पूर्व गभर्नर क्षेत्रीको प्रतिक्रिया- नीति तथा कार्यक्रममा पर्याप्त समन्वयको अभाव देखियो !

फाइल फोटो
बैशाख २०, २०७६

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संसद्‍मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम गत वर्षकै निरन्तरताका रूपमा आएको अर्थविद्ले बताएका छन् ।

अर्थविद् एवं पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले नीति तथा कार्यक्रम पुरानैको निरन्तरताका रूपमा आएको बताए ।


ADVERTISEMENT

लोकान्तरसँगको कुराकानीमा क्षेत्रीले नीति तथा कार्यक्रममा विगतकै निरन्तरता देखिएको भन्दै कतिपय सन्दर्भहरू दोहोरिएकाले पर्याप्त समन्वयको अभावमा नीति तथा कार्यक्रम आएको बताए ।

‘हामीले यसो गर्छौं, उसो गर्छौ भन्ने कुरा । जस्तै दुई वर्षमा यसो गरिने छ, चार वर्षभित्रमा यस्तो गरिने छ, भन्ने कुराहरू त आयो,’ उनले भने, ‘निरन्तरताहरू देखिएको छ ।’

शिक्षामा सबैको पहुँच पुग्नुपर्छ भन्ने मान्यतामा नयाँ विश्व विद्यालय खोल्ने कुरा नीति तथा कार्यक्रममा आएको तर, हाम्रा पुराना विश्वविद्यालयहरूको नीति के हुने भन्ने कुरामा ध्यान नपुगेको जस्तो देखिएको टिप्पणी पनि उनले गरे ।

‘प्राविधिक विश्व विद्यालय रणनीतिक विश्वविद्यालय खोल्ने कुराहरू आयो, यो नयाँ विचार हो,’ उनले भने, ‘हामीसँग भइराखेको खुला विश्व विद्यालयको नीति के हुने भन्ने विषयमा कतै चर्चा परिचर्चा भएको जस्तो लागेन । जुन महत्त्वपूर्ण पनि हो । त्यता पट्टि ध्यान नपुगेको हो कि ?’

उनले नीति तथा कार्यक्रम परम्परागत किसिमबाटै आएको र व्यवस्थित भएर आएजस्तो आफूलाई नलागेको बताए ।

‘यो परम्परागत किसिमबाटै धानिने किसिमको आएको छ । त्यति व्यवस्थित रूपमा आएको जस्तो पनि देखिँदैन,’ उनले भने, ‘एउटा सेक्टरलाई चारपाँच ठाउँमा दोहोरिए जस्तो देखियो । जस्तै, महिलाकै कुरा पनि चार ठाउँमा सन्दर्भ पुर्‍याइएको छ । शिक्षाको विषयमा त्यसरी नै सन्दर्भ उठाइएको छ । डिस्जोइन्ट जस्तो देखिन्छ । समन्वय नभए जस्तो लाग्यो ।'

छुटाउनु भयो कि !

इतिहासकै तीव्र विकासको वर्ष बनाउने घोषणासहित नीति तथा कार्यक्रम [पूर्णपाठ]

सरकारको नीति तथा कार्यक्रम : हेर्नुहोस्, केही अनौठा र केही जनचासोका १० घोषणा

बैशाख २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस