एक्जिट पोलहरूमा मोदीको विजय : यस्ता छन् जीतका ४ कारण

जेठ ६, २०७६

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहसँगको संयुक्त पत्रकार सम्मेलनको आरम्भिक बयानमा प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावमा आफूहरू विजयी भएको घोषणा गरेका थिए । उनले चुनाव परिणामपछि बहालवाला बहुमतको सरकारले बहुमतकै साथ दोस्रो कार्यकाल जित्ने भारतीय राजनीतिकै दुर्लभ घटना हुने बताए । 

चुनाव सकिएलगत्तै सार्वजनिक भएका एक्जिट पोलले केही संकेतहरू दिएका भए पनि यो दाबीलाई पुष्टि गर्नका लागि बिहीवार हुने मतगणनाकै प्रतीक्षा गर्नुपर्ने हुन्छ । देशको आर्थिक स्थिति, निकै भयावह बेरोजगारी र कृषि क्षेत्रमा समस्याका कारण मोदीका प्रतिद्वन्द्वीहरूले बहालवाला सरकारविरुद्ध जनता आक्रोशित रहेको आँकलन गरिरहेका थिए । तर जनताको यस्तो आक्रोशको खासै प्रमाण पाइएन (एक्जिट पोलमा समेत) । राजनीतिक माहोलको शास्त्रीय, पुरातनवादी ढर्राको विश्लेषण गर्ने बानी परेकाहरूलाई यो अनौठो लाग्न सक्छ । तर देशभरिका चुनावी अभियानको निरीक्षण गर्न व्यापक यात्रा गर्दा चारवटा कुरा स्पष्ट देखिए । भाजपा र नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए) ले कति सीट जित्ला भन्ने त बिहीवार थाहा पाइन्छ तर चारवटा कुराले आर्थिक पीडा र बहालवाला सरकारविरुद्धको माहोललाई निस्तेज बनाएको देखिन्छ । 


ADVERTISEMENT

नयाँ भोट बैंक
नयाँ राष्ट्रव्यापी जातमा आधारित भोट बैंक उदाएको छ । यसमा कथित माथिल्ला जातका मतदाता छन् । सन् १९८९ देखि यिनीहरू भाजपाप्रति बफादार छन् तर उनीहरूबीच एक किसिमको विभाजन थियो । केही ब्राह्मणहरूले पुरानो लगावका कारण कांग्रेसलाई मत दिइरहे । केही ठाकुर नेताहरूले उत्तर प्रदेशमा मत भाजपाको पक्षमा पारे । जन संघ र भाजपाले कथित माथिल्लो जातिका मतदातालाई आफूतिर सधैं नै आकर्षित गर्दै आइरहेको छ तर पार्टीप्रति साँच्चिकै प्रतिबद्ध मतदाता बनियाँहरू हुन् । त्यसैले इन्दिरा गान्धीले जन संघलाई जहिले पनि बनियाँ पार्टी भनिन्, हिन्दू पार्टी कहिल्यै भनिनन् । 

अहिले माथिल्लो जातका सबै मानिस मोदीको पछाडि लागेका छन् । उनीहरू मोदीको भाजपालाई हिन्दूत्व चम्काउने दल मात्र ठान्दैनन् बरू योग्यतालाई कायम राख्ने बल मान्छन् । अल्पसंख्यक र ‘कम योग्य’ जातले आफ्नो मताधिकार शक्तिका कारण आफूलाई तल पार्ने डर उनीहरूमा छ । यो नयाँ भोट बैंक भाजपाविरुद्ध एकढिक्का भएर भोट दिने मुसलमानहरू जत्तिकै एकढिक्का छ । म गएका ठाउँमा भाजपालाई भोट नदिने माथिल्लो जातको मानिस कमै भेटें । यसले गर्दा मोदीलाई मुसलमान र यादव लगायतका अन्य जातहरूको प्रतिकार गर्न सहयोग गर्छ । 

जातीय जनगणना पछिल्लोपटक सन् १९३१ मा गरिएको थियो । तर २२ देखि २५ प्रतिशतसम्म माथिल्लो जातको उपस्थितिले उनीहरू भारतको सबभन्दा ठूलो भोट बैंक बनेका देखाउँछ र त्यो संख्या मुसलमान, दलित वा एकढिक्का रहेका अन्य पिछडिएका समूहभन्दा ठूलो छ । 

आर्थिक व्यवस्थापन
चुनावी अभियान सकिएपछि भाजपाले गरेको पत्रकार सम्मेलनमा शाहले सरकार आफ्ना योजनाको अन्तिम कार्यान्वयनमा लागेको बताए । उनी सही छन् । हामीहरूले शौचालय, खाना पकाउने ग्यासको कनेक्सन (उज्ज्वला योजना), घर (प्रधानमन्त्री आवास योजना), मुद्रा र ग्रामीण विद्युतीकरण योजनाले लक्षित वर्गलाई फाइदा नै पुर्‍याएको पायौं । 

हुन त त्यो पर्फेक्ट छैन । शौचालयमा प्रायः पानी हुँदैन, खाना पकाउने ग्यास पाएकाहरूले सिलिन्डर भर्न सकिरहेका छैनन् र मुद्रा ऋणले रोजगारी पैदा गरेको छैन । तर देशभरि हेर्दा यी योजना जनतामाझ पुगेको चाहिँ देखिन्छ । 

अनि किसानहरूलाई प्रत्यक्ष फाइदा हुने गरी दिइएको सब्सिडीको पहिलो किश्ता पनि पुगिसकेको छ । वास्तविक गरीब र दुर्गम क्षेत्रका मानिसका लागि यो ठूलो परिवर्तन हो । उनीहरूले कुनै घूस नखुवाइकनै यी योजनाको फाइदा उठाउन पाएका छन् । 

यी योजनाहरूले धेरै मानिसहरूलाई फाइदा गराएकोले उनीहरूले भाजपालाई भोट नदिने कुरै हुँदैन । उनीहरू कुल गार्हस्थ्य उत्पादन बुझ्दा पनि बुझ्दैनन् अनि त्यो बढिरहेको छ कि घटिरहेको छ भन्ने पनि वास्ता गर्दैनन् । उनीहरू व्यवस्थित रोजगारी बजारको अंग बनिसकेका छैनन् किनकि अति नै गरीब छन् । सरकारबाट लगालग केही न केही फाइदा पाउनु उनीहरूका लागि ठूलो कुरा हो ।

अघिल्लो सरकारका योजनाको निरन्तरता
मोदी सरकारले अघिल्लो कांग्रेस सरकारको तुलनामा भौतिक निर्माणमा निकै राम्रो काम गरेको छ : राजमार्ग, बन्दरगाह, मेट्रो रेल, पुल तथा अन्य शहरी निर्माण उसको कार्यकालमा बढेका छन् । कांग्रेसले आफ्नो पहिलो कार्यकालमा यी योजनाहरूको परिकल्पना गरेको, योजना तर्जुमा गरेको र आरम्भ पनि गरेको भन्न पाउँछ । तर उसले यी योजनाहरूलाई किन बीचैमा छोडेको वा त्यसलाई पूर्णतया त्यागेको भन्ने प्रश्नको जवाफ दिनुपर्छ । 

सबभन्दा स्पष्ट देखिने उदाहरण मुम्बईका ठूला भौतिक निर्माण योजना हुन् । उत्तर–दक्षिण मेट्रो, बन्दरगाहहरू जोड्ने सञ्जाल, नवी मुम्बई विमानस्थल र तटीय सडक सबै यूपीए सरकारका योजना हुन् । तर ती सबैलाई पछि गएर रोकियो । अनि देशभरिका ठूला ऐतिहासिक पुलहरूका काम पनि रोकिए । भाजपाले चाहिँ सबै बाधा अवरोध हटायो र परियोजनाहरूलाई अघि बढायो । त्यसैले उसलाई अहिले फाइदा दिइरहेको छ । 

युवा मतदातामा मोदीभक्ति
सन् १९९७ देखि २००१ सम्म जन्मेका व्यक्तिले लोकसभा चुनावमा यसपालि पहिलोपटक मत दिए । धनी, गरीब जे भए पनि उनीहरू डिजिटल नागरिक हुन् । उनीहरूले डिजिटल स्पेसमा एकजना नेता मात्र चिनेका छन्, एउटा मात्र सन्देश सुनेका छन् र गूगल आउनुअघिका सन्दर्भ उनीहरूलाई थाहै छैन । सबभन्दा महत्त्वपूर्ण कुरा त, उनीहरू रोजगारी बजारमा आएकै छैनन् । 

उनीहरू मोदीका अभूतपूर्व समर्थन आधारका रूपमा रहेका छन् । उनीहरू मोदीको घुलमिल हुने स्वभाव, आक्रामकता, विदेशी नेताहरूलाई अँगालो हाल्ने व्यवहार मन पराउँछन् अनि मोदीको लहर आएको विषयलाई पूरै पत्याउँछन् । अर्को महत्त्वपूर्ण कुरा भनेको उनीहरू वंशीय राजनीतिलाई घृणा गर्छन् । सन् २०१४ भन्दा फरक उनीहरू राहुल गान्धीको नाम सुन्दा हाँस्न थाल्दैनन् । तर उनले अहिलेसम्म के गरे अनि उनको कस्तो अनुभव छ भनी सोध्छन् । यो चुनावी अभियानमा हामीले सुनेको सबभन्दा बढी दोहोरिने पंक्ति हो : राहुलले अझै केही समय कडा मेहनत गर्नुपर्छ र थप अनुभव लिनुपर्छ । मोदी आफैं उदाएका हुन् र अनुभवी छन् भने उनको विकल्प किन खोजिरहनुपर्‍यो ? 

मोदीप्रति बफादार यस समूहलाई भक्त नभनौं होला । तर मोदीप्रतिको भक्ति यस समूहमा निकै कडा देखिन्छ । यो भक्तिले जात र जातिको बफादारितालाई समेत नाघेको छ । तर उत्तर प्रदेशमा यो भक्ति मुसलमान, यादव र जाटवहरूको हकमा लागू हुँदैन । 

हुन त एक्जिट पोलकै आधारमा अन्तिम विश्लेषण गर्नु आफैंमा खतरनाक कुरा हो । संसारका सर्वोत्कृष्ट मतदान विशेषज्ञहरू पनि घरिघरि असफल भएका प्रशस्तै उदाहरण छन् । अमेरिकामा ट्रम्पको जीत, ब्रेक्जिट अनि अहिले आएर अस्ट्रेलियाको चुनावमा सत्तारूढ दलको जीतले ठूला भविष्यवाणी पनि फेल खुवाइदिए । तर एक्जिट पोल मिल्यो अनि मोदीले फेरि सरकार बनाए भने चाहिँ मैले माथि उल्लेख गरेका चारवटा फ्याक्टर निर्णायक ठहरिन्छन् ।

हिन्दुस्तान टाइमसमा प्रकाशित शेखर गुप्ताको विश्लेषण 
 

जेठ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस