सामाजिक सञ्जालमा ‘असामाजिक’ प्रवृत्ति हाबी : असहिष्णु सोचको बिगबिगी

चैत ९, २०७५

केही दिनअघि सर्भरमा समस्या आएर कतै आंशिक त कतै पूर्ण रुपमा बन्द हुन गएका फेसबूक र इन्स्टाग्राम चलाउन नपाएर मान्छे प्याकप्याक्ति भएका धेरै कुण्ठाहरू ट्विटरमा पोखिए ।

सामाजिक सञ्जाल हाम्रो पुस्ताको बाँच्ने तरिका भइसकेको छ । ती सञ्जाल पानी भएका छन् र माछाजस्तै भएका छौं हामी । जो श्वास पनि फेर्न सक्दैनौं त्यसको अभावमा ।


ADVERTISEMENT

आफ्ना खुशी, दुःख, हाँसो, रोदन, कुण्ठा, तुष, रीस, प्रगतिलाई छताछुल्ल पोख्ने गतिलो स्थल भएको छ सामाजिक सञ्जाल । कुनै पनि विषयवस्तु वा घटनाको आंशिक सत्य पनि नबुझी आफ्ना धारणा पोखिहाल्ने र प्रायः नकारात्मक टिप्पणी र रीसको हठात् प्रदर्शनले यी सञ्जाल प्रयोगकर्ता वास्तवमै बेचैन अवस्थाबाट गुज्रिरहेको महसुस हुन्छ ।

मान्छेले आफ्ना दुःख र संघर्षका कुरा पस्कनभन्दा पनि सफलता, खुशी र अधिकांशतः झूटा परिवेश खडा गरिदिने प्रवृत्तिले एक गाँस भात खाँदा पनि तिनै सामाजिक सञ्जालमा झुण्डिनेहरू भित्रभित्रै हीनताभाष र कुण्ठाबाट ग्रसित हुँदै जाने क्रम बढेको छ । जताजतै मान्छेले राम्रा लुगा लगाएका, नयाँ–नयाँ ठाउँ घुमेका, घर र गाडीसित फोटो खिचेका, नाम चलेका र महंगा रेस्टुरेन्टमा गएर खाएका सामग्री दिलैदेखि मन पराएर १ लाइक ठोक्ने व्यक्ति कमै हुन्छन्, भित्रभित्रै भुटभुटिने र आफ्नो यथास्थितिले पिरोलिएकाहरूभन्दा । 

फेरि वास्तविकता पनि त्यहीँ छ कि हाम्रो जीवनस्तरमा कुनै ठूलो स्तरोन्नति भएको अवस्था छैन । अधिकांश मान्छे आफ्नो वर्तमान अवस्थाबाट माथि फड्को मार्न नसकेको पीडा भित्रभित्रै पालेर बस्नुपरेको छ । धनी झन् धनीहुँदै छन्, सामाजिक, आर्थिक असमानता बढ्दो छ । खोक्रो आडम्बर प्रदर्शनका कारण निम्न मध्यम वर्गीय समुदाय सांस्कृतिक रुपमा पनि पाखा लाग्नुपर्ने स्थितिको सिर्जना भएको छ । अनि किन मान्छे नचिढियोस् ? किन फ्याट्ट नरिसाओस् ?

भौतिक सुखसुविधाको उत्कट इच्छाले मान्छेलाई झन्–झन् निराश बनाउँदै लगेको प्रतित हुन्छ । मान्छे मर्ने बेलासम्म पनि तृप्त हुँदैन । हाम्रो समाज पनि उस्तै छ फेरि । जोसँग पैसा छ, जो सत्तामा छ, उसैको गुणगान गाउन र कान फुक्न छोड्दैन । पैसा धेरै कमाउनेले कसरी कमायो ? त्यो समाजको मतलबको विषय हुँदैन । मात्र मतलब हुन्छ त पैसा, रवाफ र भौतिक सुखसुविधाको ।

अब त मान्छे सामाजिक हुने भन्ने कुराको परिभाषा पनि बेग्लै भएको छ । सबैसँग मिल्ने, भिज्ने, बोल्ने र कुरा सुन्ने मान्छे सामाजिक हुने जमाना रहेन अहिले । जो फेसबुक चलाउँदैन, जो ट्विट गर्दैन र इन्स्टाग्राममा आफ्नो अस्तित्व देखाउँदैन, त्यो मान्छे समाजबाट नै हराउने डर भइसक्यो । यो समाजलाई बुझ्न नसक्ने भयो त्यो मान्छे । विगत १० देखि १५ वर्षको अन्तरालमा सूचना प्रविधिका क्षेत्रमा भएको तीव्र परिवर्तनले मानवीय प्रवृत्ति र सामाजिक चिन्तनमा नै ठूलो अन्तर ल्याइदिएका छन् ।

सामाजिक सञ्जाललाई कसरी राम्रा र फाइदाजनक सामग्रीका लागि प्रयोग गर्ने भन्नेबारे थोरै प्रयोगकर्तामात्र सचेत भएकोजस्तो लाग्छ । स्थानीय तह तथा प्रादेशिक र संघीय निर्वाचनका बेलादेखि आएका बग्रेल्ती अनलाइन मिडियामा आफूले जस्तो खालको, जुन नेताको र जुन दृष्टिकोणको समाचार सामग्री चाहेको हो त्यो पाउने स्थितिले सामाजिक सञ्जालमा शेयर गरिने सामग्रीमा व्यापक विकृति आएको महसुस हुन्छ । मान्छे सत्यभन्दा पनि आफ्नो सोच र समर्थनलाई पुष्टि गर्ने सामग्री खोतल्न थालेको छ जुन वास्तवमा नराम्रो, असत्य वा अर्धसत्य नै किन नहोस् ।

सत्य कुरा मान्छेलाई अप्रिय लाग्न थालेको छ । कुनै बेला चरित्र हत्या गरेरै हिँडेको व्यक्ति किन नहोस्, मान्छे त्यहीँ व्यक्ति सत्तामा पुगेको खण्डमा चाप्लुसी पस्कन उसँगै खिचेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाएर आफ्नो कद बढाउने भ्रममा आँखा चिम्लेर लाग्छन् । आफ्ना स्वार्थपूर्ति गर्न पनि सामाजिक सञ्जालमा जयजयकार गर्ने कुत्सित कर्म फलदायी भएका पनि देखिँदै आएका छन् । यस्ता खालका प्रवृत्तिले हामी स्वयं कस्तो सोच राख्दैछौ र कस्तो व्यवहार गर्दैछौ भन्ने कुराको हेक्का राख्न अति जरुरी देखिन्छ । तर यसका बाबजुद हामीले समृद्ध समाजको सपना देख्न छाडेका छैनौं । धन्य छौं हामी । 

खबरदारी गर्ने हिसाबमा कुनै पनि जनतासँग सरोकार राख्ने घटनाक्रममा सामग्री पोस्ट गर्ने कुरा सकारात्मक छ । किनकि सरकारका सबै तहका प्रायः निकाय सामाजिक सञ्जालमा खाता खोल्ने होडमै छन् र हाम्रा पुस्ताका कुरा उनीहरूसम्म पुग्ने वातावरण बनेको छ । तथापि, आफ्नो विद्वता प्रदर्शन गर्ने नाममा कुनै पनि घटनाको सतही विश्लेषण गर्ने, अल्प सूचनाका आधारमा उग्र र अतिरञ्जितव्या फैलाउने प्रचलन अहिले ज्यादै डरलाग्दो विषय बनेको छ ।

लाग्छ मान्छे कुनै पनि परिवर्तनलाई आत्मसात गर्न तयार छैन । जे कुरामा पनि उ खोट खोज्छ । भेटिहाल्यो भने जताततै फुकेर आफूलाई पछ्याउने जमात खडा गर्न चाहन्छ । जसले गाली गर्छ, अलिअलि अश्लिल गाली दिन्छ । तर समाधानबारे केही सोच पस्कन सक्दैन, तिनैका कुरा सामाजिक सञ्जालमा फैलिने नराम्रो प्रवृत्ति हाबी हुँदै गएको देखिन्छ ।

सामाजिक सञ्जालले धेरै सल्लाहकार उत्पादन गरेको छ । जो अरुलाई सिकाउन निपूर्ण छन्, गाली गर्न माहिर छन्, सजिलो समाधान पनि पस्कन्छन् । तर बहस र मन्थन गर्ने कुरामा असहिष्णु छन् । यद्यपि यसलाई वर्तमान पुस्तामा आएको एक किसिमको जागरणका रुपमा लिन सकिन्छ । तर कामना गरौं यसले कुनै अराजक र असहिष्णु प्रवृत्ति ननिम्त्याओस् ।

चैत ९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस