आफ्नो उमेर २० वर्ष घटाइदिन यी व्यक्तिले अदालतमा दिए निवेदन, के भन्यो न्यायालयले ?

मंसिर १९, २०७५

काठमाडौं — नेदरल्यान्ड्समा टीभी व्यक्तित्व, मोटिभेसनल गुरु र पूर्व नेता इमाइल रेटलब्यान्ड ६९ वर्षका भए । तर उनी आफूलाई ४९ वर्षका ठान्छन् । 

त्यसैले उनले आफ्नो उमेर २० वर्ष घटाउनका लागि अदालतमा निवेदन दिए । 

उनले निवेदनमा लेखे, ‘मेरो उमेर २० वर्ष घटाइदिनुस् । आजको युगमा मानिस नाम र लिंग समेत परिवर्तन गरिरहेका छन् । अनि मैले उमेर कम गर्न किन नपाउने ?’

तर अदालतले उनको निवेदन खारेज गरिदियो । अदालतले जिकिर ग–यो, ‘कानूनमा अनेकौं अधिकार मानिसको आयुको आधारमा निर्धारण गरिएका छन् । तिनमा तलमाथि गरेमा अनेकौं समस्या आइलाग्छन् ।’

उमेर घटाउन वा परिवर्तन गर्न कुनै कानूनी आधार नभएको अदालतले स्पष्ट पारेको छ । रेटलब्यान्ड आफ्नो वास्तविक आयुभन्दा २० वर्ष सानो अनुभव गर्न र त्यसै हिसाबमा काम गर्न स्वतन्त्रता रहेको न्यायाधीशहरूले बताए । कानूनी
दस्तावेजमा परिवर्तन गर्दा कानून र समाजमा दुष्प्रभाव पर्ने उनीहरूले तर्क गरे । 

उमेर बढी भएका कारण डेटिङ गर्न नपाएको र उमेर घटाएमा केटीहरूले आफूलाई पत्याउने रेटलब्यान्डको भनाइ छ ।

एजेन्सी
 


ADVERTISEMENT

मंसिर १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस