सरकारको धरपकड तीव्र, कालिकोट जनसरकार प्रमुख बारुदसहित समातिए

चैत ११, २०७५

कालिकोट-  प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका इञ्चार्ज धनराज शाही विष्फोटक पदार्थसहित कालिकोटमा सोमवार पक्राउ परेका छन् । उनी बुद्धिजीवी परिषद भेरी–कर्णाली एवम् कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुखमा सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिनाका अनुसार सोमवार बिहान जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाबाट पक्राउ गरिएको हो ।


ADVERTISEMENT

‘बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान बरामद गरेका छौं,’ जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक हरी बस्नेतले लोकान्तरसँग कुरा गर्दै भने, 'बारुद एक किलो, डेडकर्डलगायतका सामग्री बरामत गरेका छौं ।’ प्रहरीले कारवाही तीव्र पारेपछि जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेको प्रहरी बताएको छ ।

उनलाई हरेक साताको शनिवार प्रहरीमा हाजिर हुने गरी जमानीमा छोडिएको प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि कालिकोटबाटै विप्लव निकट जनपत्रकार संगठनका इञ्चार्ज कर्णबहादुर विश्वकर्मालाई प्रक्राउ गरिसकेको छ ।

चैत ११, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस