‘प्रचण्ड’ बन्न नसकेपछि उपेन्द्रको ‘सफल’ सल्लाहकार बन्लान् त बाबुराम ?

बैशाख ३०, २०७६

काठमाडौं – २ दशकयता नेपाली राजनीतिक क्षेत्रमा एउटा चर्चित नाम हो डा. बाबुराम भट्टराई । माओवादी जनयुद्धदेखि हालसम्मको नेपाली राजनीतिको घटनाक्रममा बाबुराम सक्रिय छन् ।

विक्रम संवत् ३० को दशकदेखि नेपाली राजनीतिमा बाबुरामले सक्रिय भूमिका शुरू गरेका थिए । अध्ययन जीवनमा कहिल्यै द्वितीय नभएका बाबुराम ४० वर्ष लामो राजनीतिक जीवनमा कहिल्यै प्रथम भूमिकामा देखिएनन् ।


ADVERTISEMENT

सांगठनिक जीवनको पहिलो सहभागिता २०३३ सालमा चण्डिगढमा नेपाल विद्यार्थी संघ निर्माण गर्दा उनले महासचिवबाट शुरू भयोे । मार्क्सवादी आन्दोलन र विचारको प्रभावसँगै उनले २०३७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएसँगै उनको कम्युनिस्ट राजनीति शुरू भएको थियो । 

२०४२ सालमा विद्यावारिधि पूरा गरेपछि बाबुराम मोहनविक्रम सिंह नेतृत्वको मसालको बाग्मती ब्यूरोको सदस्य भएका थिए । २०४६ सालसम्मको पञ्चायत विरोधी आन्दोलनमा बाहिरी संयुक्त मोर्चाको नेतृत्व गरेका उनले पार्टी संगठनमा सधै सहायक भूमिकाको रुपमा मात्रै उनले नेतृत्व गरे ।

२०४६ सालको आन्दोलनसँगै बाबुुरामले तत्कालीन नेकपा मसाल विभाजन गरी विभाजित समूहको नेतृत्व गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा मशालसँग पार्टी एकता गरेका थिए ।

सहायक भूमिकामा बाबुराम 

युद्ध राजनीतिको रेखांकन गर्दै गरेको पार्टीमा प्रचण्ड र मोहन वैद्यसामु बाबुराम स्वभाविक हिसाबले सहायक भूमिकामा देखिए । तर संगठन बाहिर आमनेपाली जनताबीच बाबुरामको बौद्धिक पहिचान स्थापित हुँदै थियो । भारतको जेएनयू विश्वविद्यालयमा अध्ययन गरेका कारण उनको भारतीय राजनैतिक मूलधारका केही राजनीतिक व्यक्तिहरूसँग निकट सम्बन्ध थियो ।

उनको बाहिरी छविका कारण उनलाई पार्टीले बाह्य मोर्चाको जिम्मेवारी दियो । माओवादी जनयुद्धमा बाहिरी मोर्चाको प्रमुख जिम्मेवारीबाहेक प्रमुख जिम्मेवारी उनले कहिल्यै पाएनन् । मोहन वैद्यको गिरफ्तारीसँगै प्रचण्ड–बाबुरामले चुनवाङको बैठकबाट नयाँ फ्युजनको कार्यदिशा र लोकतान्त्रिक गणतन्त्रको कार्यनीति अबलम्वन गरे । माओवादी आन्दोलनमा फ्युजनको कार्यदिशा र संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यनीति निर्माणमा बाबुरामको मुख्य भूमिका रहेको चर्चा नेपाली राजनैतिक वृत्तमा आज पनि हुन्छ । 

माओवादी र सरकारबीच भएका विभिन्न वार्ताको चरणमा प्रचण्ड कहिल्यै सार्वजनिक भएनन् । कहिले कृष्णबहादुर महरा त कहिले बाबुराम भट्टराईले वार्ताको नेतृत्व गरेका थिए । संयुक्त जनआन्दोलन २०६२/०६३ पछिको वार्ताको प्रक्रियामा भने बाबुरामसँगै स्वयं प्रचण्ड पनि सार्वजनिक भएर आफैंले निर्णायक कुराको नेतृत्व गरे, जसका कारण बाबुराम पार्टीभित्र तेस्रो र आमजनतामा माओवादी आन्दोलनको दोस्रो नेताको रुपमा स्थापित हुन पुगे ।

मोहन वैद्यको रिहाइसँगै माओवादी आन्दोलनमा स्पष्ट रुपमा २ धारको विचार र संगठन देखा पर्न थाल्यो । भनिन्छ – पार्टीको अध्यक्ष प्रचण्ड भएपनि बाबुरामले एउटा विचारको सशक्त नेतृत्व गरे भने मोहन वैद्यले अर्को विचारको नेतृत्व गरे । करीब २०६१ सालदेखि राजनैतिक कार्यदिशाको नेतृत्व बाबुरामले गरेपनि उनले सांगठनिक नेतृत्व गर्ने अवसर प्राप्त गर्न सकेनन् । प्रचण्ड सफल हुनुमा बाबुराम भट्टराईको साथ महत्त्वपूर्ण रहेको चर्चा समेत हुने गरेको छ ।

विशेष गरेर पालुङटार महाधिवेशन नजिक आउँदा उनले आफू बल्ल सांगठनिक रुपमा कमजोर भएको अनुभव गरे । त्यहीँ समयदेखि नै उनले फरक विचार र आन्तरिक गुटको अभ्यास गर्न थाले । त्यो समय अगाडिको पूरै माओवादी आन्दोलनमा बाबुराम सामान्यतया गुटविहीन नेतृत्व थिए, जबकि पार्टीमा मोहन वैद्य र प्रचण्डको छुट्टै अदृश्य गुटगत अभ्यास भइरहन्थ्यो ।

तत्कालीन माओवादीबाट मोहन वैद्य बाहिरिएसँगै बाबुरामले पार्टीभित्र आफूलाई कसरी नेतृत्वमा स्थापित गर्न सकिन्छ भनेर निकै सोचे । धेरै तरिका अवलम्बन गर्न खोजे । तर प्रचण्डसामु उनको केही लागेन ।

‘प्रचण्ड’ बन्ने प्रयास

अन्ततः बाबुरामको नेतृत्व महत्त्वकांक्षाका कारण उनले पार्टीभित्र अघोषित विभाजनको रेखा कोरेर बाहिरिए र नयाँशक्ति पार्टी निर्माण गरेर आफूलाई त्यसको नेतृत्व घोषणा गर्न पुगे । बाबुराम प्रचण्डझैं पार्टीको प्रथम नेता भएर संगठन हाँक्न चाहन्थे । तर उनकै नेतृत्वमा नयाँशक्ति पार्टीले प्रतिस्पर्धा गरेको प्रतिनिधिसभा निर्वाचनले उनलाई असफल देखायो । उनी ‘प्रचण्ड’ बन्न सकेनन् ।

बाबुरामले नयाँशक्तिमार्फत आफ्नै नेतृत्वमा पार्टी चलाउने कल्पना गरेका थिए । तर उनले कल्पना गरेजस्तो नयाँशक्ति पार्टीलाई नेपाली जनताले अनुमोदन गरेनन् । कम्युनिस्ट विचार र ट्रेडमार्कभित्र मात्रै रहेर प्रतिस्पर्धा गर्न गाह्रो हुने देखेर बाबुरामले सबैलाई तान्न सकिने साझा प्रकारको विचार घोषणा गरेका थिए तर उनको विचार पनि निर्वाचनमा अनुमोदन हुन सकेन । 

सामान्यतयाः साधारण बौद्धिक आँखाबाट हेर्दा पनि बुझ्न सकिन्छ कि बाबुराम करीब १ दशकयता आफू नेतृत्व बन्न निकै उतारचढावमा छन् । बाबुरामले जुनसुकै विचार र दलसँग मिल्न सक्ने गरी आफूलाई लचकदार बनाएका छन् ।

डा. बाबुराम भट्टराईले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘हामीले राजपा, जनमुक्ति पार्टी, थरुहट आन्दोलनसँग जोडिएका शक्ति र एक तहसम्म विवेकशील पार्टीसँग पनि छलफल चलायौं ।’ यस भनाईले के देखाउँछ भने बाबुराम शक्ति हासिल गर्नका लागि कोसिस गरिरहेका छन् ।

सल्लाहकारको भूमिकामा बाबुराम

नयाँशक्ति र संघीय समाजवादी फोरमबीच एकता भएको सन्दर्भलाई जोडेर धेरैले बाबुरामको अवसानको शंका गरेका छन् । राजनैतिक आन्दोलनमा नेतृत्व स्थापित भएको कोणबाट हेर्दा बाबुराम उपेन्द्र यादवभन्दा वरिष्ठ पात्र हुन् । बाबुराम पूर्व प्रधानमन्त्री हुन् भने उपेन्द्र उपप्रधानमन्त्री मात्रै । बाबुरामले अहिले अपनाएको कार्यशैली राजनैतिक शक्ति हासिल गर्नका लागि उपेन्द्रले निकै अगाडि अपनाएर वर्तमान स्तरको शक्ति हासिल गरिसकेका छन् ।

राजनैतिक आन्दोलनमा सांगठनिक परिमाणको उतारचढावलाई स्वभाविक रुपमा लिनुपर्र्छ तर वैचारिक उतारचढावलाई स्वभाविक रुपमा लिन सकिँदैन । बाबुरामले मार्क्सवादी अर्थशास्त्रीय दृष्टिकोणबाट नेपाली राजनीतिमा आफूलाई स्थापित गरे । सूचना र बजार भूमण्डलीकरणको निरन्तर विकासको अलावा नेपाली राज्यसत्ताको सामाजिक आधार, सम्बन्ध र उपरीसंरचनामा तात्विक भिन्नता नआएको कुरा विभिन्न तथ्यांकले देखाइरहेका छन् । बाहिरी विकसित राष्ट्रमा पछिल्लो समयमा विकसित नयाँ शैलीको राजनैतिक नारा र शैलीबाट बाबुराम प्रभावित हुन पुगे । बाबुराम आज पनि आफूलाई मार्क्सवादको गुदी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको पक्षपाती भएको बताउँदै आएका छन् । यसैलाई आधार मानेरभन्दा बाबुरामले आज जुन विचारको वकालत गरिरहेका छन्, त्यसको शुरूवातको ऐतिहासिक आधार भनेको उनले तत्कालीन माओवादीमा नेतृत्व नपाएको अवस्थाबाट शुरू भएको हो । 

राजनैतिक खेलमा उपेन्द्रलाई मधेशका ‘प्रचण्ड’ नै हुन् भन्न सकिन्छ । कम बोल्ने र चतूर स्वभावका उपेन्द्रको कार्यकारी नेता बाबुराम बन्ने कुरा सजिलो देखिँदैन । पार्टी एकीकरण हुँदा पनि उपेन्द्रले नै कार्यकारी अध्यक्षको भूमिका लिएका छन् भने बाबुरामलाई केन्द्रीय परिषद् अर्थात् सल्लाहकारको भूमिकामा रहने परिषद्को अध्यक्ष बनाइएको छ । 

राजनैतिक शक्ति आर्जन गर्ने र कार्यकारी नेतृत्व बन्ने कुरामा कमजोर देखिएका बाबुराम भट्टराई पार्टीमा उपेन्द्र्रको ‘सफल’ सल्लाहकार बन्न सक्लान् ? यो प्रश्नको जवाफ भविष्यले दिँदै जानेछ ।

बैशाख ३०, २०७६ मा प्रकाशित

नारायण अर्याल

अर्याल लोकान्तर संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस