प्रधानमन्त्री दुइतिहाईको दम्भ देखाउन चाहन्छन् : गगन थापा

जेठ २, २०७६

सुर्खेत- नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख गरिएको अधिकार अहिले सम्म प्रदेशलाई हस्तान्तरण नगरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस सुर्खेतले बिहीवार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीले सबै अधिकार आफूतिर राखेर प्रदेश सरकारलाई अधिकार विहीन बनाएको बताएका हुन् ।


ADVERTISEMENT

‘अहिलेका प्रधानमन्त्री अधिकार आफैं राखेर शक्तिशाली बन्न चाहन्छन् । दुई तिहाइको दम्भ देखाउन चाहन्छन्,’ उनले भने, ‘प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगर्नु त्यसैको प्रमाण नै हो ।’ उनले लोकतन्त्रलाई बलियो बनाउने हो भने प्रदेशलाई नै बलियो बनाउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको बताएका छन् ।

नेता थापाले सरकार अहिले संविधानले दिएको अधिकार बाहिर गएर लोकसेवा आयोग, अख्तियार, मानव अधिकार आयोग, सेना प्रहरी राज्यका सम्पूर्ण निकायलाई आफ्नो कब्जामा लिन लागेको आरोप लगाए । पूर्वमन्त्री समेत रहेका थापाले संसद् अहिले कार्यकारीको आदेशमा चल्न थालेको भन्दै सरकार एकपछि अर्को काण्ड गर्दै गएको आरोप आरोप लगाए ।

सरकारको कार्यसम्पादन कमजोर हुँदा प्रेस स्वतन्त्रतालाई कानून नै बनाएर मास्न खोजेको उनको आरोप थियो । नेता थापाले जेठ ६ गतेभित्र तीन वटा विधेयक सरकारले फिर्ता नलिए संसदमा आफूहरू कडा रूपमा प्रस्तुत हुने बताए । उनले आफूहरू सदनमा आवाज उठाउने र कार्यकर्ताले सडकबाट साथ दिनुपर्ने भन्दै कार्यकर्तालाई आन्दोलनको लागि तयार रहन निर्देशन दिए ।

इतिहासले फेरी एकपटक नेपाली कांग्रेससँग जिम्मेवारी मागेको भन्दै त्यसलाई आफूहरूले पूरा गरेर छाड्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जनताको आशा र भरोसाको पाटी कांग्रेस मात्र भएको ठोकुवा गर्दै जागरण अभियानबाट पाटी शसक्त रूपमा अगाडि बढ्ने बताए ।

जेठ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस