लक्जम्बर्गमा सार्वजनिक यातायात निःशुल्क बनाइँदै

मंसिर २०, २०७५

काठमाडौं — देशमा सबै किसिमका सार्वजनिक यातायात निःशुल्क बनाउने लक्जम्बर्ग संसारकै पहिलो देश बन्न लागेको छ । 

ट्रेन, ट्राम र बसमा अर्को वर्षको गर्मी महिनादेखि भाडा लिइनेछैन । बुधवार दोस्रो कार्यकालका लागि प्रधानमन्त्री जेभिएर बेट्टेललाई शपथग्रहण गराइएपछि सरकारले यो घोषणा गरेको हो । 

बेट्टेलको डेमोक्रेटिक पार्टीले वामपन्थी समाजवादी दल र ग्रीन पार्टीसँग मिलेर गठबन्धन सरकार बनाउने भएको छ । 

यातायातमा भाडा नलिएसँगै नयाँ सरकारले गाँजालाई वैध बनाउने विषयमा समेत विचार गरिरहेको छ । अनि दुईवटा थप सार्वजनिक बिदा पनि ल्याउँदैछ । 

लक्जम्बर्गले यातायातका सम्बन्धमा लगातार प्रगतिवादी दृष्टिकोण अपनाइरहेको छ । यही वर्षको गर्मी महिनामा सरकारले सबै बालबालिका र २० वर्षमुनिका व्यक्तिका लागि निःशुल्क यातायातको व्यवस्था गरेको छ । 

माध्यमिक विद्यालयका विद्यार्थीहरूले घर र विद्यालयबीच गाडी चढ्दा भाडा तिर्नुपर्दैन । 

दुई घन्टाको यात्राका लागि दुई यूरो तिरे पुग्छ र जम्मा २५ सय ९० वर्गा किलोमिटर भएको सानो देश दुई घन्टामा घुमिसकिन्छ । 

सन् २०२० को शुरूआतदेखि सबै टिकटहरू खारेज गरिनेछ अनि भाडा उठाउने र टिकट खरिदबिक्रीको निरीक्षण गर्ने झन्झटबाट मुक्त गरिनेछ । 

द गार्डियनबाट


ADVERTISEMENT

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस