मोरङमा नमूना सांस्कृतिक ग्राम बन्दै, लेटाङमा सबै धर्म समेटेर ‘शान्तिधाम’

पुस २८, २०७५

विराटनगर – मोरङको पथरी शनिश्चरे नगरपालिका–१० मा बहुजातीय सांस्कृतिक ग्राम स्थापना हुने भएको छ ।

विभिन्न जातीय पहिचान झल्कने ग्रामको स्थापनासँगै बहुसांस्कृतिक ग्रामको स्थापना गर्न लागिएको हो ।


ADVERTISEMENT

१ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले आफ्नो बजेट तथा कार्यक्रमभित्र सांस्कृतिक ग्रामको स्थापनाको लागि अध्ययन समेत शुरू गरेको छ । छाता संस्थाको रुपमा सांस्कृतिक ग्रामको स्थापना गर्ने र त्योभित्र विभिन्न जातजातिको संस्कार संस्कृतिको संरक्षणको लागि त्यही ग्रामबाट काम हुने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

उनका अनुसार पथरीमा सांस्कृतिक ग्राम–३ धाम र लेटाङ नगरपालिका–१ को राजारानीमा शान्ति धामको रुपमा विकास गर्न लागिएको हो ।

कसरी बन्छ सांस्कृतिक ग्राम ?

ग्राम स्थापनाको लागि पथरी शनिश्चरे नगरपालिका–१० भुटानी शरणार्थी शिविरको खाली जग्गालाई सदुपयोग गर्ने तयारी छ । शिविरमा १ सय बिगाहा जग्गा रहेको छ । 

भुटानी शरणार्थी शिविर रहेको स्थानका कतिपय भुटानी शरणार्थी तेस्रो मुलुकुमा स्थानान्तरण भइसकेका र बाँकीलाई झापाको बेलडाँगी शिविरमा व्यवस्थापन गरेर खाली रहेको जग्गालाई नमूना रुपमा व्यवस्थित गर्ने तयारीमा प्रदेश सरकार देखिएको छ ।

संघीय सरकारको नाममा रहेको जग्गा प्रदेश सरकार मातहत ल्याएर प्रयोग गर्ने तथा नमूना सांस्कृतिक ग्रामको रुपमा स्थापना गर्न लागिएको मन्त्री घिमिरेले बताए । हिमाली प्लट, पहाडी प्लट र तराई प्लट गरी विभाजन भएको जग्गाभित्रै हिमालको अवस्थिति, रीतिरिवाज, चालचलन तथा जनजीवनलाई जस्ताको त्यस्तै देखाइने छ ।

पहाडी क्षेत्रको अवस्थिति, भाषा संस्कृति र चालचलन झल्कने खालको बनाइने र तराईको प्लटमा पनि तराईको अवस्थाको सामाजिक चित्रण हुने गरी सांस्कृतिक ग्रामको स्थापना गर्न लागिएको मन्त्री घिमिरेले बताए ।

ग्रामभित्र एउटा ठूला धार्मिकस्थलको हुबहु नमूनाको समेत विकास गर्न लागिएको छ । प्रदेशको खोटाङमा अवस्थित हलेसीको सचित्र अवस्था, सुनसरीको बराह क्षेत्र र ताप्लेजुङको पाथिभरालाई सचित्र स्थापना गरिने छ ।

कार्यदलले काम थाल्यो

सांस्कृतिक ग्राम स्थापना गर्न लागिएको ठाउँमा अर्को एउटा प्राकृतिक सम्पदा प्लटको व्यवस्था गरिने छ । सगरमाथादेखि कञ्चनजंघासम्म हिमालको सचित्र चित्रण गर्ने गरी काम शुरू गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सचिव हरीप्रसाद दहालले प्रदेशको अवस्थालाई झल्काउने सांस्कृतिक ग्रामको स्थापना गर्ने गरी तयारी भएको जानकारी दिए । पूर्वसांसद चण्डीप्रसाद राई संयोजक रहने गरी १७ सदस्य अध्ययन कार्यदल बनाईएको छ ।

कार्यदलको सदस्यमा प्रा.डा. सोमप्राद खतिवडा, प्रा.डा. भीम खतिवडा, प्रा.डा. सनत बराल, कृष्ण आचार्य, टंक भण्डारी, गीता तिमिल्सिना, धनपति मैनाली, विक्रम श्री, मोहन तिमिल्सिना, ईरान राई, मनोज अधिकारी, मुकुन्द प्रयास, मोहन तुम्बापो, मृत्युन्जय झा, हेमनाथ अधिकारी रहेका छन् भने कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका उपसचिव उपेन्द्र दाहाल छन् ।

लेटाङको राजारानीमा शान्तिधाम

लेटाङ नगरपालिका–१ राजारानी क्षेत्रमा निर्माण गर्ने भनिएको शान्ति धाममा ५ धर्मको एउटै गन्तव्य बनाइने छ । नेपालका मुख्य धर्महरू हिन्दू, बौद्ध, मुस्लिम, इस्लाम र किरात धर्माबलम्वीको फरक–फरक बाटो र ढोका सहितको एक भव्य संरचना निर्माण गरिने छ । संरचनाको परिकल्पनाकार विक्रम श्रीले ३ वटा तह रहने संरचनामा शुरूको तहमा प्रत्येक ५ धर्मका छुट्टाछुट्टै १–१ वटा बाटो रहने बताए ।

उनले दोस्रो तहमा ती बाटोबाट धेरै खालका बाटो निर्माण हुँदै तेस्रो तहमा पुगिने र तेस्रो तहमा सबैले शान्ति प्राप्त गर्न आ–आफ्नो धर्म अनुसारका प्रणाम, योग, ध्यान, प्रार्थना गर्ने व्यवस्था गरिने गरी शान्ति धामको रुपमा विकास गर्न लागिएको बताए । कल्पनाको आधारमा संरचना निर्माण गर्ने योजना बाहिर आएको उनले जानकारी दिए । 

के छ राजारानीमा ?

राजारानी लेटाङ नगरपालिका–१ मा रहेको महत्त्व बोकेको पर्यटकीय स्थल हो । विराटनगरदेखि करीब ५० किलोमिटर उत्तरपूर्वमा रहेको क्षेत्र राजमार्गदेखि करीब १३ किलोमिटर उत्तरमा छ । राजारानी क्षेत्रको करीब २० हेक्टर क्षेत्रफलमा रहेको छ । प्राकृतिक सौन्दर्य, ताल, विभिन्न किसिमका जल प्राणी तथा वनस्पति मुख्य आकर्षण हुन् ।

धिमालहरूको पहाड भनेर चिनिने राजारानी धिमाल पोखरीको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ । वरिपरि डाँडैडाँडाले छेकिएको उपत्यकाझैं देखिने राजारानी क्षेत्रमा ३ वटा पोखरी र धिमाल तथा मगर समुदायले पूजा गर्ने गरेका २ वटा मन्दिर छन् । 

स्थानीय विशेषताका रूपमा पोखरीमा रहेका विभिन्न जातका सुनाखरी फूलहरू हुन् । यसलाई स्थानीयले विभिन्न प्रकारका पुतली पाइने प्रख्यात स्थानका रूपमा पनि लिने गर्छन् ।

पूर्वी नेपालको झापा र मोरङका आदिवासी धिमालहरूले अढाई महिनासम्म लगाउने ढङढङे (असारे) मेला हरेक वर्षको बैशाख २ गते धिमाल पोखरीबाट शुरू हुने गर्छ । धिमालपोखरी छेउको धिमाल ग्रामथानमा पूजाआजा गरेपछि मेला शुरू हुने गरेको छ ।

धिमाल समुदायका अनुसार परापूर्वकालमा राजारानी पोखरी छेउछाउ क्षेत्रमा धिमालको बसोबास रहेको थियो । कालान्तरमा उनीहरू कुनै कारणले स्थान छाडेर अन्यत्र जान बाध्य भए र त्यस स्थानलाई भुल्दै गए । तर उनीहरूका पुराना परम्पराका केही अवशेष लोकोक्ति, परम्परा या किम्बदन्तीका रूपमा त्यसताका अन्य समूहका मानिसले जीवित राखिदिएका थिए ।

विक्रम सम्वत् २०५८ सालदेखि क्षेत्रमा धिमालहरूले पूजाआजा गर्न लागे । आ–आफ्नो गच्छे अनुसार बोका, कुखुरा, हाँस र परेवाको बलि दिएर धिमालले पूजाआजा गर्ने गर्छन् । मोरङ तराईमा औलोको प्रकोपका कारणले मध्यकालताका धिमाल तराईको उत्तरी फाँट तथा ससाना ढिस्कामा बसोबास गर्दथे । त्यसैताका राजारानी क्षेत्रमा उनीहरूको दरबार रहेको हुन सक्ने अनुमान गरिएको छ ।

पुस २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस