ग्रन्थ‘मनुस्मृति’ को उध्दरणबाट गरेका छन् । यसरी :--

Appoint an ambassador who is versed in all sciences, who understands hints, expressions of the face and gestures…The army depends on the official placed in charge of it…peace, and its opposite, war, on the ambassador. For the ambassador alone makes and separates allies; the ambassador transacts that business by which kings are disunited or not.

THE MANUSMIRITI, HINDU SCRIPTURE, CA. 1000 BCE

कस्ता-कस्ता गुण, खुबी र क्षमता भएको व्यक्तिलाई राजदूत नियुक्त गर्नू भनेर इसापूर्व एकहजार वर्ष पहिले मनुले निर्देश गरेका छन् । त्यसको मर्म एक अमेरिकी लेखकले बुझेर आजको सन्दर्भमा उल्लेख गर्न आवश्यक देखेका ठाने । भनेका छन्, सेनाले पनि कूटनीतिको जिम्मा लिनेकै भर गर्नुपर्ने हुन्छ । आदि, इत्यादि । 

मनुस्मृतिको यस उध्दरणले फ्यारोको पुस्तकको वजन बढाएको छ ।

चारशय पृष्ठको यस पुस्तकमा लेखकले डोनाल्ड ट्रम्पको सरकार बहाल भएपछि अमेरिकाको विश्वछवि झन् झन् धमिलिएको यथार्थ औंल्याएका छन् ।

मंसिर १५, २०७५ मा प्रकाशित

ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस