विगतको सहमति र कानूनी आधार विपरीत बढी सुविधा माग्दै अस्थायी शिक्षक

माघ ८, २०७५

काठमाडौं– आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखी आन्दोलन थालेका छन् । 

उनीहरुले आफ्नो ६० वर्ष उमेरसम्म रोजगारीको सुनिश्चित हुनुपर्ने, अस्थायी शिक्षकबाट बिदा हुँदा कानूनबमोजिम पाउने उपदान (गोल्डेन ह्याण्डसेक) मा औषधि उपचारको सुविधा थपेर तत्काल उपलब्ध गराइनुपर्ने माग राखेका छन् । 


ADVERTISEMENT

शिक्षक सेवा आयोगको आन्तरिक परीक्षामा असफल भएका र भाग नलिएका अस्थायी शिक्षकको समूह ‘अस्थायी करार शिक्षक सङ्घर्ष समिति’ ले आफूहरुको भावी रोजगारीको सुनिश्चित माग गर्दै आजदेखि भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना शुरु गरेको हो । 

नेपाल सरकारले शिक्षक समुदायसँगको सहमति कार्यान्वयनका क्रममा शिक्षा ऐनको आठौँ र नवौँ संशोधनको व्यवस्थाअनुसार कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक परीक्षाको मौका दिई परीक्षाफल प्रकाशन भइरहेका बेला नवगठित समितिले सो माग अघि सारेको हो । 

परीक्षामा अनुत्तीर्ण हुने वा भाग नलिनेलाई सेवा अवधिका आधारमा उपदान सुविधा दिन सरकार तयार भएपनि सङ्घर्ष समितिले आफ्नो आगामी रोजीरोटी के हुने ? उपदान सुविधामा औषधि उपचार पाउने वा नपाउने र सो रकम कहिले पाउने भन्ने प्रश्न तेस्र्याएका छन् । अस्थायी शिक्षकको यो मागमा कार्यरत करार शिक्षक पनि मिसिएका छन् । 

सङ्घर्ष समितिमा आबद्ध शिक्षक रामकृष्ण पाण्डेले आफूहरुले विभागमा ज्ञापनपत्र बुझाएको जनाउँदै माग पूरा हुने आशा व्यक्त गरे । 


नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले विगतको सहमतिभन्दा बढी माग्नु उपयुक्त नहुने भन्दै नयाँ आन्दोलन सान्दर्भिक नहुने तर शिक्षा ऐन संशोधनअनुसार बिदा हुने शिक्षकलाई तत्काल सुविधा दिई रिक्त पद समायोजन गरी चाँडो खुल्ला परीक्षा हुनुपर्ने प्रतिक्रिया दिए । 

माघ ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस