को थिए भारतका नटवरलाल, किन भए बदनाम ?

बैशाख १०, २०७६

यस संसारमा धेरैथरीका बादशाह जन्मेका छन् । झूठहरूको बादशाह, लुटेरा–ठगहरूको बादशाह, ख्यातिप्राप्त चोरहरूको बादशाह । म तिनीहरूको नाम उच्चारण गरेर त्यस मामिलाको जानकार देखाउन चाहन्नँ । तर एउटा विषयमा भने लेखौं भन्ने लाग्यो र तीन दिनदेखि गूगल, युट्युब र केही किताबहरूमा निरन्तर अध्ययन गरेर यो सानो स्टोरी तयार गर्ने जमर्को गरेको छु । यो स्टोरी नेपालको कुनै एक घटनासँग जोडेर तयार गरिएको हैन । तर सन्देश दिन के खोजिएको हो भने संसारमा यस्ता खतरनाक ठगहरू पनि जन्मेका थिए जसको ठगी धन्दाको फेहरिस्तको सानो भाग सुन्यो भने पनि तीनपटकसम्म छक्क परिन्छ ।

नटवरलाल । यो नाम धेरैले सुन्नुभएको होला । तर यो नाम किन र कसरी रहन गयो, त्यो अन्तिमतिर प्रस्ट पार्नेछु तर भारतको झूट र ठगीधन्दाहरूको इतिहासमा नटवरलाल निकै चर्चित नाम हो । आज पनि भारतमा कसैले रहस्यमयी ढंगले ठगीको काम गर्‍यो भने उसलाई नटवरलालको नामले पुकार्ने गरिन्छ वा नटवरलालको पगरी गुथाउने गरिन्छ । 


ADVERTISEMENT

नटवरलालको वास्तविक नाम मिथिलेश कुमार श्रीवास्तव हो । तर उनले आफ्नो जीवनमा ५० भन्दा धेरैथरीका नाम परिवर्तन गरे । कहिले सुरेन्द्र प्रसाद, कहिले सीताराम आदी, कहिले अम्बिका पाण्डे, कहिले शंकरलालको नामले परिचित भए । उनलाई बहुभेषी बादशाह पनि भनिन्छ किनभने उनले सयौं भेषमा आफूलाई बदलेर आम मानिसहरूलाई मात्र हैन, गुप्तचर र प्रहरीहरूलाई समेत सजिलै झुक्याउन सक्थे । सन् १९१२ सालमा भारतको बिहार राज्यको पटनाबाट २०० किलोमिटरको दूरीमा रहेको सिवान जिल्लाको बन्दरा गाउँमा जन्मेका थिए नटवरलाल । बन्दरा गाउँ नजिकै अर्को गाउँ पनि छ, त्यसको नाम हो जिरादेव । त्यो जिरादेव गाउँमा भारतको पहिलो राष्ट्रपति डा. राजेन्द्र प्रसादको जन्म भएको थियो । नटवरलालका बुवा रेल्वे स्टेसन मास्टर थिए ।

नटवरलालको कर्म धेरै चर्चित बनेपछि उनको सम्झनामा अथवा उनले गरेको कर्मको आधारमा दुईवटा चलचित्र नै निर्माण भए । एक चलचित्र हो मिस्टर नटवरलाल जुन चलचित्रमा भारतीय सिनेमाका महानायक अमिताभ बच्चनले अभिनय गरेका छन् । त्यस्तै इमरान हाशमीले पनि राजा नटवरलाल नामको चलचित्र निर्माण गरेका थिए । यी दुवै चलचित्रमा नटवरलालले कसरी व्यापारीहरूलाई लुट्थे, लुटको योजना बनाउँथे र त्यो धन केका लागि उपयोग गर्थे भनेर देखाइएको छ । यतिमात्र हैन, भारतका मुख्य टेलिभिजन च्यानलहरूले उनको बायोग्राफी समेत निर्माण गरेका छन् ।

उनी ठगी धन्दामा चार्ल्स शोभराजभन्दा पनि अब्बल थिए तर चाखलाग्दो विषय चाहिँ उनले आफ्नो धन्दामा हतियारको प्रयोग कहिल्यै पनि गरेनन् ।

नटवरलाल आफ्नो पढाइ भन्दा अन्य कुरामा नै धेरै ध्यान दिन्थे । तर उनी पढाइमा कमजोर भने थिएनन् । खेलकुदमा उनलाई फूटबल औधी मन पर्थ्यो । उनले आफ्नै गाउँमा पढे । तर ९ कक्षा पढ्न भने उनी पटना आए । पटनामा ९ कक्षामा भर्ना हुन आउँदा उनी जम्मा १५ वर्षका थिए । त्यसपछि शुरू भयो उनको ठगी धन्दा । उनले आफ्नो ठगीको साम्राज्यले सिंगो भारतलाई नै चक्मा दिए । शुरूमा उनको यो धन्दा कसरी चल्न थाल्यो त ? यसबारे के बुझिन्छ भने उनले शुरूमा आफ्नै साथीलाई फसाएका थिए । अथवा यसो भनौं नटवरलालले आफ्नै साथीलाई धोका दिएका थिए । साथीले उनलाई बैंकमा पैसा जम्मा गर्न पठाएका थिए । उनले पैसा जम्मा गर्न सहयोग त गरे तर उनको साथीको हस्ताक्षर दुरुस्तै चोरे । हस्ताक्षर जस्ताको त्यस्तै सार्न उनी सिपालु भए । फलस्वरूप, उनको साथीको खाताको पैसा बिस्तारै सकिँदै गयो । नटवरलालले गडबडी गरेको उनको साथीले चाल पाइहाले ।

त्यसपछि नटवरलाल भागेर कलकत्ता पुगे । कलकत्तामा उनका एकजना आफन्तको परिवार बस्थ्यो । तिनै परिवारको सहयोगमा उनी बलराम देव उच्च विद्यालयमा भर्ना भए । कलकत्ता विश्वविद्यालयबाट उनले बीकम पास गरे र एलएलबीमा डिग्री पनि गरे । उनले कलकत्तामा कपडाको व्यापार गर्ने कोशिश नगरेका हैनन् तर सफल हुन सकेनन् । त्यसपश्चात् नटवरलाल कलकत्ताकै एक स्कूलमा हेडमास्टर भएर पढाउन थाले । तर हेडमास्टर भए पनि उनले विद्यार्थी पढाउने भन्दा पनि कुन विद्यार्थीका अभिभावक धनी छन् त्यो पत्ता लगाउनतर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरे । अनि स्कूललाई राम्रो बनाउने बहानामा दुईजना विद्यार्थीको बुवाआमाबाट करीब साढे चार लाख भारु हात पारे । त्यसपछि उनी त्यो स्कूलबाट फरार भए ।

नटवरलालका बुवाआमा उनलाई वकिल बनाउन चाहन्थे तर अन्ततः उनी भारतको सबैभन्दा कुख्यात ठग बन्न पुगे । ठगहरूको बादशाह बने उनी । उनले भगवानसँग आफ्नो निरन्तर संवाद हुने दाबी पनि गर्थे र आफूले जे जस्तो काम गरिरहेको छु, त्यो भगवानको निर्देशन अनुसार गरिरहेको छु भन्थे । धनीको पैसा लुटेर गरीबलाई बाँड्नु कुनै पाप नभएर एकप्रकारको समाजसेवा हो भन्थे उनी । र उनको अर्को तर्क के थियो भने उनले कसैलाई डर देखाएर वा धम्क्याएर पैसा मागिरहेका हैनन् । मानिसहरू उनीसँग डराएर वा तर्सिएर भन्दा पनि आफ्नै राजीखुशीले पैसा बुझाउन आउँछन् । भारतको हरेक प्रान्तमा कुनै न कुनै ठगी गरेर फरार हुने नटवरलालको अंग्रेजी भाषामा राम्रो दक्खल पनि थियो ।

नटवरलालले नाटकीय ढंगले ठगी गर्थे, नाटकीय ढंगले पक्राउ पर्थे र नाटकीय ढंगले नै फरार हुन्थे । शुरूमै भनियो, यो सबका लागि उनले कहिल्यै हतियारको प्रयोग भने गरेनन् । उनको पहिलो प्राथमिकता रेल्वे स्टेसन हुन्थ्यो, दोस्रो सुनचाँदी व्यापारी र तेस्रो घडी व्यापारी हुन्थे । नटवरलालले ठगीलाई समाजसेवा र देशसेवासँग जोडेर हेर्थे । उनले भनेका थिए, ‘भारत सरकारले अनुमति दिए विदेशी पैसा चोरेर भारतमा ल्याउन सक्छु, भारतको ऋण घटाउन सक्छु ।’ यसैकारण होला, उनी भेष बदल्नका लागि पनि माहिर थिए भनिन्छ । उनले सयौं किसिमका भेष बदलेर जासूसहरूको आँखालाई चक्मा दिएका थिए ।

सन् १९५० र १९६० को दशकमा भारतका सुनचाँदी व्यापारी र घडी व्यापारी सबै नटवरलालको निशानामा परे । तर उनले कहिल्यै आफ्नो प्रमाण भने छाडेनन् । उनको योजना बडो चतुरो हुने गर्थ्यो । त्यसका लागि उनले आफ्नो जीवनशैली पनि बदलिरहन्थे । उनी कहिले भिखारीको भेषमा हुन्थे त कहिले एकदमै धनी र सम्पन्न मानिसहरूको हुलियामा हु्न्थे । उनले ताजमहल कम्तीमा पनि तीनपटक बेचिदिए । लालकिल्ला पनि बेचिदिए । भारतको संसद् भवन मात्र हैन, राष्ट्रपति भवन समेत बेचिदिए । उनले राष्ट्रपति भवनको लेटरप्याडमा राष्ट्रपतिको दुरुस्तै हस्ताक्षर गरेर केही अंग्रेजहरूसँग भवन बेच्ने डील गरेका थिए । संसद् भवन बेच्दा चाहिँ संसद्को कारवाही चलिरहेको थियो । 

उनी ताजमहलको आसपास सरकारी लुगा लगाएर हिँडिरहन्थे । लामो समयसम्म नटवरलाल ताजमहलको आसपासमा सरकारले खटाएको कर्मचारी जसरी हिँडिरहे । ताजमहल घुम्न आउने विदेशी पर्यटकलाई उनले भारत सरकारले ताजमहल बेच्न लागेको कुरा सुनाउँथे । उनले  मानिसलाई कन्भिन्स गर्ने तरिका बडो सीपयुक्त थियो । अन्ततः तीनजना विदेशीहरू ताजमहल किन्न तयार भए । ती विदेशीहरूबाट केही प्रतिशत रकम बुझेर उनी कागजात मिलाउन भन्दै राष्ट्रपति भवनभित्र छिरे । र कहिल्यै बाहिर निस्केनन् । उनीकहाँ गए कसैलाई थाहा पनि भएन । सिंगो भारतलाई थाहा नभएको कुरा ती विदेशी पर्यटकलाई थाहा हुने कुरै भएन ।

उनले संसद् भवन  र राष्ट्रपति भवन समेत बेचिदिए । यसका लागि उनले राष्ट्रपति राजेन्द्र प्रसादको हस्ताक्षर चोरेका थिए । संसद् भवनभित्र रहेका ५४५ जना सांसदहरू पनि बेचिन चाहेको भन्दै उनले सँगै बेचिदिएका थिए । 
मे १९८६ तिरको कुरा हो । दिल्लीमा रहेको एक सुनचाँदी पसल निकै चर्चित थियो, राजा ज्वेलर्स । अर्थमन्त्री विश्वनाथ प्रताप सिहंको निजी सचिव भएको र मन्त्रीज्यूको छोराको बिहे हुँदै गरेका कारण सुन खरिद गर्ने जिम्मा आफ्नो भएको भन्दै नटवरलाल राजा ज्वेलर्स पुगे । उनको हुलिया गजबको हुने गरेकाले शंका गर्ने आधार समेत थिएन । उनले ठूलो परिमाणमा बहुमूल्य सुनचाँदी प्याक गर्न लगाए र पसलेसँग अनुरोध गरे ‘पैसा लिनका लागि आफूसँगै दुईजना कर्मचारी नर्थ ब्लकमा जानुपर्‍यो’ । नटवरलाल नर्थ ब्लक गए । मन्त्रीको निवासमा छिरेजस्तो गरे । त्यो बहुमूल्य पोका कतै लुकाए र बदलामा फर्जी चेक लिएर आए र ती पसलेका कामदारलाई सुम्पिए । त्यसपछि नटरवलाल फरार भए । 

पछि उनको नजर घडी व्यापारीतर्फ सोझियो । केन्द्रीय वित्तमन्त्री एनडी तिवारीको पर्सनल एसिस्टेन्टको रूपमा घडी डिलरकहाँ पुगे । उनले साहुसँग भने, ‘कांग्रेसको बैठक बस्दैछ, सहभागीलाई घडी उपहार दिने तयारी छ । घडी चाहियो । अनि उनी अर्को दिन लामो आकारको चिल्लो कारमा आए, ९३ घडी प्याक गरिदिन अनुरोध गरे । र पहिले जस्तै यसपालि पनि उनी नर्थ ब्लकमा छिरे । घडी व्यापारीका मानिसलाई बाहिर कुराएर उनी पैसा लिन भित्र छिरे । अनि ३२ हजार ८ सय १९ रुपैयाँको नक्कली चेक दिएर उनी फरार भए ।

त्यसपछि उनी कानपुर र गोरखपुर क्षेत्रमा आए । त्यहाँ उनी अम्बिका पाण्डे नामले परिचित भए । सन्  १९४० मा मात्रै उनको नाम नटवरलाल भएको हो । यो नटवरलाल नाम उनको नभई खासमा उनको साथीको नाम थियो । सन् १९३४ मा उनले पंजाब नेसनल बैंकको म्यानेजरसँग दोस्ती गरेका थिए । कपडाको व्यापार गर्ने भन्दै उनले साढे ६ लाख भारु ठगिसकेका थिए । उनी आफ्नो साथीलाई कपडा पठाउन भनेर आजमगढको रेल्वे स्टेसन गए । वास्तवमा ती साथीको नाम थियो नटवरलाल । प्रहरीले ठगीको आरोपमा वास्तविक ठगको साथीलाई पक्राउ गर्‍यो र कुख्यात ठग समात्यौं भनी घोषणा गर्‍यो । तर प्रहलीले यो दाबी गर्दै गर्दा उता अम्बिका पाण्डेको नामले चिनिएका फर्जी नटवरलालले धिरुभाई अम्बानीलाई ठगिसकेका थिए ।

उनी दशकौंसम्म भारतको मोस्ट वान्टेड सूचीमा रहे । दशवटा प्रान्तले त उनलाई पक्राउ गर्ने वा जानकारी दिनेलाई पुरस्कार दिने घोषणा पनि गर्‍यो । तर नटवरलाल यति चतुर थिए कि एकपटक उनले आफ्नो घरको ठेगाना भनेर उत्तर प्रदेशका मुख्यमन्त्रीको घरमा छापा मार्न समेत पठाए । उनले प्रहरीहरूलाई साधारण गाउँलेमार्फत नटवरलालको घर यही हो भनेर मुख्यमन्त्रीको एक घरलाई चिनाउन सिकाएका थिए । नटवरलाललाई ११७ वर्षको जेल सजाय सुनाइएको थियो तर नटवरलाल २० वर्ष मात्रै जेलमा बसे । सन् १९३९ मा बान्द्रा पुलिसको घेरा तोडेर उनी भागे, सन् १९४२ मा पटना प्रहरीको र सन् १९४४ मा गोरखपुर जेलबाट फरार भए । उनी पटकपटक फरार भए जेलबाट । बेलायती शासनका बेलामा पनि उनी फरार भए । सन् १९४७ मा बनारसबाट पक्राउ परेका नटवरलाल दिल्लीको तिहाड जेलबाट फरार भए ।

सन् १९५६ मा नटवरलाल फेरि लखनउमा पक्राउ परे । र उनलाई मेरठको जेलमा लगियो । तर त्यो जेलमा उनले प्रहरीको कपडा लगाएर १२ जना प्रहरीहरूलाई आफ्नो हातमा लिएर ५ लाख रुपैयाँ दिने प्रलोभन देखाई भाग्न सफल भए । उनी भागेपछि प्रहरीहरूलाई पैसा त दिए । तर पैसाको बाकस खोली हेर्दै कागज मात्र थियो । फेरि उनी सन् १९७५ मा आन्ध्र प्रदेशको काकीनाडामा पक्राउ परे । त्यतिखेर उनको उमेर ८५ वर्ष थियो । 

सन् १९८६ मा नटवरलाल कानपुर जेलमा थिए । उनले आफ्नो खुट्टा दुखेको र उपचार गरिदिन अनुरोध गरे । बुढेसकालका बूढाको अनुरोधमा प्रहरी अधिकृतहरूको मन पग्लियो । र उनलाई दिल्लीको एम्स अस्पताल लगियो । उपचारपश्चात् कानपुर फर्किनका लागि नटवरलाललाई ह्वीलचेयरमा राखेर प्रहरीहरू नयाँ दिल्ली रेल्वे स्टेसनमा आए । संयोग कस्तो भने टिकट काटिएको पहिलो रेल छुट्यो । अर्को रेलको टिकट काट्न केही प्रहरी गए । केही रेल कुर्नतिर लागे । नटवरलाल नजिक एकजना प्रहरी बाँकी थिए । नटवरलालले भने, ‘बाबु, मलाई निकै जाडो भयो । एक कप चिया दियौ भने तिमीलाई भगवानले हेर्नेछन् । ह्वीलचेयरमा बस्ने वृद्धबाट आएको यस्तो अनुरोध सुनेर ती प्रहरी चिया खोज्न गए । प्रहरीहरू रेलको टिकट अनि चिया लिएर फर्कंदा नटवरलाल त्यहाँ थिएनन् । अचम्मको कुरा ह्वीलचेयर भने त्यहीँ थियो । 

नटवरलाल अहिले यो दुनियाँमा छैनन् । तर उनले इतिहास भने कायम गरेर गएका छन्, भलै त्यो ठगहरूको इतिहास हो । नटवरलालको निधन कसरी भयो भन्ने स्पष्ट छैन तर सन् २००९ मा उनका वकिलले नटवरलालमाथिको सबै आरोपहरू खारेज गर्नुपर्ने बताएका थिए । नटवरलालका भाइ गंगाप्रसादले सन् १९९६ मा नै राँचीस्थित बहिनीको घरमा लडेर चोट लाग्दा नटवरलालको निधन भएको बताएका थिए । नटवरलालकी पत्नी ललिता बिहारमै भएको र उनकी एक छोरी विदेशमा बस्ने गरेका हल्लाहरू पनि चल्ने गरेका छन् ।

बैशाख १०, २०७६ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस