देश जलस्रोतको धनी तर छैन खानेपानी !

चैत ८, २०७५

मानव विकास र सभ्यताको आधार पानी हो । पारिस्थितिक प्रणालीको सञ्चालनमा पानीको महत्त्वपूर्ण योगदान रहेको हुन्छ । समस्त प्राणी र वनस्पति विकास पानीमा अडेको छ ।

मानिसले जे–जति सुखसुविधा उपभोग गरिरहेको छ, त्यो प्राणी तथा वनस्पतिको उत्पादन हो भने त्यसको आधार पानी हो । मानिस नै सृष्टिको एक मात्र प्राकृतिक साधनको दोहनकर्ता हो, जसले प्रकृतिका अनेकन उत्पादनलाई एकलौटी उपभोग गरिरहेको छ ।


ADVERTISEMENT

उससँग विवेक पनि छ, उपलव्ध साधनको उपभोगले मानवीय आवश्यकता र समृद्धिलाई युगौं धानी राख्न के गर्नुपर्ला भन्ने । साथै अविवेक र स्वार्थ पनि छ, उपलव्ध स्रोतको एकपक्षीय उपभोग गरौं भन्ने । विवेक र स्वार्थबीच सन्तुलनले नै मानव समृद्धि र आमा पृथ्वीको संरक्षण हुन्छ । मानवीय समृद्धिका लागि पृथ्वीको संरक्षण दीगो विकासको आधार हो । 

पृथ्वीको धेरै अंश पानीले भरिएको भएपनि पानीको उपलव्धता मानवीय आवश्यकता अनुसार छैन । सबै पानी न उपयोगमा ल्याउन सकिन्छ, न पिउनयोग्य नै छ । ‘उपलव्ध पानीमध्ये ९७.५ प्रतिशत समुद्रमा छ । बाँकी २.५ प्रतिशत मात्र उपयोगयोग्य देखिन्छ, जसको ६७ प्रतिशत भण्डार हिउँको रुपमा अन्टार्कटिका र ग्रीनल्याण्डमा जमेर रहेको छ । यसर्थ २.५ प्रतिशत पानीको करिव ३३ प्रतिशत मात्र पिउनयोग्य हो । 

विश्व पानी लेखा अनुसार यो पानीमध्ये ८५ प्रतिशत सिँचाइ, पार्क तथा खेलकुदमा, ६ प्रतिशत घरायसी सरसफाईमा र ४ प्रतिशत औद्योगिक कार्यमा खर्च हुन गइ पिउनका लागि बाँकी ५ प्रतिशत पानी मात्र उपलब्ध छ । त्यसैले २० प्रतिशत मानिसहरू पानीको अभावमा जीवन बिताइहेका छन् । विश्वको कूल जनसंख्या करीब साढे ७ अर्बमध्ये ३ अर्ब ६० करोड मानिस १ महिनाभन्दा बढी पानीको अभावमा छन् भने ७८ करोड ३० लाख खानेपानी पहुँचमा छैनन्, ३ अर्ब सुरक्षित पानीको पहुँचदेखि टाढा छन्, ४ अर्ब घरमा पानीको कनेक्सन छैन । २ अर्ब ५० करोड मानिस आधारभूत सरसफाईको पहुँचमा छैनन् भने ४ अर्ब १० करोड सरसफाईको आधुनिक पहुँचबाट टाढा छन् । 

एउटा मानिसको स्वस्थ जीवन यापनका लागि दैनिक करिव ४६ लिटर जति स्वच्छ पानीको आवश्यकता पर्दछ । सुख्खाग्रस्त इथियोपियाको धर्ममुसा लगायतका क्षेत्रमा गाउले मुखियाको निगरानीमा प्रति परिवार दैनिक पन्ध्र लिटर मात्र पानी वितरण गरिन्छ । नाइल नदी र भिक्टोरिया तालको प्रभाव क्षेत्र बाहेकका अन्य अफ्रिकी मुलुकको हाल पनि यही हो । यसर्थ पानीको दिगो व्यवस्थापन र सहज उपलव्धता समकालीन विश्वका लागि सबैभन्दा चुनौतीपूर्ण विषय हो ।’

प्रकृतिले पानीको भण्डारण, पुनभण्डारण, प्रशोचन, बास्पीकरण र वर्षा लगायतका प्राकृतिक  क्रियाकलापबाट पानी चक्र कायम गरेको हुन्छ । पारिस्थितिक तथा जैविक प्रणाली (इकोसिस्टम) विनासले पानीका प्राकृतिक स्रोतहरु विनास भैरहेका छन् । पानीको सन्तुलन र शुद्धीकरणमा ल्याउने काम प्रकृतिले स्वचालित रुपमा गर्दै आएकोमा त्यो सामथ्र्य क्षय भैरहेको छ । बन विनास, खैरो आर्थिक बृद्धि, अव्यवस्थित बसोवास, अनियन्त्रित तथा अविवेकी मानव क्रियाकलाप, जलवायु परिवर्तनले पानीको प्राकृतिक स्रोत रित्तिदै गएको छ, पानी चक्र असन्तुलित छ । यसले जनस्वास्थ्यमा मात्र प्रभाव पारेको छैन, जीवन सहयोग प्रणालीलाई सिधै चुनौती दिइरहेको छ । किनकी मानवीय आवश्यकता जैविक विविधतासेवा (इकोसिस्टम सर्भिसेस) मा छ । बनस्पति, माटो, सिमसार जस्ता प्राकृतिक अवयवको संरक्षण वेगर पानीको प्राकृतिक चक्रलाई व्यवस्थापन गर्न सकिदैन । त्यसैले सवैजसो मुलुकहरु उत्पादन प्रणालीलाई खैरोबाट हरितमा रुपान्तरण गर्दैछन् । पानीको पुनर्भण्डारणका नया प्रविधि उपयोगमा ल्याइरहेका छन् । वन, वातावरण र पारिस्थितिक प्रणाली संरक्षणमा रणनीतिक रुपमा नै लागि परेका छन् । किनकी एक्काइसौ सताव्दीको सवैभन्दा ओजनदार सवाल पानी हो, पानी भनेको जीवन हो । 

हिन्द कुश क्षेत्रको स्वच्छ पानीको भण्डार (वाटर टावर) का रुपमा कहलिएको नेपाल पिउनेपानीको मात्र हाहाकारमा छैन, खेतीपाती, सरसफाइ सेवा सामथ्र्य पनि गुमाउदै छ । प्राकृतिक जलाधार सुक्दै छन् । परम्परागत ढुङ्गेधारा, कुवा र इनार कि सुके, कि त अतिक्रमित भैसके । गाउघरका पोखरी पनि अस्तित्वमा छैनन् । सिमसारहरु सुक्दै छन्, परिणामतः पानी मात्र सुकेको होइन, विभिन्न जैविक प्रजाति संकटापन्न छन् । एक गाग्री पानी संकलन गर्न गाउ घरमा घण्टाभन्दा बढी समय लगाउछन् भने शहर बजार ट्यांकर आपूर्तिको महंगो मारमा छ । केहीअघि राष्ट्रिय योजना आयोगले गरेको लघु अध्ययन अनुसार पाचथर, रामेछाप, गुल्मी, काभ्रेपलाञ्चोक, महोत्तरी लगायतका जिल्ला पानीको अभावका कारण बसोवास कसरी गर्ने भन्ने समस्यामा छन् ।

केही जिल्लामा सुख्खाग्रस्त खानेपानी योजना सञ्चालन गरिएको छ भने बर्षातको पानी संकलन, पानी पुनर्भरण, मुहान संरक्षण जस्ता कार्यक्रम पनि अघि सोरिएको छ । तर अझै पनि एकीकृत रुपमा पानी रणनीति बनाउने, नदी बेसिनका आधारमा जलप्रणाली व्यवस्थित गर्ने र आर्थिक, सामाजिक एवम् वातावरणीय फइदा लिने काममा हामी चुकेका छौ । कतै बाढीपैरो गएको छ त कतै पानीको हाहाकार छ । जलस्रोत व्यवस्थापन भनेको जीवन प्रणालीको व्यवस्थापन हो भन्न सकेका छैनौं । त्यो गाम्भिर्यता नभए सुख्खा, बाढी, पहिरो, रोगव्याधी, प्रदूषण र खाद्य एवम् पोषण असुरक्षाले अरु च्याप्नेछ । 

रियो सम्मेलनदेखि नीतिगत तहमा पानीको मुद्दाले कार्यसूची पाएको छ । सन् २०१२ को ‘रियों+२०’ ले निर्धारण गरेको ‘हामीले चाहेजस्तो विश्व’ प्रतिवेदनको केन्द्रविन्दुमा पानी थियो । त्यसैको जगमा उभिएर दिगो विकासको लक्ष्यमा पानीलाई समावेश गरिएको छ । जसले सन् २०३० सम्मका लागि केही सूचकहरु सहित लक्ष्या स्थापना गरेको छ । (क) सवैको लागि सुरक्षित र स्वस्थ खानेपानीको पहूच विस्तार, (ख)  सवैका लागि समन्यायिक रुपमा स्वास्थ र सरसफाइको पूहच विस्तार, (ग) पानीको गुणस्तर सुधार, (घ) पानीको अभावमा हुने रोगव्याधि नियन्त्रण, (ङ) पानीको एकीकृत व्यवस्थापन र (च) जलाधार संरक्षणका विषयहरु समेटेर नेपालले लक्ष्य नं ६ मा प्रतिवद्धता जनाएको छ ।

यी लक्ष्यहरुलाई समयवद्ध रुपमा कार्ययोजनामा ढालिएका छन् । तर स्रोत, सामथ्र्य र कार्य जिम्मेवारीको अस्पष्टतालाई समयमै टुुंग्याएर मात्र यी लक्षहरु हासिल गर्न सकिन्छ । पानी सम्बन्धी लक्ष्य (एसडिजी ६) लाई एकले रुपमा हेर्नु पनि हुनेछैन । किनकी यो अन्तरसम्बन्धित छ । अरु लक्ष्य पूरा गर्न पनि यो लक्ष्य पूरा जरुरी छ । जस्तो कि लक्ष्य नं १ (गरिबी निवारण), लक्ष्य नं २ (कृषि उत्पादन तथा पोषण), लक्ष्य नं ३ (स्वास्थ्य), लक्ष्य नं ५ (महिला विकास), लक्ष्य नं ७ (उर्जा), लक्ष्य नं ९ (वातावरणमैत्री पूर्वाधार), लक्ष नं ११ (सुरक्षित आवास तथा शहरी व्यवस्थापन), लक्ष्य नं १२ (दिगो उत्पादन तथा उपभोग), लक्ष्य ंनं १३ (जलवायु परिवर्तन), लक्ष्य नं १४ (समुद्री स्रोत), लक्ष्य नं १५ जैविक विविधता र इकोसिस्टम) पूरा गर्न लक्ष् नं ६ लाई केन्द्रविन्दूमा राख्नैपर्छ । 

लक्ष्यहरु समुदाय र राज्यका आकांक्षा हुन् । लक्ष्यहरु त्यत्तिकै पूरा हुदैनन् । त्यसका लागि साधन, लगातारको समर्पण र सामूहिक भावना चाहिन्छ । प्राकृतिक स्रोतको भण्डारका हिसावमा नेपाल धनी हो । पानीको कुरा गर्दा करिव ६ हजार खोलानाला, तीन ठूला नदी प्रणाली र बार्षिक २२४ अर्व घनमिटर सतह पानी बग्ने क्षमता हाम्रा लागि अवसर हुन् । ४४ प्रतिशत जति बन, २३ प्रतिशत संरक्षित क्षेत्र, सैयौ सीमसार र हिमशृंखला पानी प्रशोचन, भण्डारण, व्यवस्थापन र सन्तुलनका प्राकृतिक अवयव हुन् । तर यथार्थ बार्षिक रुपमा करिव ३ फिट पानीको भौगर्भिक सतह झरेको छ ।

केही जिल्लाहरु सुख्खा भए, नदी तथा जलाधार प्रणाली संरक्षण गर्न सकिएको छैन, शहर बजारको क्रङ्कीटीकरणले भौगर्भिक पानी भण्डारण क्षमता गुम्दो छ । जलवायु परिवतृनको मौनसंकटले समस्त जल प्रणालीमाथि चुनौती थपेको छ । हिमाल कालो हुदै गएमा समस्त हिन्दकुश क्षेत्रकै ताजा पानी सुक्ने छ । परम्परागत पोखरी संरक्षण नहुदा गाउहरु सुख्खा बन्दैछन् । प्राकृतिक स्रोतको अन्धाधुन्द दोहन र खैरो आर्थिक बृद्धिले जलाधारमाथि चुनोती थपेको छ ।

कार्यजिम्मेवारी संघीय सरकारमा मात्र होइन, प्रदेश र स्थानीय सरकारमा पुगेको छ । समुदाय सवैभन्दा शक्तिशाली पात्र हो पानी व्यवस्थापनमा । उसमा चेतना, जागर र सम्वेदनशीलता नभएमा पानीको सुशासन प्राप्त हुने छैन । समुदायलाई प्रकृतिमा आधारित पानी समाधान (नेचर बेस्ड सोलुशसन) को शिक्षा र सीप दिनु पर्छ । शहर बजारमा भने चीनको जस्तो बर्षातको पानी व्यवस्थापन र सिंगापुरको जस्तो नया पानी (घरायसी उपयोगको पानी शुद्धीकरण गरी उपयोग गर्ने प्रविधि) व्यवस्थापन आवश्यक छ । यी कुराहरुमा संवेदनशील हुनु नै पानी दिवसको सार्थकता हो । अन्यथा यो औपचारिक कार्यक्रम मात्र बन्न पुग्छ । 

चैत ८, २०७५ मा प्रकाशित

गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस