कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
काठमाडौं –सोमवार दिउँसो १ बजेतिर सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुग्दा एक वृद्ध लौरो टेकेर यताउता गरिरहेका थिए ।
लाग्यो, उनी केही खोज्दैछन् । नजिक गएर सोधेँ- बाजे कसलाई खोज्नुभएको ?
थकित र काँपेको स्वरमा उनले भने- 'मन्त्रीलाई भेट्न आएको । हाम्रै कञ्चनपुरको हो नि त मन्त्री ।'
मन्त्री (खानेपानी मन्त्री बीना मगर) सँग समय लिनुभएको छ त ?
'केही दिनअघि पनि आएको थिएँ । बुडाल थरका एक जनासँग कुरा भएको थियो । यतै कुन कोठा हो, ठम्याउनै सकिनँ ।'
बुडाल थर पहिलो पटक सुनेकाले बडाल भनेका होलान्, भन्ने लाग्यो ।
मन्त्रीको स्वकीय सचिवालयको ढोका खोलेँ, खाली थियो ।
कोठाभित्रको फर्निचर देखेरै चिनेछन्, 'यही कोठा हो बाबु ।'
त्यसपछि मन्त्रीको निजी सचिवालयमा छिरेँ । एक जना कर्मचारी भेटिए ।
मन्त्रीज्यूको सचिवालयमा बडाल थरका कोही हुनुहुन्छ ?
उनले जवाफ फर्काए, 'बडाल होइन बुडाल होला । इन्द्रसिंह बुडाल भन्न खोज्नुभएको हो कि, तर उहाँ आउनुभएको छैन ।
मन्त्री मगर गृहजिल्ला कञ्चनपुर गएकाले स्वकीय सचिवालयका कोही पनि मन्त्रालयमा नरहेको उनले बताए ।
ती कर्मचारीसँग नम्बर मागेर फोन लगाएँ ।
'म खानेपानी मन्त्रालयमा छु । एकजना बाजे तपाईंलाई खोज्दै आउनुभएको रहेछ, त्यसैले फोन गरेको ।'
ती बाजेबारे उनी जानकार रहेछन् ।
'उहाँ केही दिनअघि पनि आउनुभएको थियो । खानेपानीको के योजना भन्दै हुनुहुन्थ्यो । भोलि आउनुस् भनेको थिएँ, आज पो आउनुभएछ,' उनको जवाफ आयो ।
बुडाल मन्त्रालयमा नरहेको जानकारी पाएपछि मैले फोन नम्बर टिपेर बाजेको डायरीमा राखिदिएँ, ता कि अब आउँदा यसरी अल्मलिनु नपरोस् ।
सामाजिक दायित्व पूरा गरेपछि पत्रकार हुनुको नाताले थप जिज्ञासा राखेँ ।
करीब १० मिनेट मन्त्रालयको सिँढीमै उभिएर कुराकानी भयो ।
…
नाम वीरसिंह भण्डारी । उमेर ८३ वर्ष ।
घर बैतडीको दोगडाकेदार गाउँपालिका- ६, थागिल । काठमाडौंबाट ८ सय किलोमिटरभन्दा टाढा ।
एउटै भएको छोरा (कृष्णसिंह भण्डारी) द्वन्द्वकालमा बेपत्ता ।
छोराको प्रसंगमा भावुक हुँदै उनले भने- 'माओवादीहरूले अभियान भनेर लगेका, फर्किएन बाबु ।'
'दुई नाति छन् । एउटा गाउँमै छ, अर्को यही काठमाडौंमा बसेर कोरियन भाषा पढ्छ ।'
उनी काठमाडौं आएदेखि नै होटलमा बसेका रहेछन् ।
'सुन्धाराको होटलमा बसेको छु । नाति कोरियन भाषा पढ्न कीर्तिपुरमा बस्छ,' हातको सार लगाउँदै थपे– 'यत्रोऽऽऽ कोठा छ बाबु । ४/५ जना केटाहरू बस्छन् ।'
नाति साथीहरूसँग मिलेर बसेकाले उनी होटलमा बसेका रहेछन् ।
मन्त्रालयमा कसरी आइपुग्नुभयो त ?
'यही सिँढी चढेर बाबु ।'
उनले बुझेनन् भन्ने लागेपछि दोहोर्याएर सोधेँ- बाहिर ढोकामा पास मागेनन् ?
बल्ल खोजेको जवाफ आयो- 'कांग्रेस दलको कार्यालयबाट भन्दिएका थिए ।'
तपाईं कांग्रेस हो बाजे ?
'हो । क्रियाशील छु ।' उनको अनुहारमा चमक देखियो ।
अनि यहाँ के काम थियो नि मन्त्रीसँग ?
'एउटा पुरानो ट्याङ्की छ, त्यसलाई मर्मत गर्नुपर्यो भनेर । पानी नै चढ्न छाड्यो ।'
अहिले त गाउँगाउँमा सरकार छ, यहाँसम्म धाउनै पर्दैन नि !
'पहिले केन्द्रबाटै पारेको योजना हो, त्यसैले यहाँ आएको ।'
अर्कै पार्टीको सरकार भएकाले उनले केही अप्ठ्यारो महसूस गरेका रहेछन् ।
गुनासो पोखिहाले- 'बाहिर नेपाल सरकार लेख्छन्, भित्र पार्टीको सरकार हुन्छ । हुन त यो कुरा कांग्रेसले नै सिकाएको हो । यिनीहरूले बहुदल नै बुझेनन् । व्यवस्था राम्रो छ, व्यवहार कसैको पनि गतिलो भएन ।'
पञ्चायतदेखि नै पेलान !
खास उनी काठमाडौं आउनुको कारण, खानेपानी मन्त्रालयभन्दा गृहमन्त्रालय रहेछ ।
करीब ३ सय घरधूरी रहेको गाउँ पहिरोको उच्च जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने भनेर तत्कालीन राजा वीरेन्द्रले नै आदेश दिएका रहेछन् ।
'राजाको हुकुमप्रमाङ्गी थियो, तर त्यतिबेलाका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको आदेशमा जिल्लाकाले त्यसलाई गायब पारिदिए,' उनले गुनासो पोखे ।
आफूहरू कांग्रेस भएकाले त्यसो गरिएको उनको बुझाइ रहेछ ।
बहुदल आएपछि आफू साविकको सित्तड गाविसको उपाध्यक्ष पनि भएको उनले सुनाए ।
पहिरोका कारण विस्थापित हुनुपरेपछि गृहमन्त्रालय धाउन थालेका रहेछन्, उनी ।
'पहिरो जान थालेको त २०१८ सालबाटै हो, अझै पनि रोकिएको छैन, गएकोगयै गर्छ,' उनले सुनाए ।
पछिल्लो समय विस्तापित नै हुनुपरेपनि सरकारबाट क्षतिपूर्ति नपाएको उनको गुनासो थियो ।
उनी गृह मन्त्रालय धाउनुको प्रयोजन क्षतिपूर्ति र पुनर्वासको आशा रहेछ ।
'हाम्रै गाउँपालिकाको ४ नम्बर वडामा पहिरो नै छैन पहिरो भनेर बजेट पारेछन्, हाम्रोमा पहिरो छ दिँदैनन् ।'
उनले थपे- 'यो लुटेराहरूको देश हो, कागजमा हुन्छ, व्यवहारमा हुँदैन ।'
निराशा बनेर उनी लौरो टेक्दै सिँढीबाट ओरालो लागे, म पनि पछिपछि लागेँ ।
बाहिर निस्किएपछि मसँग बिदा भएर ती बाजे कांग्रेस संसदीय दलको कार्यालयतिर सोझिए, म भने संसद् सचिवालयतिर लागेँ ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...