मेलम्चीको अनिश्चित भविष्य र बिना मगरको क्रियाशीलता !

बैशाख २२, २०७६

तारादेवीको एउटा मर्मस्पर्शी गीत छ – सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन । सांसद तथा खानेपानी मन्त्री बिना मगरको जीवनमा पनि केही यस्तै भएको छ । भैरवनाथगणको कालकोठरीदेखि संसद् भवन र सिंहदरबारसम्मको यात्रामा उनले भोगेका तीतामीठा अनुभवहरू सँगाल्यो भने बलिउड अभिनेता सञ्जय दत्तको भन्दा कारुणिक बायोपिक बन्न सक्छ । मलाई त के लाग्छ भने बिना मगरको पनि सञ्जय दत्तको भन्दा राम्रो बायोपिक बनाउनुपर्छ ।

सञ्जय दत्तको कुरा गर्दा उनलाई भारतीय मिडियाले जहिले पनि लखेटिरह्यो । कहिले लागूपदार्थको दुर्व्यसनी भनेर, कहिले घरमा हतियार राखेको, कहिले मुम्बई हमलामा संलग्न भएको, कहिले धेरै युवतीसँग हिमचिम बढाउने प्लेब्वाई भएको भनेर आरोप लगाइरहे मिडियाहरूले । तर सञ्जयका पिता सुनिल दत्तलाई भने पूरा विश्वास थियो, ‘मेरो छोरा दुनियाँले भने जस्तो खराब छैन ।’ अन्ततः छोरालाई गरिएका अनाहक आरोपहरूका कारण सुनिल दत्तको मनोबल घट्दै गयो । छोरालाई देशसामु निर्दोष साबित गर्ने यात्रामा रहँदा नै उनको निधन भयो ।


ADVERTISEMENT

सञ्जय दत्तको बायोपिक ‘सञ्जू’ प्रदर्शन हुँदा म धरानमा थिएँ । र पहिलो पटक सिनेमाको केही दृश्य हेरेर मेरो आँखामा आँसु आएको थियो । बाहिरबाट मान्छेले आलोचना गर्ने कुरा र उसले नितान्त भोगेको कुरामा कति फरक हुने रहेछ भनेर मलाई अथाह पीडा भएको थियो । सञ्जय दत्तले आफू बाहिर हल्ला गरिए जस्तो खराब नभएको, मिडियाले मसला मात्र बनाएको भनेर आफ्नो पितालाई एकदिन स्पष्ट पार्ने सपना देखिरहेका थिए । तर सुनिल दत्तको निधनपश्चात् त्यो सपना पूरा हुन सकेन । कसैको सपना पूरा नहुँदा पनि रुन मन लाग्ने रहेछ । म त्यो दिन खुब रोएँ ।

सञ्जय दत्तका बारेमा फैलाइएका अफवाहहरू सबै झूट थिए वा बढाइचढाइ गरिएका थिए भन्ने कुरा सञ्जय दत्तको बायोपिक सञ्जूबाट छर्लङ्ग हुन्छ । 

यो बायोपिक हेरेपछि मैले सबैभन्दा धेरै याद गरेको अर्को पात्र हो प्रकाश दाहाल । शुरूमा म पनि प्रकाश दाहालको आलोचक नै थिएँ किनभने बाहिर हल्लाहरू त्यसरी नै फिँजिएका हुन्थे । तर उनीसँग मेरो पहिलोपटक भेट हुँदा उनका पिता पुष्पकमल दाहाल प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनुहुन्थ्यो । कैयौंपटक भेटघाट भयो तर उनी बाहिर हल्ला गरिएजस्तो खराब कहिल्यै लागेनन् ।

बिना मगरले खानेपानीको क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरिरहेकी छन् विगतको तुलनामा । नेपालको पानीलाई प्रशोधन गरेर विदेश लैजानका लागि वातावरण तयार भयो र यसले हाम्रो अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने निश्चितप्रायः छ ।

मैले सञ्जय दत्तको बायोपिकको कुरा किन जोडेको हुँ भने बिना मगर र उनको पति प्रकाश दाहाललाई पनि हल्ला र कुप्रचारहरूले कहिल्यै लखेट्न छोडेनन् । बरू प्रकाश दाहाल संसारबाट बिदा मागेर गए, तर अझै पनि प्रकाश दाहालको आलोचना हुन छाडेको छैन । र यसमा बिना मगरको नाम पनि जोडिएको छ । कतिपयको कुतर्क त यस्तोसम्म हुन्छ कि ससुरा प्रचण्डको कारण बुहारी बिना मन्त्री भएकी हुन् । यसभन्दा झल्लु कुरा अरू के हुन सक्छ र ?
हामीले सतही कुरा मात्र गर्ने कि त्यसको भावार्थ पनि बुझ्ने भन्ने हो । पतिको वियोगलाई मुटुका साँचेर चुनाव प्रचारमा लागिरहिन् । अरू आम महिला जस्तो च्यादर ओढेर पतिको सम्झनामा रुँदै बस्दै गरिनन् । चुनाव जितिन्, मन्त्री भइन्, फटाफट काम गरिरहेकी छिन् । उनको यस किसिमको जागरुकता र साहसिकपनलाई हामीले सलाम गर्नुपर्दैन र ? एक महिला कसैकी श्रीमती त हो, तर कसैको दिदीबहिनी पनि हो । र एक महिलाले यो देशलाई हाँक्न पनि सक्छिन् र हाम्रो भाग्यविधाता पनि बन्न सक्छिन् । हेलित र दमित नेपाली महिलाहरूको हकमा बिना मगरको उपस्थितिलाई किन कुप्रचार गरेर नजरअन्दाज गर्ने ?

यो पृथ्वीमा दोस्रो घरबार अरू कसैको भएकै छैन र ? के प्रकाश दाहाल र बिना मगरले पृथ्वीमा कसैले नगरेको काम गरेका थिए र ? के प्रकाश दाहालले सजाय भोगेका थिएनन् र ? व्यक्तिको निजी जीवन पनि त हुन्छ । शान्तिको श्वास फेर्न सकिन्छ त्यो झुपडी भए पनि घर हुन्छ भन्ने कथन छ । विचार मिलेपछि, भावना मिलेपछि प्रेम हुन्छ । उनीहरू प्रेममा परे, विवाह गरे, बच्चा जन्माए र सबै किसिमका आलोचना खेप्न समाजका अगाडि तयार भए । तर आलोचना कहिलेसम्म ?

मलाई जानकारीमा आएसम्म प्रकाश दाहालको एउटा सपना थियो, बाबाले जसरी पनि यसपालि चितवनबाट चुनाव जितून्, पत्नी बिना मगरको राजनीतिक जीवनमा केही सहयोगी भएर काम गरौं र आफूविरुद्ध फिँजाइएका हल्लालाई काम गरेरै चिरौं । तर प्रकाश दाहाललाई त्यो अवसर मिलेन । अल्पायुमै उनले हामीलाई छाडेर गए । उनले हामीलाई मात्र छाडेनन्, नेपाली युवाहरूको सपनालाई छाडेर गए, बाबा, आमा, दिदी, बैनी, आफ्ना छोराहरूको स्नेहलाई छाडेर गए ।

तर प्रकाश दाहालको विरासत कहीँ न कहीँ खानेपानी मन्त्री बिना मगरको जीवन र दैनिकीसँग जोडिएर आउँछ । त्यो आउने नै भयो । प्रकाश मरेर गए तर यो समाजका कतिपय तत्त्वहरूले उनको अस्तुको पनि आलोचना गर्न बिर्सेको छैन । र सँगसँगै बिना मगरको नाम पनि जोड्न बिर्सेको छैन । यस्तो लाग्छ, प्रकाश दाहालको बायोपिक बन्यो भने कस्तो बन्ला ? युद्धदेखि बालुवाटारसम्मको यात्रा, बिनाको प्रेममा पागल भएर दिल्ली भाग्दाका क्षणहरू, पार्टीको सजाय भोग्नुपर्दाका दिनहरू अनि समाजको आलोचनालाई दिनरात अमृतको प्याला झैं निल्नुपर्ने घडीहरू ।

हो, बिना मगर प्रतीक्षा चुनाव जितेर अहिले मन्त्री भएकी छिन् । तर समाजको केही तहमा उनको आलोचना हुन छाडेको छैन । मानौं, बिना मगरकै कारण भूकम्प गएको हो, बिना मगरकै कारण सुनामी आएको हो, बिना मगरकै कारण आँधीहुरी आएको हो, बिना मगरकै कारण बादल फाटेको हो, बिना मगरकै कारण मुसाले धान खाएको हो, बिना मगरकै कारण भैंसी ब्याउन नसकेर मरेको हो । 

मानिसहरूलाई जनयुद्धमा बिना मगरले के कस्ता भूमिका खेलिन्, त्यसको इतिहास केलाउन फुर्सद छैन । युद्धका मोर्चाहरूमा आफूलाई कसरी होमिन्, ज्यानको बाजी थापेर यो देशको व्यवस्थापकीय परिवर्तनका निम्ति कसरी आन्दोलनको राँकोमा आगो बालिन्, बुझ्ने चेष्टा छैन । भैरवनाथमा तत्कालीन सेनाको कस्टडीमा रहनुपर्दा खेप्नुपरेको दुःखपीडाका बारेमा सोच्ने फुर्सद पनि छैन । मानिसहरू यस्तो कल्पना गर्छन् – बिना मगरलाई राजाले दरबारमा बोलाएर हुकुमप्रमाङ्गी गरेर टीका लगाइएको हो, राजाले मन पराएर मन्त्री बनाएको हो ।

तर बिना मगरको आफ्नै इतिहास छ । लगानी र क्षमता छ । रामकुमारी झाँक्रीहरू जम्माजम्मी सडक आन्दोलनमा टाउकोमा सानो ढुङ्गा लागेर रगत देखिएको फोटो आजको मितिसम्म प्रचार गर्छन् । तर बिना मगर आन्दोलनका मामलामा ज्युँदो शहीद हुन् भन्ने कुरा सजिलै बिर्सिन्छन् । नेपालको राजनीतिक परिवर्तनमा भन्ने नै हो भने बिना मगरले जस्तो दुःख पाएको, यातना पाएकाहरू को छन् ? बिना मगर मरी भनेर घरपरिवार साथीभाइले माया मारिसकेको बेला बिना मगर कालकोठरीबाट फर्केकी हुन् । इतिहास साक्षी छ । र वर्तमान पनि साक्षी छ । पतिवियोगलाई मुटुमा गाँठो पारेर मेलम्चीको बाटो फुकाउने मन्त्री हुन् बिना मगर । 

अब चैं पाठकहरूलाई लाग्यो होला, बिना मगरको गुणगान भयो, किन पढ्ने हनुमानका कुरा । तर त्यस्तो हैन । इतिहास भनेको इतिहास नै हो । विकास र परिवर्तनको नाममा माखो नमारेकाहरूको गुणगान दैनिक रूपमा पढ्नुपरेको छ अखबारको पानामा, सुन्नुपरेको छ रेडियो र टीभीमा । यो कुरा साँचो हो, कसैको दयामायामा बिना मगर मन्त्री भएकी हैनन्, उनको आफ्नै किसिमको लगानी छ । अर्को कुरा, कोमल ओलीहरू जस्तो टीका लगाएर समानुपातिक सांसद भएकी पनि हैनन्, बकाइदा उनले कञ्चनपुरमा प्रत्यक्ष चुनाव लडिन् र अत्यधिक बहुमतका साथ जितिन् ।

अब भन्नुहोस्, लोकतान्त्रिक विधिअनुरूप चुनाव जितेको, युद्ध तथा आन्दोलनमा सहभागी हुँदा सिङ्गो जवानी बिताएको, चरम यातना भोगेको मानिस मन्त्री हुन नहुने भन्ने कुन संविधानमा लेखेको छ ? र जो भइरहेका छन् मन्त्री तिनको पनि त बायोडाटा हेरांै न । को कस्तो भन्ने कुरा छर्लङ्ग भैहाल्छ । यो सवाल किन उठाएको हो भने सामाजिक सञ्जाल हेर्नुहोस्, कतिपय मिडिया हेर्नुहोस्, सुनियोजित रूपमा मन्त्री बिना मगरको चरित्रहत्या गर्ने कामहरू भइरहेको छ । यस्तो लाग्छ, बिना मगरलाई पीडाहरू बटुलेर रोइरहन पनि मिलेको छैन, खुशीहरू समेटेर हाँसिरहन पनि मिलेको छैन । खै, के मिलेको छैन, के मिलेको छैन । 

केही समयअघि आफूलाई विवेकशीलको नेता बताउने एकजना युवतीले बिना मगरविरुद्ध अख्तियारमा मुद्दा दायर गरिन् । चर्चा कमाउनको लागी नयाँ नयाँ स्टन्ट गर्नेहरूको जमातमा उनको हर्कत नयाँ त थिएन तर त्यो एक प्रकारको अपमानजनक तथा सुनियोजित कदम थियो । मेलम्चीको काम विगतका तुलनामा एकदमै प्रभावकारी ढंगले अगाडि बढिरहेको छ । ठेकेदारहरूले समयमै काम सम्पन्न गर्न नसक्दा, कम्पनीहरू परिवर्तन हुँदा अवरोध खडा भएको छ । तर के मेलम्चीलाई आजको मितिसम्म अन्तिम रूप दिन नसक्नुमा बिना मगरकै हात छ त ? के बिना मगर विभागीय मन्त्री हुन् भन्दैमा आजसम्मको सम्पूर्ण दोष उनले नै सहनुपर्छ त ?

मेलम्चीको कुरा कहिलेको हो ? हामी बच्चा हुने बेलादेखि मेलम्चीका कुरा सुन्दै आएका छौं । अब हामी वयस्क भैसक्यौं तैपनि मेलम्चीका कुरा सुन्नुपरिरहेको छ । यो समग्रतामा हाम्रो देशको सिस्टमको कमजोरी हो । भन्ने नै हो भने यो मन्त्रीको सवाल मात्र हैन, सिङ्गो देशको सवाल हो । पूर्वप्रधानमन्त्रीहरू जसमध्ये दुईजना त दिवंगत भइसक्नुभयो – कृष्णप्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला – उहाँहरूले पनि मेलम्चीलाई अन्तिम रूप दिन सक्नुभएन । त्यसपछि हालसम्मका जीवित भूपू प्रधानमन्त्रीहरूका महान् सपनाहरू पनि मेलम्ची हुँदै आएको छ ।

तर अहिलेसम्म किन मेलम्चीले अन्तिम रूप लिन सकेन ? के बिना मगरका कारण यसो भएको हो त भन्ने प्रश्न उब्जिन्छ । तर यो पूर्वाग्रही प्रश्न मात्र हो । बरू बिना मगर मन्त्री भएपछि धेरै कुरामा ब्रेक थ्रु भएको छ । देशभरिका खानेपानीका हकमा व्यापक फड्को मारेको छ । तर यो सकारात्मक काम कसले देख्ने, कसले बुझ्ने ? काममा समस्या खडा गर्ने विभागीय सचिवलाई कारवाहीस्वरूप सरुवा गर्दा पहाड नै खसेजस्तो कोकोहोलो मच्चाउने । सबैलाई थाहा होला, नेपालको विकास निर्माणमा भइरहेको ढिलासुस्तीमा कर्मचारीतन्त्रको पनि ठूलो हात छ ।

मेलम्ची २७ वर्ष अघिदेखि शुरू भएको यो राष्ट्रिय गौरवको आयोजना हो । तर बिना मगरले विभागीय मन्त्री भएपछि पछिल्लो ११ महिनामा मेलम्चीको काम द्रुत गतिमा अघि बढेको छ र हालसम्म ९६ प्रतिशत काम सम्पन्न भएको छ ।

बिना मगरले खानेपानीको क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरिरहेकी छन् विगतको तुलनामा । नेपालको पानीलाई प्रशोधन गरेर विदेश लैजानका लागि वातावरण तयार भयो र यसले हाम्रो अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने निश्चितप्रायः छ । वाटर एम्बुलेन्सका कुरा होस् वा सफा स्वच्छ पानी वितरणका लागि गरिएका अनुगमनका कामहरू किन नहुन्, ती एकदमै प्रभावकारी ढंगले अगाडि बढिरहेका छन् । नयाँ सडक, ढल निर्माणका लागि खानेपानी मन्त्रालयले गर्नुपर्ने सहजीकरणमा पहिलाको जस्तो अन्योल छैन । मेलम्चीले ठूलो फड्को मारेको छ ।

मेलम्ची खानेपानी योजनाको सुन्दरीजल र सिन्धुपाल्चोकबाट खनिएको सुरुङ जोडियो । सुरुङलाई दुवैतर्फबाट खनेर अन्तिम १० मिटर बाँकी रहँदा दुवैतर्फबाट ड्रिलिङ गरेर ब्लास्टिङ गरी सुरुङ एकआपसमा जोडियो । मेलम्चीको पानी काठमाडौंवासीले पाउने सपनामा एक इँटा थपिएको काम यो हो ।

दोस्रो, तीन खण्डमा विभाजन गरेर शुरू भएको काममध्ये सुन्दरीजलदेखि सिन्धुको साढे नौ किलोमिटर सुरुङ खन्ने काम पूरा भयो । यससँगै २६ किलोमिटर लम्बाइको सुरुङमा २० दशमलब ३ सय ८५ मिटरमा काम सकियो । आयोजनाअन्तर्गत सिन्धुपाल्चोकतर्फको सिन्धुदेखि ग्याल्थुमसम्मको सुरुङ खण्डमा कमलो चट्टान भेटिएका कारण समस्यामा परेको थियो । त्यो पनि हल हुँदै गयो र जम्मा छ दशमलब पाँच किमि सुरुङ खन्न बाँकी रह्यो । 

खानेपानी मन्त्रालयले एक वर्षको अवधिमा सानाठूला गरी ५ सयभन्दा बढी खानेपानीका आयोजनाका काम पूरा गरिसकेको छ । चैत २ गतेदेखि मन्त्री बिना मगरले मन्त्रालय सम्हालेयता पछिल्लो ११ महिनामा ५ सय १८ वटा सानाठूला खानेपानीका आयोजना सम्पन्न भए । मेलम्ची आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीले काम छोडेर गएपछि मन्त्रालय आफैंले उससँगको ठेक्का तोड्यो । यो कदम साहसिक थियो । 

मेलम्ची २७ वर्ष अघिदेखि शुरू भएको यो राष्ट्रिय गौरवको आयोजना हो । तर बिना मगरले विभागीय मन्त्री भएपछि पछिल्लो ११ महिनामा मेलम्चीको काम द्रुत गतिमा अघि बढेको छ र हालसम्म ९६ प्रतिशत काम सम्पन्न भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत ७७ जिल्लामा सञ्चालित खानेपानी आयोजनाहरूमध्ये १ सय १० आयोजनाहरू सम्पन्न भइसकेका छन् । यी आयोजनाबाट १ लाख ८३ हजार ४५५ जनसंख्या लाभान्वित भएका छन् । खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रमले ९ वटा र तेस्रो साना शहरी खानेपानी आयोजना कार्यालयले चारवटा आयोजना सम्पन्न गरिसकेका छन् ।

एक वर्षको अवधिमा ३५ वटा शहरी तथा अर्धशहरी खानेपानी आयोजनाहरू सम्पन्न भई ३ लाख ८७ हजार ५ सय ८२ जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भए । भूकम्पबाट क्षतिग्रस्त भएका आयोजनाहरूमध्ये ३ सय ६० वटा आयोजनाहरूको पुनर्निर्माण तथा पुनःस्थापनाको काम सकिएको छ । यी आयोजनाहरूबाट १ लाख ५२ हजार २१४ जनसंख्या लाभान्वित भए । मुलुकभरका ६३ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भयो । 

एसियाली विकास बैंकको सहयोगमा देशभरका विभिन्न २० वटा शहरहरूमा आयोजना निर्माण तथा खानेपानी तथा सरसफाइको दिगो व्यवस्थापनका लागि १ सय ७८ दशमलब ५ मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौता एकप्रकारको ब्रेक थ्रु थियो । काठमाडौं उपत्यका भित्र ९ वटा पानीपोखरी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यस्ता राम्रा काम दर्जनौंका अनुपातमा छन् । कामको प्रशंसा नगरेर मान्छेको आलोचना किन गर्ने ?

बैशाख २२, २०७६ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार