दार्जीलिङमा लोकसभा निर्वाचन आज : गोर्खाल्यान्डको मुद्दा कता ?

बैशाख ५, २०७६

दार्जीलिङको लोकप्रिय ग्लेनरी क्याफेबाट २० मिनेट गाडीमा गएपछि दुई वर्षअघि भएको गोर्खाल्यान्ड आन्दोलनको केन्द्रभूमिमा पुगिन्छ । अहिले उक्त ठाउँ सुनसान छ । 

विमल गुरुङ दार्जीलिङ छोडेर गएलगत्तै पातलेबासमा रहेको उनको घर ध्वस्त पारिएको थियो र अहिले त्यो परित्यक्त छ । अविभाजित गोर्खा जनमुक्ति मोर्चा (गोजमो) का पूर्वअध्यक्ष गुरुङ कुनै बेला गोर्खाल्यान्डका अविवादित नेता थिए । 


ADVERTISEMENT

तर त्यो दुई वर्षअघिको कुरा हो । 

अहिले घरको प्रवेशद्वारको चेकपोस्ट भत्किएको छ, सल्लाका सुक्खा पातहरूको डंगुर लागेको छ अनि काँटछाँट नगरिएका झाडीहरूले समय परिवर्तन भएको संकेत दिएका छन् । घरअगाडि दुईवटा कारका डढेका भग्नावशेषले सन् २०१७ मा भएको आन्दोलनको स्मरण गराउँछन् । 

ध्वस्त पारिएका कोठामा झ्याल र काठका सरसामान भत्किएका छन् । गुरुङको घर जाने बाटोमा भएको पर्खालमा दार्जीलिङका लागि भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवारलाई समर्थन गर्ने एक पोस्टर टाँसिएको छ । 

आन्दोलनको दुई वर्ष बितिसक्दा पहाडको शक्तिकेन्द्र परिवर्तन भएको छ । गुरुङका पूर्व सहयोयी विनय तामाङ अहिले गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) का प्रमुख हुन् र उनी तृणमूल कांग्रेस प्रमुख तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका निकट मानिन्छन् । 

‘अहिले यहाँ कोही पनि आउँदैन । स्थानीय बासिन्दा पनि यहाँ आउँदैनन् । विमल गुरुङको दिन सकिए जस्तो लाग्छ । यही अवस्था पार्टी कार्यालय र सामुदायिक हलको पनि छ । त्यसलाई पछि प्रहरीले सील गरिदियो,’ स्थानीय बासिन्दा रोशन दोर्जीले बताए । 

अधिकांश स्थानीय बासिन्दा र गुरुङका छिमेकीहरू यसबारे केही बोल्न चाहँदैनन् । 

‘हामीहरू गुरुङ वा राजनीतिका बारेमा बोल्न चाहँदैनौं । तपाईंसँग यसबारेमा कोही पनि बोल्ने छैन,’ गुरुङको घरअगाडिबाट हिँडेका एक मानिसले भने । 

‘भोट हाल्ने दिन के गर्नुपर्छ, हामीलाई थाहा छ । उनी यहाँ छैनन् तर त्यसको अर्थ मानिसहरूले उनलाई छोडे भन्ने हैन । उनीहरू अहिलेको अवस्थामा उनीप्रति समर्थन देखाउँदैनन्, कुरा त्यत्ति हो,’ एक स्थानीय प्रेमा दोर्जीले भनिन् । 
विमल गुरुङको अनुपस्थितिले तृणमूल कांग्रेसलाई केही फाइदा दिएको देखिए पनि गोर्खाल्यान्ड राज्य माग्दै गरिएको आन्दोलनमा उनीसँग उभिने मानिसमा आक्रोश छ । त्यतिखेर भएका प्रहरीको गोली लागेर अनि छापा मार्ने क्रममा भएका मृत्युका सम्झनाहरू मेटिएका छैनन् । भाजपा उम्मेदवार तथा गुरुङका समर्थकहरू यो आक्रोशलाई भजाउने कोशिश गरिरहेका छन् । 

गुरुङका लागि भाजपाले दार्जीलिङमा जित्नु अनि केन्द्रमा सरकार बनाउनु लाभदायक छ । बंगाल प्रहरीको पकडबाट बच्न लुकेका गुरुङ पक्राउ पर्नबाट जोगिनका लागि अनि लामो कानूनी लडाईं लड्न भाजपाको समर्थन खोजिरहेका छन् । 

गुरुङको घरबाट दुई मिनेट पर उनको पार्टी कार्यालय तथा सामुदायिक केन्द्र छ । दुई वर्षअघि पार्टी कार्यालय र सामुदायिक केन्द्रमा गुरुङका समर्थक र सञ्चारकर्मीहरू टनाटन भरिन्थे । अहिले दुवै सील गरिएका छन् । 

त्यसभन्दा एक किलोमिटर पर मालिधुरामा कञ्जनजंघा सार्वजनिक विद्यालय छ । त्यसलाई गुरुङको सहयोग प्राप्त भएको बताइन्छ । विद्यालय र त्यससँग जोडिएको सामुदायिक केन्द्रमा गोजमोले बैठक गर्थ्यो र त्यसमा अहिले केन्द्रीय बलका जवानहरू तैनाथ भएका छन् । बिहीवार भइरहेको चुनावमा उनीहरू मतदान केन्द्रको सुरक्षामा खटिएका छन् । 

सिंगमारीमा रहेको गोजमोको तीनतल्ले पार्टी कार्यालय पातलेबासबाट एक किलोमिटर मास्तिर पर्छ । त्यसलाई राज्य सरकारले जफत गरेको छ र अहिले त्यहाँ प्रहरीहरू बस्छन् । 

यस क्षेत्रमा भएका आन्दोलन र प्रहरीले गरेको लाठीचार्जले गोर्खाल्यान्ड आन्दोलनका बेलामा हिंसा भड्काएको थियो र त्यो आन्दोलन पहाडका अन्य क्षेत्रमा फैलियो । 

पश्चिम बंगाल प्रहरीले गुरुङविरुद्ध थुप्रै मुद्दा लगाएकाले उनी अहिले फरार छन् । विधिविरुद्ध क्रियाकलाप (निवारण) अधिनियमका प्रावधानअन्तर्गत समेत उनीविरुद्ध मुद्दा दर्ता छ । सर्वोच्च अदालतमा मुद्दा दायर गरेर गुरुङले सिलिगुडी सर्किट बेन्चसमक्ष धरौटीको निवेदन दिएका छन् ।

प्रशान्त तामाङलाई इन्डियन आइडल जिताउन गरेको प्रयासले गुरुङको तीव्र उदयमा योगदान गरेको बताउने गरिएको छ । त्यसै वर्ष उनी आफ्ना गुरु सुभास घिसिङको दल गोर्खा नेसनल लिबरेसन फ्रन्टबाट अलग्गिए अनि गोजमो गठन गरे र गोर्खाल्यान्ड राज्य आन्दोलन आरम्भ गरे । 

सन् २०११ मा ममता बनर्जी मुख्यमन्त्री भएपछि उनले गोजमोलाई हातमा लिइन् । सन् २०११ को जुलाई १८ मा केन्द्र, राज्य सरकार र गोजमोले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरे अनि गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन गठन गरियो । सन् २०१२ मा गोजमोले जीटीएका सबै ४५ सीट जित्यो अनि गुरुङ त्यसका प्रमुख कार्यकारी बने । 

त्यसपछि सन् २०१७ मा गुरुङले गोर्खाल्यान्डमा फेरि आन्दोलन गरे र १०४ दिनसम्म बन्द गरियो । राज्य प्रहरीले गुरुङ र उनका सहयोगीविरुद्ध मुद्दा लगाएपछि उनी पहाड छोडेर भागे । तृणमूल कांग्रेसले त्यसपछि विनय तामाङलाई आफ्नो पक्षमा ल्यायो र उनले गोजमोको छुट्टै गुट बनाए । सन् २०१७ को सेप्टेम्बर महिना विनयले जीटीए प्रमुखको जिम्मेवारी लिए । 

गुरुङ र गोर्खा नेसनल लिबरेसन फ्रन्टले लोकसभा चुनावमा भाजपा उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएकोमा विनय तामाङको नेतृत्वमा रहेको गोजमो गुटले तृणमूल कांग्रेस उम्मेदवारलाई समर्थन गरिरहेका छन् । 

‘गुरुङ यहाँ छैनन् । विनय तामाङ र उनका समर्थकहरू प्रभावशाली छन् । उनीहरूले तृणमूल कांग्रेसका उम्मेदवारका लागि प्रचार गरे । तर गुरुङका समर्थक यहाँ छैनन् भनी सोच्नु गलत हुनेछ । उनीहरू छन् तर सार्वजनिक हुन चाहँदैनन् किनकि आफूहरूलाई चिनेर तारो बनाइने डर उनीहरूमा छ । उनीहरू भाजपाले पहाडमा गरेका सभामा देखिएका छन्,’ दार्जीलिङको चोक बजारमा उभिएका ६० वर्षीय रमेश तामाङले बताए ।

दी इन्डियन एक्सप्रेसमा प्रकाशित रविक भट्टाचार्यको रिपोर्ट
 

बैशाख ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस