कर्णालीमा बिदा सिफारिस गर्न समिति गठन, माघे संक्रान्तिमा सार्वजनिक बिदा

पुस २७, २०७५

सुर्खेत – कर्णाली प्रदेश सरकारको ३३ औं बैठकले कर्णाली प्रदेशमा माघी तथा माघे संक्रान्ति पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीवार साँझ बसेको बैठकले बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।


ADVERTISEMENT

कर्णाली प्रदेशमा अन्य कुन–कुन पर्वमा बिदा दिन आवश्यक छ भन्ने कुराको अध्ययन गर्न १ समिति समेत गठन गरिएको शुक्रवार बिहान आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले सार्वजनिक बिदा निर्धारण सुझाव समिति गठन गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी संयोजक, सामाजिक विकास मन्त्री दल रावल सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव यज्ञराज बोहरा सदस्य सचिव रहने गरी समिति गठन गरेको छ ।

मन्त्रालयले सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । यो विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गर्ने छ ।

कर्णाली प्रदेश स्वयंसेवक परिचालन कार्यविधि स्वीकृत गरेको छ । सामाजिक विकास मन्त्रालयले कार्यविधि तय गरेको हो ।

मन्त्रालयले तयार गरेको प्रदेश युवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकलाई शैद्धान्तिक सहमति प्रदान  गरिएको मन्त्री भण्डारीले जानकारी दिए । घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको छ ।

उपभोक्ता हीत संरक्षण सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरिएको मन्त्री भण्डारीले बताए । जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गर्ने प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को राजनैतिक समितिमा पठाउने निर्णय गरेको बताइएको छ । 

पुस २७, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार