पदीय लोलुपताको छायाँमा नेकपाको वैचारिक बहस !

जेठ ३, २०७६

काठमाडौं –मदनआश्रित स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादलाई नयाँ तरिकाले संश्लेषण गरी समाजवादतर्फ जानुपर्ने धारणा राखे ।

पार्टी एकीकरण भएपछि विचारको बहस लगभग ‘मृतप्रायः’ भएको अवस्थामा अध्यक्ष प्रचण्डले एकीकृत पार्टीले लिनुपर्ने वैचारिक कार्यदिशाका सन्दर्भमा ‘फायर’ खोलेका हुन् ।


ADVERTISEMENT

प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले एकाध पटक ‘जनताको बहुदलीय जनवाद’को आधारमै २ ठूला कम्युनिस्ट पार्टीको एकीकरण सम्भव भएको बताउने गरेका थिए । गत वर्ष फागुनमा एक कार्यक्रममा बोल्दै ओलीले नेपालको कम्युनिस्ट आन्दोलनमा अब जम्माजम्मी २ वटा बाटो रहेको बताएका थिए ।

उनका अनुसार जनताको बहुदलीय जनवादलाई अंगीकार गरेर सफलतापूर्वक अगाडि बढ्ने बाटो एउटा हो भने, पतनको बाटो अर्काे ।

जसरी अहिले बुझ्ने गरिएको छ, त्यसरी कम्युनिस्टहरू सत्ताभोग र विलास प्राप्तिका लागि मात्र फुट्ने र जुट्ने गर्दैनन् । कम्युनिस्ट पार्टीहरूबीच कुनै बेला अल्पविराम, पूर्णविराम, कोष्ठकजस्ता विषयमा पनि छलफल हुन्छ । पार्टीको कार्यदिशा, वैचारिक राजनीतिक दस्तावेजको छलफलमा एउटा अल्पविरामले पनि पार्टी फुट्ने प्रशस्त आधार तयार गर्न सक्छ ।

पञ्चायतकालमा, जतिबेला दलहरूमाथि राजाले अंकुश लगाएका थिए, त्यतिबेलै नेपालका कम्युनिस्ट सबभन्दा बढी फुट्ने र जुट्ने गरेको इतिहास छ । कतिपयले त पार्टीको नामको पुच्छरमा आफ्नो नाम झुण्ड्याएर समेत विचारको ‘व्यापार’ गरे ।

एक्काइसौं शताब्दीको जनवाद या जनताको बहुदलीय जनवादजस्ता २ धारमा रहेका विचारका कुरा लिएर नेकपाभित्र बिग्रह पैदा हुने आशंका अहिल्यै गरिहाल्न हतार हुनेछ । किनभने अहिलेको नेकपा कम्युनिस्ट पार्टीको आवरणमा पूँजीवादी लोकतन्त्र कार्यान्वयन गर्न जन्मिएको हो भन्नेमा दुईमत रहेन । बरू पार्टीभित्र निरन्तर वैचारिक बहस र छलफलको माग गर्ने घनश्याम भुसालजस्ता ‘कम्युनिज्म’का ज्ञाताहरूलाई निरन्तर पेलेर सीमान्तमै पुर्‍याउने चलखेल भइरहेको छ । 

त्यतिबेला खेतबारी, डोकोनाम्लो गर्दागर्दै मार्क्स र माओको इतिहास पढ्नेहरूमध्ये अधिकांश विदेश मजदूरी गर्न गएका छन् ।

तर हिजो लामो समय कम्युनिज्म स्कूलिङमा हुर्किएका हजारौं नेता कार्यकर्ताको मन थामथुम पार्न शीर्ष नेतृत्व कहिलेकाहीँ विचारको बहसमा ओर्लिने गरेको छ । हुन त सत्ताको वरिपरि नाचिरहेकाहरूलाई विचारको बहस र छलफल गर्न निकै कम फुर्सद हुन्छ । समृद्धिका सपना बाँड्न भ्याइँनभ्याइँ छ । संसदीय कम्युनिस्टहरूले एउटा चुनाव र अर्काे चुनावको बीचमा हजारौं पटक आफ्नो भोट घटे/नघटेको विषयमा सुक्ष्म ‘सर्भे’ गर्छन् । मत साँच्चिकै घट्ने स्थिति देखियो भने प्रतिक्रियावादी र विदेशी शक्तिलाई देखाएर जनतामा डर पैदा गरेरै भएपनि चुनाव लड्ने हिम्मतलाई कायरतापूर्वक प्रस्तुत गर्छन् ।

ओलीकै शब्दमा भन्ने हो भने हालको नेकपामा साविकका दुवै पार्टीमध्ये कसैले जितेको वा हारेकोजस्तो नदेखाउनकै लागि भनेर नयाँ विचारधारा छानिएको छ । त्यसको नाम ‘जनताको जनवाद’ हो । तर यो मिठो शब्दजाल हो भन्ने कुरामा कुनै शंका छैन । जनताको बहुदलीय जनवादबाट ‘बहुदलीय’ शब्द टपक्क टिपेर ‘लाल झाडी’मा मिल्क्याउँदैमा त्यो कसरी नयाँ भयो ।

आजकलका कम्युनिस्टहरूमा अध्ययनको कमी छ । प्रधानमन्त्रीले ८ सय किलोमिटर रोड पीच गरेको गफ दिएको १ सातामा राष्ट्रपतिले आफ्नो सरकारले १६ सय किलोमिटर रोड पीच गरेको भाषण गर्छिन् । दुर्भाग्यवश प्रधानमन्त्री र राष्ट्रपति दुवै कम्युनिस्ट आन्दोलनको ‘भीषण आँधिबेहरी’बाट यहाँसम्म पुगेका हुन् ।

बहुदल आइसकेपछि पनि एक जमाना थियो, जतिबेला कम्युनिस्ट नेता कार्यकर्ता पर्चा बोकेर गाउँगाउँ जान्थे, गुन्द्रीमा बसेर जनतासँगै गुन्द्रुकको झोल खान्थे र रातभरि माक्र्सदेखि माओसम्मका कथाहरू वाचन गर्थे । यस्तो अभ्यास त्यतिबेलाको ‘मसाल/मशाल’ पार्टीमा बढी देखिन्थ्यो । माओवादी जनयुद्ध शुरू भएपछि पनि गाउँगाउँमा क्रान्तिकारी गीत घन्किए । त्यतिबेला खेतबारी, डोकोनाम्लो गर्दागर्दै मार्क्स र माओको इतिहास पढ्नेहरूमध्ये अधिकांश विदेश मजदूरी गर्न गएका छन् ।

सय पेजको विधान रद्दीको टोकरीमा फ्याँक्ने सत्तारुढ नेकपाका नेताहरूले हजारौं पेजमा लेखिएको ‘मार्क्सवाद’ नामको किताब पढेर व्यवहारमा उतार्न सक्ने कुरै भएन ।

अन्तर्राष्ट्रिय रूपमा कम्युनिस्टहरू रक्षात्मक स्थितिमा रहेको बेलामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा कम्युनिज्मको व्यावहारिक प्रयोग गर्न खोजेका थिए । नेपाली समाजलाई शान्तिपूर्ण रूपान्तरण गर्ने सपना देख्दादेख्दै उनको दुर्घटनामा परेर ज्यान गयो । अधिनायवादी शैलीमा प्रस्तुत हुने अन्तर्राष्ट्रिय कम्युनिस्ट स्वभावलाई भण्डारीले नेपालमा पृथक ढंगबाट अघि बढाउन चाहे । सम्भवतः आजसम्म उनको यही योगदानलाई जनताले बिर्सिन सकेको छैन ।

तर नेपालको सबभन्दा ठूलो कम्युनिस्ट पार्टी जसले जनताको बहुमत जुटाएर शासन गरिरहेको छ, त्यो पार्टीभित्र अँध्यारोमै विचार र सिद्धान्तका तीरहरू चलाउने गरिएको पार्टीकै कैयौं नेताहरूले बताउने गरेका छन् । सय पेजको विधान रद्दीको टोकरीमा फ्याँक्ने सत्तारुढ नेकपाका नेताहरूले हजारौं पेजमा लेखिएको ‘मार्क्सवाद’ नामको किताब पढेर व्यवहारमा उतार्न सक्ने कुरै भएन ।

तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेलले स्वर्गीय मदनआश्रित स्मृति दिवसको दिन फेसबूकमा लामो स्ट्याटस लेखे । पोखरेलले नेपाली कम्युनिस्ट आन्दोलनमा भण्डारीको योगदानलाई मिठो तरिकाले प्रस्तुत गरे तर अबको वैचारिक कार्यदिशा के हुन्छ भन्ने विषयमा उनका शब्दहरूले कुनै भाव दिन सकेनन् । उनी भन्छन्, ‘मदन भण्डारीलाई ‘जननेता’को उपाधि दिने निर्णय गरियो, बहुदलीय जनवाद नै पार्टीको मूल नीति रहने घोषणा गरियो ।’ 

एकीकृत नयाँ पार्टीभित्र जबजको बहस अझै बन्द नभएको उनले यदाकदा अन्तर्वार्तामा बताउने गरेका छन् । यसको अर्थ भविष्यमा उनले भण्डारीले प्रतिपादन गरेको जबजलाई राजनीतिक हतियार बनाउने सम्भावना पनि उत्तिकै छ । विचारको बहस हुनुपर्छ भन्ने आधा दर्जन नेता पाउन पनि गाह्रो देखिएको छ । यद्यपि नेकपाले जुनसुकै विचारधारा अंगालेपनि त्यो नाम मात्रको हुने प्रष्ट छ । ‘जनताको बहुदलीय जनवाद’ वा ‘एक्काइसौं शताब्दीको जनवाद’ दुवै शब्दजाल हुन् । 
 

जेठ ३, २०७६ मा प्रकाशित

ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार