भारती खरेल स्मृति पुरस्कार प्राध्यापक शर्मालाई

मंसिर १७, २०७५

काठमाडौं – यसवर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक रमा शर्मालाई प्रदान गरिएको छ । सहित्यकार भारती खरेलको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु ५१ हजार छ ।

साहित्य साधिका तथा भक्तिमती भारती खरेलको ८१औं जन्मजयन्ती एवं उनको स्मृतिमा आइतवार आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोइरालाले प्रमाणपत्रसहित शर्मालाई सो पुरस्कार प्रदान गरिन् ।


ADVERTISEMENT

प्रदेश प्रमुख कोइरालाले आगामी दिनमा पुरस्कार वितरण मात्र नभई अन्य रचनात्मक र सामाजिक कार्यहरु पनि गर्नुपर्ने बताइन् । भारती खरेल प्रतिष्ठानमा सुरुआतदेखि नै सदस्यका रुपमा रही योगदान दिँदै आएकी प्राध्यापक शर्माले यस पुरस्कारले आफूमा साहित्यप्रति थप हौसला जागेको बताइन् ।

सो अवसरमा प्रा.डा. हेमचन्द्र नेपालले नेपाली साहित्यमा भारती खरेलले महिलावादी चिन्तनलाई बढी प्राथमिकता दिएको बताउँदै नेपाली नारी साहित्यमा उनको अतुलनीय योगदान रहेको बताए ।

“पुरुष दमनप्रति प्रतिवाद र महिलावादी चिन्तन गर्ने खरेलको साहित्यका प्रमुख विशेषता हुन्”, उनले भने । खरेलका ‘एउटी आमाको कथा’, ‘लाहुरे’, ‘गंगा जमुना’, ‘कुमारी आमा’ गरी चार उपन्यास प्रकाशित छन् ।

त्यसैगरी उनका अन्य कविता संग्रह, लघु उपन्यास, भजन र गीत पनि प्रकाशित छन् । प्रतिष्ठानको विसं २०४९ मा स्थापना भएको थियो ।

मंसिर १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस