सरकारको नीति समाजवादउन्मुख भएको प्रवक्ता श्रेष्ठको दाबी

जेठ २, २०७६

गोरखा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम समाजवादउन्मुख भएको बताएका छन् ।

नेपाल प्रेस संगठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गएको १ वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गरे ।


ADVERTISEMENT

‘भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ,’ उनले भने, ‘अब आउने बजेट पनि समाजवादउन्मुख र समृद्धिको दिशातिर केन्द्रित भएको हुनेछ ।’

आउँदो जेठ  १५ गते आउने बजेटले नेपाली जनताका तत्कालीन समस्या समाधान गर्ने प्रवक्ता श्रेष्ठले बताए । ‘सरकार पक्ष मात्र होइन, प्रतिपक्षलाई समेत समेट्ने गरी बजेट आउँछ,’ उनले भने ।

उनले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको वर्तमान सरकार समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताउँदै निर्वाचनका बेला जनतासँग गरेका सबै खालका प्रतिबद्धता नयाँ बजेटमा समावेश गर्ने उल्लेख गरे । ‘हामीले चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धताअनुसार यो पटक वृद्धभत्ता बढाउने तयारी गरेका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘बजेटका सैद्धान्तिक पक्षका बारेमा अर्थमन्त्रीले प्रिबजेट छलफलमा सबै कुरा प्रस्तुत गरिसक्नुभएको छ ।’

उनले सरकारले ल्याउने बजेट पार्टीको घोषणापत्रलाई केन्द्रबिन्दुमा राखेर नै अगाडि बढाउने बताए । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री विदेशबाट फर्केलगत्तै बजेटका विषयमा बृहत् छलफल हुने र त्यसका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक, समावेशी, सामाजिक न्यायसहित नयाँ बजेट आउने बताए ।

जेठ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस