चैत २०, २०७५

करीब २ वर्षअघि कुरा हो – सेती अञ्चल अस्पताल अगाडि नियमित स्वास्थ्य परीक्षणको क्रममा जाँदै गर्दा १ जना दिदीसँग भेट भयो । मेरो स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेपछि मैले पनि दिदीको के छ नि अवस्था भनेर सोधें । उनले ‘के हुनु बहिनी छोरी नै रहेछ’ भन्ने जवाफ फर्काउँदा म झसङ्ग भएँ ।

मैले त स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेकी थिएँ, उनले त गर्भको लिङ्ग पहिचान गरी छोरी भएमा गर्भपतन गराउने सोच पो बनाएकी रहिछन् । ‘के गर्नु बहिनी मेरो त भाग्य नै यस्तै रहेछ, पहिलो बच्चा पनि छोरी नै भई उसैले भाइ चाहियो भनेर हैरान गर्छे,’ उनले भनिन् । त्यो दिदीको कुरा सुन्दा मलाई अचम्म लाग्यो । सँगै मनभित्र कुनै गहिरो पीडाको आभास पनि  भयो । शिक्षाशास्त्रमा स्नातकोत्तर सकेर शिक्षण पेशा अपनाएकी ती महिला जुन छोराको लागि आज एउटा बेकसूर ज्यानको हत्या गर्दैछिन्, त्यही छोराको लागि उनी भोलि कुनै दिन कन्या खोज्दै हिँड्ने छिन् ।


ADVERTISEMENT

उनीसामु मेरा धेरै प्रश्न बर्सिए – गर्भपतन गराउनु गैरकानूनी काम हो नि दिदी ! फेरि तपाईं एउटा आमा भएर गर्भमा छोरी छ भन्ने थाहा पाउने बित्तिकै गर्भ सफा गराउन कसरी तयार हुन सक्नुहुन्छ ? तपाईंको आत्मा पोल्दैन ? कति पटकसम्म यसरी छोरीहरूको हत्या गर्दै आफ्नो स्वास्थ्य बर्बाद गर्नुहुन्छ ? के ग्यारेन्टी छ कि यसपछि छोरा नै हुन्छ ?

उनको  जवाफ सुनेर म स्तव्ध भएँ । उनले भनिन्, ‘के गरुँ त, समाज नै यस्तै छ । आफूलाई नि राम्रो त लाग्दैन । तर समाजका अगाडि एउटा छोरो नभइ कसरी बस्नु ? पहिला त मैले नि यस्तो नगर्ने भन्ने सोचेकी थिएँ । मेरो श्रीमान्ले त झन् यही एउटी छोरीले पुग्यो, अब बच्चा नजन्माउने समेत भन्नुहुन्थ्यो । तर बिस्तारै समाजका अगाडि जाँदा भविष्य सोचेर आफैंलाई लाज लाग्ने रहेछ ।’

फेरि प्रश्न जन्मिए – कहाँनिर छ तपाईंको समाज ? तपाईं–हामी मिलेर नै यो समाज बन्ने होइन र ? तपाईं पनि समाजलाई दोेष दिनुहुन्छ, अर्को पनि समाजलाई दोष दिन्छ, तपाईंको समाजमा जति परिवारहरू छन्, सबैले समाजलाई नै दोष दिइरहेका हुन्छन् भने कहाँनिर बाँकी रह्यो तपाईंको समाज ? 

परिवर्तनको शुरूवात आफैंबाट हुने हो । समाजका राम्रा पक्षलाई आत्मसात गर्ने हो । कुरीतिविरुद्ध सबैले परिवार र समाजसँग लड्नुको सट्टा काल्पनिक समाजको निर्माण गरेर दोष अरुमाथि थुपार्नु उपयुक्त होइन । तपाईंजस्तो शिक्षित व्यक्तिको मनोविज्ञान नै यस्तो छ भने यस समाजमा कति छोरीहरूको जन्मिन पाउने अधिकारमाथि खुकुरी प्रहार भइरहेको छ होला ? यस्ता प्रश्नले उनको छोरा पाउने चाहनालाई कति पनि डगमगाउन दिएन । 

अगाडि–पछाडि ५ वर्षे छोरीको हात समाएर गर्भमा हुर्किरहेकी अर्की छोरीको हत्या गर्न तम्सिएका उनी र उनका श्रीमान्को आँतुरता देखेर मनमनै रोइरहें । खै कुन तत्वले काम गरिरहेको छ यस समाजभित्र, जसले छोरा पाउनको लागि आमाहरू आफ्नो कोखको बालकको निर्मम हत्या गराएर मुस्कुराउँदै मेडिकलबाट बाहिर निस्कन्छन् ?

समाजमा यस्ता थुप्रै प्रसङ्ग छन्, जहाँ एउटी आमाले गर्भमा हुर्किरहेको ५ महिने बालकलाई समेत आफ्नो ज्यानकै बाजी राखेर गर्भबाट चुँडाली फालेकोदेखि लिएर आफ्नै श्रीमान्लाई दोस्रो विवाह गर्न लगाएकोसम्म ।

फुपुसँग कुराकानीका क्रममा उहाँले भन्नुभयो, ‘शुरूमै छोरा भएको भए आनन्द हुन्थ्यो । तिम्रो नि छोरी नै भएछ ।’ मैले भने, ‘के भयो त छोराछोरी जे भएपनि आमाबुवाको लागि सन्तान नै त हुन नि !’ त्यसपछि उहाँले ‘त्यसो भनेर काँ हु्न्छ र ? छोरा आँखिर छोरा नै हो । फलानोको छोरा नभएर यस्तो छ, अर्काको उस्तो छ’ भनेर कहानी सुनाउन थाल्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो नि भाग्यमा छोरा नै छैनजस्तो छ । छोराकै आशमा ४ वटा छोरी जन्मिसकें । दुइटा कान्छी छोरीहरू जाँच गर्न जाँदा १ जना दिदीले गाली गरेर गर्भपतन गराइनँ । त्यसपछि १२ पटकसम्म गर्भपतन गराइसके । तेरो फुपाजुलाई अर्को बिहे गर भन्छु मान्नैहुन्न ।’ ती फुपुको यहाँसम्मको कुरा सुनेपछि मनमा कता–कता गहिरो चोट पर्यो । एउटा महिला आफैं अर्को महिलाको जन्मलाई पुरुषसरह अस्तित्व दिन तयार छैनन्, एउटा पुरुषको जन्म हेर्नलाई आफैंमाथि ठूलो बज्रपातको माग पुरुषसँग गरिरहेकी छन् र विचरा पुरुष अस्वीकार गर्न बाध्य छन् ।

आँखिर समाजमा पुरुषभन्दा बढी महिलाको मानसिकता महिलाप्रति नै यति तुच्छ कसरी निर्माण भयो ? यस्तो हिन मानसिकता निर्माण हुनुको पछाडि के कारण छ, जुन यति बलियो बनिरहेको छ ?
कतै महिलामा यतिसम्मका दयनिय मानसिकता भेटिन्छन् भने कतै आफू महिला स्वयम् त्यस्ता मानसिकताविरुद्ध लड्न तयार हुँदा परिवारको तिरस्कार र धम्कीको सामना गर्नुपर्ने अवस्थामा हुन्छिन् ।

विषयवस्तुसँग मिल्ने एउटा प्रसङ्गमा चिजजानकी बहिनीसँग कुरा हुँदा बडो पीडा पोखेकी थिइन् । उनलाई श्रीमान्को साथ हुँदाहुँदै घरपरिवारबाट ‘छोरा नजन्माए मेरो छोराको जबर्जस्ती भएपनि अर्को विवाह गराइदिन्छु’ भन्नेसम्मका धम्की आउने गर्छन् । यस्ता समाचार र खबर हामीले प्रायः हाम्रो समाज वरिपरि सुनिरहन्छौं । 

जसले यस्ता अन्याय भोग्नुपरिरहेको छ, उसको भययुक्त जीवन साँच्चिकै अति नै पीडादायी छ । दुर्लभ मानव जीवनमा आफ्नो चेतनाको स्तर लैंगिक विभेदभन्दा माथि उठिसकेपनि परिवार र समाजको तुच्छ र संकीर्ण जिद्दी मानसिकताले गर्दा कैयौं नारी तनावपूर्ण जीवन झेलिरहेका छन् ।

संविधान संशोधन विधेयकमा महिलाको नागरिकता अधिकारबारे ठूला–ठूला बहस गर्ने कथित बुद्धिजीवीहरू आफ्नो समाज वरिपरि भइरहेका छोरीका हत्यामा आफू र आफ्ना नातागोता कति र कसरी संलग्न भइरहेका छन् ? त्यस्ता यथार्थ घटना पनि बाहिर ल्याउन र ती मानवरुपी दानवको दानवी व्यभिचारविरुद्ध लड्न समय खर्चेमा जन्मिन पाउने छोरीको अधिकारको रक्षा हुन्थ्यो कि ? जन्मेपछिका अधिकारबारे पछि बोलौंला, पहिला जन्मिन पाउने अधिकारबारे त चर्को आवाज उठाऔं ।

कथित ठूला भनिने लेखकज्यूहरू यस्ता प्रसङ्ग उठाएर खाली आफ्नो धर्म र संस्कृतिमा मात्रै आक्रमण गर्न खोज्छन् । त्यो आक्रमण पनि कसैले लादिदिएको भ्रमको आधारमा मात्रै हो । हाम्रो मूल धार्मिक ग्रन्थलाई आफूखुशी व्याख्या गर्दागर्दै कैयौं कुरीतिहरू भित्रिएका अवश्य हुन् । हाम्रो देशको मुुख्य धर्मको यति लामो इतिहासमा यस्ता केही विकृति भित्रिनु स्वभाविक पनि हो । तर हामी अब वास्तविकता र विकृतिमा फरक छुट्याउन सक्छौं । यस्तै विकृतिमध्ये छोरा अनिवार्य भन्ने मनोविज्ञानको विकास पनि हो । तर आधुनिक मेसिन र उपकरणले त्यस मनोविज्ञानलाई बल दिइरहेको पनि यथार्थ हो ।

हामीले भन्ने गरेको पुरातन समाजमा पनि छोराको लागि सन्तान धेरै जन्माइन्थ्यो । तर यसरी गर्भबाट छोरीलाई टुक्राटुक्रा पारेर फालिँदैन्थ्यो । हाम्रै नेपालमा रहेको जनकपुरमा त्रेता युगका राजा जनककी एक मात्र पुत्री थिइन् सीता । जनक त्यतिबेलाका शक्तिशाली राजा थिए । तर उनले पुत्रको लागि दोस्रो विवाह कहिल्यै गरेनन् । हाम्रा धेरैजसो धार्मिक ग्रन्थमा पनि निसन्तानले सन्तान प्राप्तिका लागि यज्ञहरू गरिएका उदाहरण छन् । तर पुत्र प्राप्तिका लागि यज्ञ गरेको कुनै प्रसङ्ग भेटेकी छैन । ३ महिने भ्रूण, २५ वर्षे जवान र ९० वर्षे वृद्धमा हुने चेतना एउटै हो ? शारीरिक बनावटमा भएको भिन्नताले चेतनाको अस्तित्व पहिचान हुँदैन । छोरीको रुपमा यस अमूल्य मानव चोला प्राप्त गर्ने अवसर पाइरहेका कैयौं आत्माको उद्धार गरौं ।

चैत २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार