गुमनाम अन्तर्राष्ट्रिय खेलाडी : ह्यान्ड बलका ‘गोल कीपर’ निजी क्याम्पसमा ‘स्टोर कीपर’

जेठ ४, २०७६

जनकपुरधाम – कुनै बेला नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा क्षमताको प्रदर्शन गरेर लोकप्रिय भएका ह्याण्ड बलका ‘गोल कीपर’ पवनकुमार लाल कर्ण हाल गुमनाम जीवन बिताइरहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका ५५ वर्षीय कर्णलाई आफ्नो जीवनसँगै परिवारको जीवन धान्न धौंधौं परेको छ ।


ADVERTISEMENT

नेपालको तर्फबाट ह्याण्ड बल अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न देशमा पुगेर खेल मात्रै खेलेनन्, कतिपय गोल बचाएर नेपालको खेलको स्तरलाई प्रबद्र्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कर्णलाई राज्यले कुनै पनि ध्यान नदिँदा उनको जीवन कष्टकर बनेको छ । जनकपुरधामस्थित प्राविधिक स्वास्थ्य शिक्षा वढाउने एक निजी क्याम्पस केयर मेडिकल सेन्टरमा ‘स्टोर कीपर’को काम गरेर जसोतसो गुजारा गर्न बाध्य छन् उनी ।

उनले कलेजले दिने गरेको मासिक १२ हजार रुपैयाँमा नै आफ्नो घर परिवारको पालनपोषण गर्नुपर्ने स्थिति आएको छ । संघ सरकार, प्रदेश सरकार वा स्थानीय सरकारमध्ये कुनै पनि तहको सरकारले गौरवको रुपमा रहेका प्रतिभावान खेलाडीको संरक्षण तथा सम्बद्र्धनका लागि योजना नल्याउँदा पवनजस्तै हजारौं खेलाडीको अवस्था दयनीय बनेको छ ।

को हुन् पवन ?

जनकपुरधाम उपमहानगरपालिका–९ का स्थायी बासिन्दा हुन् पवन । बाल्यकालदेखि नै खेलकुदमा रुचि भएका उनी २०३७ सालमा जनकपुरकै सरस्वती स्कूलबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि ह्याण्ड बल खेल्न थाले । त्यसअघिसम्म फूटबल, क्रिकेट, भलिबलजस्तो खेलमा लाग्ने गरेका पवनको जीवनमा २०३९ सालमा नयाँ मोड आयो ।

त्यतिबेला ह्याण्ड बलका प्रशिक्षक विश्व बम मल्ल काठमाडौंबाट जनकपुरमा प्रशिक्षण दिन आएका थिए । २०३९ सालमा ह्यान्ड बलको राष्ट्रिय प्रतियोगिता हुँदै थियो, त्यसकै लागि जनकपुर अञ्चलबाट खेलाडी छनौट गरेर तयार गर्ने उनले जिम्मेवारी पाएका थिए । पवनका दाजु अरुणकुमार लाल कर्ण ह्यान्ड बलमा पहिलेदेखि नै लागेका कारण उनी पनि अभ्यास खेलमा जान थाले । पवन अग्लो उचाइका भएका कारण पनि उनलाई ह्यान्ड बलमा सहभागी हुन प्रशिक्षक मल्लले प्रेरित गरे । 

जनकपुरको १२ बिघा मैदान र एसएसपी कार्यालयमा बिहान–बेलुका दुवै समय अभ्यास हुन्थ्यो । जनकपुर अञ्चलबाट १२ जनाको टोली तयार भयो । त्यतिबेला कुलदिप सिंहको कप्तानीमा उनका दाजु अरुणकुमार लाल कर्णसँगै रामराज सिंह, श्यामराज सिंह, विराटमान बज्राचार्य, राजकुमार माथेमा, रामनाथ साह, गोपाल गुरुङसहित १२ जनाको टोली तयार भयो र २०३९ सालमै विराटनगरमा आयोजित राष्ट्रिय प्रतियोगितामा जनकपुर अञ्चलको तर्फबाट टोलीले प्रतिनिधित्व गर्‍यो । त्यस प्रतियोगितामा जनकपुरको प्रदर्शन राम्रो भएन र लिग चरणमै बाहिरियो ।

२०३९ सालमा नै हेटौडामा अन्तर नगर खेलकुद प्रतियोगितामा पनि जनकपुरको टीम सहभागी हुँदा फितलै प्रदर्शन भयो । २०४० सालमा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा जनकपुर अञ्चलको टीम सहभागी भयो । त्यहाँ पनि राम्रो प्रदर्शन भएन । जनकपुरको टोलीले राम्रो प्रदर्शन गर्न नसकेपनि पवनको खेलमा सुधार हुँदै गयो । 

लगत्तै २०४१ सालमा विराटनगरमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा पवनकै कप्तानीमा मध्यमाञ्चल विकास क्षेत्रको टोली सहभागी भयो । प्रतियोगितामा मध्यमाञ्चलको टोलीले उपाधि नै जितेर स्वर्ण पदक समेत जित्यो र उनी राष्ट्रिय टोलीमा पर्न सफल भए ।

२०४१ सालमा नै बंगलादेशको ह्यान्ड बलको टोली नेपालमा मैत्रीपूर्ण खेल खेल्न आएको थियो । काठमाडौं र जनकपुरमा खेलिएको मैत्रीपूर्ण खेलमा उनले गोल कीपरको भूमिका निर्वाह गरेका थिए । यद्यपि नेपालले दुवै खेल हारेको थियो ।

२०४१ सालमा नै मेचीको चन्द्रगढीमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा उनकै कप्तानीमा जनकपुर अञ्चलको टोली सेमिफाईनल सम्म पुगेको थियो । २०४३ सालमा धनकुटामा भएको राष्ट्रिय प्रतियोगितामा पनि उनको अगुवाइमा जनकपुरको टोली सेमिफाइनलसम्म पुगेको थियो । २०४४ सालमा बाग्लुङमा भएको राष्ट्रिय प्रतियोगितामा जनकपुरको टोली उनको अगुवाइमा दोस्रो स्थान प्राप्त गरेको थियो । त्यसमा जनकपुर दोस्रो भएपनि जनकपुरका कप्तान पवन प्रतियोगिताकै सर्वोत्कृष्ठ खेलाडीको उपाधि जित्न सफल भएका थिए । २०४५ सालमा कञ्चनपुरको महेन्द्रनगरमा भएको राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चलको कप्तानी गरेका पवनको टोलीले दोस्रो स्थान पाउन सफल भएको थियो ।

रुसमा प्रशिक्षण 

२०४४ सालमा नेपालको १२ जना ह्यान्ड बलका खेलाडीलाई प्रशिक्षणका लागि रुस पठाइएको थियो । २९ दिनसम्म प्रशिक्षण लिएको नेपाली टोलीमा पवनलाई पनि अवसर दिइएको थियो । त्यसलगत्तै रुसको टीम नेपाल आएर नेपालसँग ४ वटा मैत्रीपूर्ण खेल खेलेको थियो । ४ वटै खेलमा नेपालको तर्फबाट पवन गोल कीपर थिए । चारै म्याच नेपालले हारेको थियो ।

लगत्तै एसियन खेलको तयारीका लागि नेपालबाट १६ जनाको टोली २०४४ सालमा नै फेरि रुस पुगे । ८० दिन जतिको प्रशिक्षणपछि नेपाली टोली मैत्रीपूर्ण खेल खेल्नका लागि रुसबाटै फिनल्याण्ड पुगेको थियो ।

फिनल्याण्डको राजधानी हेलसिन्कीमा ४ वटा मैत्रीपूर्ण म्याच खेलेर १२ दिनपछि नेपाली टोली रुसको मस्को फर्किएको थियो । त्यो मैत्रीपूर्ण म्याच एसियन गेमको अभ्यासका लागि खेलिएको थियो । मस्कोमा फेरि ८ दिन जति अभ्यास गरेर नेपाली टोली जोर्डनको राजधानी अमान पुगे । एसियन ह्यान्ड बल च्याम्पियनशिपको उद्घाटन खेलमा नै नेपालको सामना आयोजक जोर्डनसँग भयो । 

‘जोर्डनका खेलाडीहरू शारीरिक रुपले, प्राविधिक रुपले, उचाइमा पनि नेपाली टोलीभन्दा निकै अब्बल थिए,’ पवन सम्झिन्छन्, ‘नेपालको कोच तेजबहादुर गुरुङ (जो हाल ह्यान्ड बल संघ नेपालका अध्यक्ष पनि हुन्) ले जोर्डनबाट कम्तिमा पनि हाम्रो टोलीले ३५ गोल त खान्छ नै भन्नुभयो ।’ किनभने रसियन कोचले आफ्नो गोल कीपर उत्कृष्ठ भएकाले जोर्डनले गोल नखाने र नेपाललाई गोलको वर्षा गरिदिने सामर्थ्य रहेको बयान दिएका थिए ।

जोर्डनसँग नेपालको खेल शुरू भयो । नेपालको गोल कीपर पवनले धेरै गोल रोक्न सफल भए । जोर्डनको प्रहारलाई उनले रोकिरहेका थिए । हाफ टाईमसम्म नेपाल र जोर्डन १०/१० गोल गरेर बराबरीको अवस्थामा थियो । खेल चलिरहँदा नै नेपालका गोल कीपर पवन घाइते भए र पछि १४/२४ को स्कोरमा नेपालको टीमले पराजय भोग्नुपरेको थियो । ‘नेपालले खेल हारेपनि नेपालका कोच टीमको प्रदर्शनबाट निकै खुशी भएका थिए,’ पवनले भने, ‘कतारसँगको दोस्रो खेल पनि हामीले हार्‍यौं ।’ नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर आफ्नो खेल खेलेर लाखौं नेपालीको समेत मन जित्न त्यतिबेला सफल भएको उनले स्मरण गरे ।

२०४५ सालमा नेपालको टोली हङकङ गएर खेल्यो । त्यसमा पनि पवन सहभागी भए । २०४६ सालमा नेपालमा बहुदलको घोषणा भएको भोलिपल्टै नेपालको टोली रुस गएर खेल्यो । २०५३ सालमा भारतको राजस्थानको जयपुरमा भएको साउथ एसियन गेम खेलेर उनले खेलबाट अवकाश लिएका थिए । उनीसँगै अन्तर्राष्ट्रिय खेलमा अवकाश प्राप्त नेपाल प्रहरीका डीआईजी रमेश खरेलले पनि धेरै प्रतियोगितासँगै खेलेको उनी बताउँछन् ।

खेल्दा नाम र दाम दुवै 

पवन ह्याण्डबल खेलाडी भएकै कारण उनले नेपाल सरकारको स्वामित्वमा त्यतिबेला सञ्चालनमा रहेको जनकपुर चुरोट कारखानामा जागिर पाएका थिए । कारखानाको टोलीबाट उनी खेल्थे । शुरूमा उनलाई दैनिक ज्यालादारीमा राखिएको थियो । कारखानामा काम भने गर्नु पर्दैन्थ्यो । खेल खेल्नु नै उनको काम हुन्थ्यो ।

२०४२ सालतिर वीरगञ्जमा भएको प्रतियोगितामा पवनले आफ्नो पोलबाट सिधै बल फालेर गोल गरेका थिए । समाचार पत्रिकामा छापिएपछि खुशी हुँदै कारखानाका महाप्रबन्धक देबेन्द्रबहादुर शाहले उनको ज्यालामा ३ रुपैयाँ वृद्धि गरेर १० रुपैयाँ ४० पैसाबाट १३ रुपैयाँ ४० पैसासम्म गरिदिएका थिए ।

२०४१ सालदेखि २०७० सालसम्म उनले कारखानामा जागिर पाए । कारखाना बन्द भएपछि उनी बेरोजगार भएका छन् । उनले विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँदा विदेशमा प्रत्येक दिन ५ डलर पकेट खर्चवापत पाउने गर्थे । खेल खेल्ने खेलाडीलाई ५ डलर दैनिक दिने गरिन्थ्यो तर टीम म्यानेजरलाई ९० डलर र टीम लिडरलाई १ सय २५ डलर अमेरिकन डलर प्रतिदिन भत्ता दिने गरिन्थ्यो । त्यतिबेला पनि खेलाडीसँग ठूलै भेदभाव हुने गरेको उनले बताए ।

कारखाना बन्द भएपछि सिद्धियो खेल

जनकपुर चुरोट कारखाना सञ्चालनमा हुँदासम्म जनकपुरमा हरेक क्षेत्रको खेलकुदको राम्रै माहौल थियो । हरेक विधाका खेलाडीलाई कारखानामा जागिर थियो । त्यसैले पनि खेलकुदको गतिविधि हुने गर्थ्यो । बिहान बेलुका ह्यान्ड बलका खेलाडी २–२ घण्टा दैनिक अभ्यास गर्थे । नियमित रुपमा प्रतियोगिता पनि हुने गर्थे ।

क्षेत्रीय, राष्ट्रिय प्रतियोगिता हुने गर्दा खेलाडीले खेल्ने मौका पाउँथे । राष्ट्रिय टीममा पर्थे । ह्यान्ड बलमा नै जनकपुरबाट अरुणलाल कर्ण, श्यामनारायण सिंह, नरेन्द्र कर्माचार्य, ईश्वर श्रेष्ठ, प्रकाश ठाकुर, रबिन धडेलजस्ता खेलाडी अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेका छन् ।

त्यतिबेला खेलकुदको माहौल थियो तर अहिले हेर्ने हो भने ह्यान्ड बलको लागि विगत १८ वर्षदेखि आधिकारिक प्रशिक्षक पनि छैन । प्रतियोगिता, अभ्यास र प्रशिक्षकको अभावमा जनकपुरबाट ह्यान्ड बल लोप हुन लागेको उनले बताए ।

जिल्ला खेलकुद विकास संघले ध्यान दिए फेरि पनि ह्यान्ड बलमा पुनर्जागरण गर्न सकिने उनले बताए । बेरोजगार भएर बसेको बेला उनलाई नै प्रशिक्षक बनाएर मासिक पारिश्रमिक दिन सरकार तयार भए जिम्मेवारी लिन तयार रहेको उनले बताए ।

जेठ ४, २०७६ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस