मुहान धमिलिए नदी बिटुलिन्छ

चैत २५, २०७५

‘शंखघोष सुनेपछि मेरो दिनचर्या शुरु हुने गर्छ,’ प्राध्यापक दिवाकर प्रधानको यस उद्‌गारले रेडियो नेपालको बिहानी सेवाको आरम्भ गर्ने मङ्गल ध्वनिलाई इङ्गित गरेको हो । उद्‌बोधनको यो समय प्रात: ४/५५ बजेतिर हुने गर्छ ।

प्राध्यापकको बसाइ छ काशीमा, रेडियो प्रसारणको उद्‌गमस्थल हो काठमाडौं । स्पष्टै छ, सूचना प्रविधिको क्रमिक विकासले काशीलाई काठमाडौंबाट टाढा हुन दिँदैन । समयमा चाहिँ थोरै अन्तर छ- नेपालमा सबेर ४/५५ बज्दा भारतमा त्यस्तै ४/४० मात्र बजेको हुन्छ । प्राध्यापक प्रधानको यस दैनिकीलाई नियाल्न अभ्यस्त भएकी छोरीले नजिकै बसेर ‘सयौं थुङ्गा फूल...’ को लय पनि राम्रैसित टिपिसकेकी छिन् ।


ADVERTISEMENT

काशी हिन्दू विश्वविद्यालय (बी.एच्.यू.) को प्रोफेसर अर्थात् प्राध्यापक आफैंमा विशिष्ट परिचय हो । पण्डित मदन मोहन मालवीयको अथक प्रयासबाट इस्वी संवत् १९१६ मा स्थापित यो विश्वविद्यालयको रहरलाग्दो प्रसिद्धि छ । फराकिलो चौगिर्दामा रहेको विश्वविद्यालयको कला संकाय मातहतको ‘भारतीय भाषा विभाग’ (Department of Indian Languages)को विभागाध्यक्षको जिम्मेवारी प्राध्यापक प्रधानको काँधमा छ । उहाँका सहयोगी सहकर्मी हुनुहुन्छ प्राध्यापक शिवप्रसाद पौड्याल । नेपाली अध्ययनमा संलग्न छात्र-छात्राको समूहलाई उहाँहरूले निरन्तर दिशा-निर्देश गर्नुहुन्छ । उच्च शिक्षाको लागि भेला भएका विद्यार्थी हुन्, तसर्थ गुरुजनको आदर र अनुशासनमा चुक्दैनन्; चुकेको देखिन पनि चाहँदैनन् । गुरुका अतिथिलाई गुरुकै जस्तो सम्मान गर्न पाउँदा तिनलाई गौरवको अनुभूति भएको छर्लङ्ग देखिँदो रहेछ । भनौं, यस्तै अनुभव भयो मलाई र भाइ दिनेश (कवि दिनेश अधिकारी) लाई जो चैत्र १६ गते शनिवार तदनुसार ३० मार्च २०१९ का दिन विभागको सभाकक्षमा आमन्त्रित भएका थियौं । आकस्मिक रूपमै भन्नुप-यो, ‘अभिनन्दन-पत्र’ प्राप्त गर्ने पात्र समेत बन्न पुग्यौं । किनभने प्रोफेसर प्रधानसँगको छोटो भेटको मात्र चाँजो मिलाएर त्यहाँ पुगेका दुई नेपाली तीर्थयात्री तीन घण्टाभन्दा बढी समय चलेको आकर्षक कार्यक्रममा सामेल हुन पुगे !

कार्यक्रमको अध्यक्षको आसनमा बसे तापनि प्राध्यापक प्रधान यथार्थमा विद्यार्थीको अभिभावकको भूमिकामा देखिनु भयो । सञ्चालनमा खटिएका छात्रलाई त्यसबाट काम गर्न सजिलो भएको देखिन्थ्यो । प्रस्तोता छात्र-छात्राको जोश,जाँगर र उत्साह अब्बल दर्जाको हुन पुग्यो किनभने त्यस बखत वाचन गरिएका कविता, सुनाइएका गीत र देखाइएका नृत्य सबै नै स्मरणीय प्रसङ्ग बनेका छन् । ठम्याउन गाह्रो थिएन, तह-तहका परीक्षा र परीक्षणको तयारीमा रहेका विद्यार्थीहरूलाई गुरुजनबाट सन्तानले पाउने सरहको स्नेह मिलेको छ, अनि लगातार मार्गदर्शन पाइरहेका छन् । ती विद्यार्थीलाई भाग्यमानी मान्नुपर्छ ।

प्राध्यापक शिवप्रसाद पौड्यालले नेपाल पीठ (चेयर)को जिम्मेवारी सम्हाल्दै प्राध्यापक प्रधानलाई सघाउन लागेको थालेको पाँचवर्ष भएछ । जुध्दशम्शेरको शासनकालमा स्थापित नेपाल पीठको परम्परा त आजसम्म अटुट छ , परन्तु त्यससित गाँसिएका साविकका आकर्षण र सम्मान आज भेटिँदैन; पाइँदैन । शास्त्र हराए काशी जानू भन्ने लोकोक्ति अचेल निरर्थकजस्तै भएको छ । युगौंदेखि वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको काशीमा खुलेका, सञ्चालनमा रहेका नेपाली आश्रम, घाट र  शिक्षालयहरू हिजोआज कृयाशील छैनन् । कतिपय त लोप भइसके । नेपालको ‘हिन्दूराष्ट्र’ को चिनारी संविधानत: मेटिएपछि यहाँका सांस्कृतिक निधि र भौतिक वैभव जीर्ण, बेवारिसे भएका छन् । अतिक्रमण बढेको छ, रोकथामको लागि कतैबाट प्रयत्न भएको देखिँदैन । मन फाट्छ,चित्त काटिन्छ । आगामी वर्ष आफ्नो स्थायी कार्यस्थल नेपालको बुटवल बहुमुखी क्याम्पस फर्किनुअघि परिस्थितिमा थोरै सुधार हुने सङ्केत मात्र पाए पनि प्राध्यापक पौड्याललाई सान्त्वना हुने बुझिन्छ ।

तर नेपाल सरकार र  दिल्लीस्थित नेपाली दूतावास काशीबारे बेखबर छ । चासो, चिन्ता कत्ति पनि देखिँदैन । अहिलेका सत्ताधारी दलका प्राथमिकता त झन् अन्यत्रै होलान् ।

प्राध्यापक प्रधानका भावना पनि उस्तै छन् जुन पारिवारिक पृष्ठभूमिबाट अनुप्राणित भएका हुन् । सम्झिनु हुन्छ, युवाकालमा स्थायी थलो दार्जीलिङबाट नेपाल छिर्दा पशुपतिनगर प्रवेशविन्दु हुनेगर्थ्यो अर्थात् काठमाडौंमा अवस्थित पशुपतिनाथको संस्मरण प्रवेशद्वारबाटै हुन थाल्दथ्यो । अनि हजुरआमाले अह्राउनु हुन्थ्यो --- बाबु, पशुपतिनगर टेक्ने बेलामै नेपालको पवित्र माटोमा ढोगेर पाइला अघि बढाएस् है भनेर । सोच, समझ र रुचिमा भएको हेरफेरले यसबीचको परिस्थितिमा उल्लेख्य परिवर्तन गराएको छ । प्राध्यापक प्रधानले यी सबै घटना-विकास नियाल्नु भएको छ । र, मार्च ३० को उहाँको मन्तव्य हामी दाजुभाइप्रति सद्‌भाव, शुभकामना प्रकट गर्नमा सीमित रहेन । नेपालसँग गाँसिएका अन्य सन्दर्भहरू पनि कोट्याउनु भयो ।

यतिखेरको उहाँको चिन्ता नेपालमै नेपाली भाषा दुरुह भएकोमा केन्द्रित छ । नेपालबाहिर रहे-बसेका १० औं लाख नेपालीभाषीको सम्पर्क माध्यम बिटुलिँदा, विरूप हुँदा विद्वान् विदुषीहरू क्षुब्ध हुनु आश्चर्य पनि होइन । मुहान धमिलो भएपछि तलतिर बहने नदी प्रदूषित हुने नै भयो । तर नेपालका प्रज्ञा-प्रतिष्ठान जस्ता संस्थाहरू भने यसतर्फ जागरुक छैनन् ।

युवा समुदायमा देखिएको चर्को अंग्रेजीको मोहका साथ भित्रिएका विकृति हामीले झेलिरहेको अवस्था त छ नै । बाबजूद, महसूस जस्ता पदावलीको बढ्दो प्रयोगले नेपाली भाषालाई अर्कोतर्फबाट आक्रमण भइरहेको काशीको अनुभव रहेछ । त्यहाँ नेपालीलाई सहयोग गर्ने पहिलो भाषा संस्कृत हुनुपर्छ भन्ने मान्यता रहेछ जुन सर्वथा तर्कसम्मत हो । शब्द खोज्दा पहिले वरिपरिका भाषाबाट रोज्ने त्यसपछि आवश्यकता अनुसार संस्कृतकै आधार लिने हो ।

नेपालका सञ्चारमाध्यमहरूले भाषालाई सरलीकरणको साटो ‘अरबीकरण’ पो गरिरहेका छन् कि ? ‘सजिलै बुझिने कुरो,भाषा सरल भएको हुनाले नै मुना-मदन धेरैले पढिने कृति भएको हो नि’ प्राध्यापक प्रधान दृष्टान्त दिनुहुन्छ । मुख्य बुँदा हो, भाषालाई भाँडिन दिनु भएन । उहाँको यो सुझाउ नेपालको प्रेस जगत्‌मा म मार्फत पनि पुगोस् भन्ने त्यस घडी उहाँको अपेक्षा रह्यो । र, प्राध्यापक प्रधानले ३० मार्चको काशीको कार्यक्रममा उठाएको यसबारेको प्रश्न केही दिनपछि फेसबूकको बाटो उहाँले नै यी शब्दहरूमा प्रस्तुत गरेको पाइयो:---

                         अरबीकरणले नेपाली भाषा आक्रान्त छ ।

                          कनिकनी अरबी-उर्दू चलाउनमा लाग्नाले

                         नेपाली शब्द चलाउनै नजान्ने बन्दैछन् ।

                          नेपाली भाषालाई अरबीको खाडलमा

                          हाल्नुपर्ने कि संस्कृतको शिखरमा राख्नुपर्ने

                          कि नेपाली प्रकृतिमै हुर्कन दिनुपर्ने?विमर्श गरौं ।।

चैत २५, २०७५ मा प्रकाशित

ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस