कम्युनिस्ट आन्दोलनका ७० वर्ष : जोडिएको कडी

बैशाख ९, २०७६

नेपाल कम्युनिस्ट पार्टीले आज ७० वर्ष पार गरेको छ । देशभित्र जनताका सबै प्रकारका नागरिक अधिकारहरु राणाहरुले आफ्नो मुठ्ठीभित्र राखेको बेला कमरेड पुष्पलालको नेतृत्वमा सन् १९४९ अप्रिल २२ अर्थात् २००६ बैशाख १० गते भारतको कलकत्तास्थित नवीन सरकार लेन २८ मा स्थापना भएको यस पार्टीले आजसम्म आइपुग्दा अनेक आरोह– अवरोह पार गरेको छ ।

पञ्चायतले त कम्युनिस्ट पार्टीलाई सुरुदेखि नै गनेकै थिएन, प्रजातन्त्रका लागि संघर्षरत नेपाली कांग्रेसले पनि कुनै बेला भाउ नदिएको नेकपा आज मुलुकको सबभन्दा बलियो शक्तिका रुपमा स्थापित भएको छ । नेपालबाट राजतन्त्र समाप्त गरेर गणतन्त्र स्थापना गर्न र आमूल परिवर्तनका एजेन्डामा मुलुकलाई हिँडाउन कम्युनिस्टहरु यति बलियो नभएको भए सम्भव थिएन । नेपालको लोकतान्त्रिक आन्दोलनको पर्याय जस्तै भएको कम्युनिस्ट पार्टीमाथि जतिसुकै चर्को स्वरमा अधिनायकवादको बिल्ला भिराउन खोजे पनि त्यो विक्री हुन नसक्नुका पछाडि यसले लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिका नै हो । त्यसैले लोकतन्त्रलाई उन्नत बनाउने, जनतालाई समृद्ध बनाउने र मुलुकको छवि माथि उठाउनेबाहेक यसका अरु कुनै लुकेका एजेन्डा छैनन् भन्नेमा दुनियाँ स्पष्ट हुन जरुरी छ । 


ADVERTISEMENT

शासनसत्ताबाट बाहिर बसेर प्रतिपक्षी राजनीति गर्दा चर्का कुरा गर्नु फाइदाजनक हुन्छ तर सत्तामा पुगेपछि आफ्नै बोलीलाई कसरी कार्यान्वयन गरिन्छ ? जनताले हामीतिर आशापूर्ण नजरले हेरेका छन् । ०७४ मा सम्पन्न आम निर्वाचनमार्फत प्राप्त जनादेशलाई ०७९ सम्म पुग्दा कसरी बढोत्तरी गर्न सक्छौँ र कसरी जनताको विश्वासलाई कायम राख्न सक्छौँ ? नेपालका कम्युनिस्टहरुमाथिको अहिलेको सबभन्दा ठूलो चुनौती यही नै हो । 

पार्टीका लागि पार्टी आवश्यक छैनन् । एउटा पार्टी नभए अर्को पार्टी आउँछ । ठूलो पार्टी नभएर नेकपा एकता भएको होइन, न त सिंहदरबारको कुर्सीमा बस्ने कोही मानिस नभएर एकता भएको हो । जनताले नेकपालाई अवसर दिएको आमूल परिवर्तनका एजेन्डाहरु कार्यान्वयन गर्नका लागि हो । यसमा हामी कति खरो उत्रिन्छौँ, नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य त्यसैमा निर्भर छ ।

कम्युनिस्टहरु सजिलै खुर्र दौडेर आजको अवस्थामा आइपुगेका होइनन् । यसका लागि अनकौँ सन्दर्भमा अनेकौँ व्यक्तिहरुको त्याग, समर्पण र संघर्षले काम गरेको छ । कम्युनिस्ट आन्दोलनलाई बाहिरबाट मात्र होइन, आन्दोलनभित्रैबाट चुनौती आउँदा पनि बचाउने यसका अगुवा नेता र कार्यकर्ता जगका ढुंगा हुन् । महासचिव केशरजंग रायमाझीलगायतको नेतृत्व राजापरस्त हुँदा पनि  यसलाई बचाउने युवा कार्यकर्ताहरु नै आज कम्युनिस्ट आन्दोलनको शीर्ष नेतृत्वमा छन् । अग्रजहरुप्रति सम्मान र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको नीति नअँगाल्ने हो भने पार्टी क्रमशः बूढो हुँदै जान्छ भन्ने कुरा नेतृत्वले यस अवसरमा ख्याल गर्नैपर्छ ।  

२०१० माघ १३–१७, ग्वाबहाल पाटनमा पहिलो महाधिवेशन गरेर मनमोहन अधिकारीलाई महासचिव निर्वाचित गरेको नेकपा २०१४ जेठ १५–२५ मा फोहरा दरबार, काठमाडौँमा दोस्रो महाधिवेशन गरेर केशरजङ्ग रायमाझी र २०१९ बैशाख ४–१५, बनारस, भारतमा तेस्रो महासचिव गरेर तुल्सीलाल अमात्यलाई महासचिव निर्वाचित गर्दासम्म एउटै थियो । संस्थापक महासचिव पुष्पलालमाथिको पूर्वाग्रहपूर्ण व्यवहार, नीति एउटाको नेतृत्व अर्काको जस्ता असंगत कुराहरुको पृष्ठभूमिमा त्यसपछि नेकपामा आएको विभाजन आजसम्म पनि जारी छ । तर, नेपालको कम्युनिस्ट आन्दोलनको प्रवृत्ति हेर्दा विभाजनभन्दा एकताको प्रवृत्ति हावी हुँदै आएको छ । विचार मिल्ने समूहहरु एकीकृत हुँदै जाँदा तिनीहरु बलिया बन्दै गएका छन् भने विभाजन भएर नयाँ पार्टी बनेकाहरु बिलाएर गएका छन् । अहिले नेकपा बन्नुभन्दा पहिलाका एमाले र माओवादी स्वयम्मा त्यसका उदाहरण हुन् । ती दुबै पार्टी विभिन्न ससाना समूहहरुका एकीकृत शक्ति थिए । 

एकातिर ०२५ सालमा पुष्पलालको नेतृत्वमा आयोजित तेस्रो सम्मेलनमार्फत नयाँ पार्टी गठन, २०३१ भदौ १–असोज ७ मा केन्द्रीय न्युक्लियसको आयोजनामा मोहनविक्रम सिंहको नेतृत्वमा चौथो महाधिवेशन आयोजना जस्ता गतिविधिहरु भए भने अर्कातिर नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला कमिटीका तर्फबाट झापामा सशस्त्र सङ्घर्ष सुरु भयो । पुनर्गठनको यही अभियानका क्रममा २०३२ सालमा नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी–लेनिनवादी) र त्यसकै निरन्तरताका रुपमा २०३५ पुस ११ मा नेकपा (माले) को स्थापनाले नयाँ धार सिर्जना गर्‍यो । उक्त पार्टीले २०४६ भदौ ९–१४ मा चौथो महाधिवेशनमार्फत बहुदलीयतासहितको जनवादी कार्यक्रम, संयुक्त मोर्चा र संयुक्त जनआन्दोलनको कार्यनीति पारित गर्दै बहुदलीय व्यवस्था स्थापनामा आन्दोलन केन्द्रित गर्ने निर्णय गरेको थियो ।

नेकपा (मशाल) ले ०४१ मंंसीर र नेकपा (माक्र्सवादी) र नेकपा (माले) मिलेर २०४७ सालमा बनेको नेकपा (एमाले) ले २०४९ माघ १४–२० मा पाँचौँ महाधिवेशन आयोजना गरे । नेकपा (एमाले) को त्यही महाधिवशेनले जननेता मदन भण्डारीद्वारा प्रस्तुत जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यक्रमका रुपमा स्वीकार गर्दै शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने कार्यनीति अङ्गीकार गरेको थियो ।

एकता केन्द्रद्वारा २०४८ मंसीरमा आयोजित छैटौं/एकता महाधिवेशनले माओवादलाई मार्गदर्शक सिद्धान्त मान्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ जनवादी कार्यक्रम र दीर्घकालीन जनयुद्धको कार्यनीति पारित गर्‍यो भने नेकपा (एमाले) को २०५४ माघ १२–१८, नेपालगञ्जमा आयोजित छैटौँ महाधिवेशनले माधवकुमार नेपालको नेतृत्वमा जबबलाई निरन्तरता दियो । साथै, २०५९ माघ १८–२३, जनकपुरमा सम्पन्न सातौं महाधिवेशनले पनि माधवकुमार नेपालकै नेतृत्वलाई निरन्तरता दियो ।

२०५२ फागुन १ गतेदेखि १० वर्ष लामो सशस्त्र जनयुद्ध सञ्चालन गरेको नेकपा (माओवादी) ले २०६२/०६३ को जनआन्दोलनको सफलतापछि नेकपा (एकता केन्द्र) सँग एकता गरेर २०६९ माघ २०–२६ मा एनेकपा (माओवादी) का नाममा सातौँ एकता महाधिवशेन आयोजना गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वलाई निरन्तरता दियो । नेकपा (एमाले) ले २०६५ फागुन ५–१४ मा बुटवलमा आठौं महाधिवेशन आयोजना गरेर झलनाथ खनाल र २०७१ असार १९–साउन १ मा काठमाडौँमा नवौँ महाधिवेशन आयोजना गरेर केपी शर्मा ओलीको नेतृत्व चयन गर्‍यो ।

यसरी प्र्रमुख रुपमा विकास भएका दुई धाराबीच ०७५ जेठ ३ मा एकता भएपछि मूलरुपमा नेपालका कम्युनिस्ट आन्दोलन एकीकृत भएको छ । व्यक्तिगत अहम् र तुष्टीका कारण केही ससाना कम्युनिस्ट पार्टी बाहिरै बसेका छन् । अर्कातर्फ अझै सशस्त्र क्रान्ति सम्भव देख्नेहरु बन्दुकको राजनीति अगाडि बढाउन सकिन्छ कि भनेर मौका पर्खेर बसेका छन् । यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने हामीले आफ्नो आदर्श र चुनावी घोषणापत्रलाई पछ्याउन सक्यौँ भने नेता कार्यकर्तामा असन्तुष्टी देखा पर्ने छैन र असन्तुष्टीमा खेलेर फेरि सशस्त्र युद्ध गर्ने आकांक्षा पूरा हुने छैन । अन्यथा, हाम्रो अयोग्यताको लाभ हतियारको पसल थापेर बसेकाहरुलाई हुनेछ ।

माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा अङ्गीकार गरेको नेकपा आफ्नो सैद्धान्तिक अवधारणाबारे स्पष्ट छ । २०७५ जेठ ३ गते जारी संयुक्त घोषणामा उल्लेख छ, ‘नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौँ शताब्दीमा जनवादसम्बन्धी सैद्धान्तिक एवम् राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाइनेछ ।  यिनै वैचारिक मान्यताहरू अनुरूप प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक–आर्थिक रूपान्तरणमार्फत नेपालको संविधानमा उल्लिखित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिको दिशामा हामी अग्रसर रहनेछौँ । साथै, नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्दादेखिको समाजवाद स्थापनाको महान् लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामीहरू दृढ रूपले प्रतिबद्ध रहनेछौँ ।’

जनतामाथि विश्वास र भरोषा गर्दै जनअनुमोदन प्राप्त गरेर सबभन्दा ठूलो दल बनेको नेकपाको मान्यता छ, ‘शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्थालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य– मान्यतामा प्रतिबद्ध छ ।’ 

कम्तीमा यति कुरालाई व्यवहारमा उतारिदिँदा नेपालमा कम्युनिस्ट पार्टीको भविष्यमाथि कसैले चुनौती दिन सक्ने छैन । 

बैशाख ९, २०७६ मा प्रकाशित

विष्णु रिजाल

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल लोकान्तर डट् कमका नियमित स्तम्भकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस