‘भूतबङ्गला’ बन्यो परोपकारी घर : बेसहारालाई स्याहार्दै कल्पना

जेठ २५, २०७६

धनगढी – परिवारबाट बिछोडिएर सडक पेटीमा रहेका, बेवारिसे महिलालाई आश्रय दिन थालेपछि परिचर्चामा रहेको नाम हो कल्पना भट्ट र उनको संस्था दृष्टि फाउन्डेसन ।

सडक मानवरहित समाज बनाउने अभियानमा जुटेकी उनै भट्टको परोपकारी कर्मबारे बुझ्न धनगढी उपमहानगरपालिका–७ छात्राबास टोलस्थित २ तले घरमा पुगियो । घरको च्यानल गेटभित्र कारागारको बन्दीगृहको झल्को दिनेझै अनुशासित र व्यवस्थित परिदृष्य । महिलामैत्री लेखिएको भित्ता, आफ्नै शिष्टाचार सहितको नीति नियम ... ... ।


ADVERTISEMENT

शोफामा बस्ने अनुमति दिँदै भट्टले प्रश्न तेस्र्याइन्, ‘तपाईलाई यो घरको हिस्ट्री (इतिहास) थाहा छ ?’ ‘छैन’ जवाफ पाएपछि उनले पुनः प्रश्न तेस्र्याइन्, ‘पत्रकारलाई त यो घरको बारेमा थाहा हुनुपर्ने ?

उनले रहश्योद्घाटन गर्दै भनिन्, ‘यो घर त्यही घर हो, २ वर्ष अगाडि ठूलै घटना भएको थियो । २ वृद्ध दम्पतीलाई धारिलो हतियारले काटेर विभत्स हत्या गरियो । त्यसयता घर भूतबङ्गलामा परिणत थियो ।’
२०७४ जेठ ७ गते राति घरका ७२ वर्षीय बद्रीप्रसाद जोशी र उनकी ६५ वर्षीया पत्नी कुन्तादेवी जोशीको निर्मम हत्या भएको थियो ।

डर लाग्दैन भन्ने जिज्ञासामा उनले निडरता प्रस्तुत गरिन् । ‘के को डर हुनु ? यहाँ त भूतभन्दा समाजका महाभूतहरू छन् त !’ 

घटनापछि घर भूतबङ्गलाको बिम्बमा परिणत भएको थियो । वरिपरि झाँडी उम्रिए तर हाल सो घरको स्वरुप पुरानै अवस्थामा फर्किएको छ । अहिले परोकारी घर बनेको छ त्यो ।

घरबाट समाजमा परोपकारी कर्मको सञ्चार गरिरहेको छ । जो कोही जान डराउने घरमा निकै चहलपहल बढेको छ । आपतकालीन सुरक्षित घरको नामले परिचित हुन थालेको छ त्यो ।

दृष्टि फाउन्डेसनमा पाइला

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–६ दमडा घर भएकी भट्टको नेतृत्वमा ११ जनाले फाउन्डेसन सञ्चालनमा ल्याएका हुन् । जनही १०/१० हजार उठाएको रकमले १ वर्षदेखि फाउन्डेसन सञ्चालनमा आएको हो । सडक मानवरहित समाज बनाउने परिकल्पनाका साथ अभियानकर्मी लागेका छन् ।

फाउन्डेसनको अध्यक्ष समेत रहेकी भट्टले अभियानबारे प्रकाश पार्दै भनिन्, ‘हाम्रो गाउँ शहरको गल्लीमा बेवारिसे अनगिन्ती सडक मानव छन् । हामी घर परिवारमा बस्नेको दुःखको अगाडि उहाँहरूको पीडा केही पनि होइन । एउटी महिला मानसिक सन्तुलन गुमाएर घरबाट निस्किसकेपछि उसको घर परिवार कोही हुन्न । रोगी हुन्छ । बेसहारा हुन्छ । उ समाजको नरपिपासुहरूबाट पटक–पटक बलात्कृत हुन्छ । अस्मिता पलपलमा लुटिएको हुन्छ । उहाँहरूको लागि धेरै गर्न नसकिएपनि कम्तिमा पनि सानो छानोभित्र मिठो निन्द्रा । एक गाँस खाना र अस्मिता लुटिनबाट जोगाउनका लागि पनि लागेका छौं ।’

फाउन्डेसनकी अध्यक्ष भट्टले शुरूवाती अवस्थाबारे बताउँदै भनिन्, ‘पहिलो दिन ८ जनालाई विभिन्न स्थानबाट रेस्क्यू गर्‍यौ । एउटा घरमा रेस्क्यू गरेर राख्यौं । अनि टोल–टोलमा माग्न गयौं । १ कट्टा चामल, ५ किलो पिठो, ७ जोडी कपडा मागेर कामको शुरूवात गरेका हौं ।’

हाल फाउन्डेसनमा १ जना नाबालिकासहित २३ जना मानसिक तथा बेसहारा महिला छन् । हालै डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–६ जोगबुढाबाट आमासहित डेढ वर्षको बच्चालाई उद्धार गरी ल्याएइको छ । सडकमै जन्मेको बच्चा रहेको बताउँदै फाउन्डेसनकी अध्यक्ष भट्टले बच्चाकी आमा बलात्कृत भई गर्भधारण भएको हुन सक्ने बताइन् ।

फाउन्डेसनले उद्धार गरेकामध्ये १४ जना औषधोपचारसँगै मनोपरामर्शकर्ताको मनोपरामर्शबाट सुधार भई घर फर्केका छन् । फाउन्डेसनले उद्धारपछि सुधार भएका धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका जनक चौधरी घरायसी जीवनमा फर्किएका छन् । ५ वर्ष सडकमा रहेका उनी ७ महिना फाउन्डेसनमा बसेका थिए ।

तुलसी नगरपालिका–६ दाङकी गौथली विक पनि घर फर्केर स्थानीय नगरपालिकाको १० हजार आर्थिक सहयोगबाट मकै पोल्ने व्यवसाय थालेको जनाइएको छ । उनले ३ वर्ष सडकमै बिताइन् । भट्टले भनिन्, ‘७ वर्ष सडकमै गुजारेकी घोडाघोडी नगरपालिका–५ कैलालीकी सुन्तली बिष्ट पनि घर फर्केर बाख्रापालन व्यवसायमा लागेकी छिन् ।’

बेवारिसे महिलाको उद्धारपछि फाउन्डेसनले उनीहरूको औषधोपचारको व्यवस्था गर्दै आएको छ । तत्पश्चात मनोविमर्शकर्ताको परामर्शपछि घर परिवारसँग पुनर्मिलनको वातावरण समेत फाउन्डेसनले मिलाउँदै आएको जनाएको छ ।

औषधोपचारको व्यवस्था शुरूवाती चरणमा सेती अञ्चल अस्पतालबाट भएपनि अस्पतालले अनावश्यक अल्झ्याउने, ढिलासुस्ती गर्न थालेपछि हाल धनगढीस्थित कैलाली अस्पतालसँगको सहकार्यमा निःशुल्क औषधोपचार हुँदै आएको फाउन्डेसनले जनाएको छ ।

'दागबत्ती दिएँ'

फाउन्डेसनको आश्रयमा पुगेकी एक जना महिलाको दागबन्दी फाउन्डेसनकै महिला अभियानकर्मीले नै दिएका छन् । समयमा उपचार नपाएपछि मृत्यु भएकी उनको दागबत्ती आफूले नै दिएको फाउन्डेसनकी अध्यक्ष भट्टले बताइन् ।

उनले भनिन्, ‘१ जना दिदी २१ दिनसम्म सेती अञ्चल अस्पतालको गेटमा बिरामी भइ पल्टिनुभएको थियो । उहाँ क्यान्सरलगायत विभिन्न रोगबाट ग्रसित भएर बिरामी हुनुन्थ्यो । पछि हामीले सेल्टरमा ल्याइसकेपछि मृत्यु भयो । हामी आफैले उहाँको दागबत्ती दियौैं ।’

मुठी दान अभियान

निश्चित आर्थिक स्रोत केही नभएको बताउने उनी मागेर नै फाउन्डेसनको व्यवस्थापन गर्दै आएको अनुभव सुनाइन् । आर्थिक संकलनको क्रममा उनले आफ्ना ३ जना सहयोगीसहित संस्थाको उद्देश्यबारे विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । कार्यक्रपछि प्राप्त हुने दान र मुठी दानबाट नै अभियानलाई अगाडि बढाउँदै आएको उनले सुनाइन् ।

पछिल्लो समय उनी विद्यालय केन्द्रीत कार्यक्रम गर्दै आएकी छिन् । विद्यार्थीले आफ्नो खाजा रकमबाट केही कटौती गरी दिएको रकमबाट अभियान सञ्चालन गर्दै आएको अध्यक्ष भट्ट सुनाउँछिन् । जन्मदिन, विवाह उत्सवका अवसरमा दिइने उपहार स्वरुपका रकम तथा विभिन्न सामग्री पनि उनको लागि सहयोग स्रोत हो ।

‘आमा रिसाउनुभयो’

‘खान पुगोस्, दिन पुगोस्’ भाव सहितको भट्टको परोपकारी कर्मलाई उनका परिवारले पटक्कै चाहेका छैनन् । घरकी जेठी त्यो पनि पढे–लेखेकी छोरीले राम्रो जागिर र घरजम गर्न छाडेर उमेर घर्किन लागेपनि माग्ने काम गरेको भन्दै परिवार नै रिसाएको उनले सुनाइन् । 

भावुक हुँदै उनले भनिन्, ‘हेर्नु न, जो कोही अभिभावकको सन्तानलाई उच्च शिक्षा हासिल गराइसकेपछि राम्रो जागिर गरुन्, समयमै घरजम गरुन्, आवश्यकता परिपूर्ति गरुन् भन्ने आमचाहना रहन्छ नै तर उहाँहरूको रुची र मेरो रुची नमिलेपछि आमा १ वर्षदेखि रिसाउनुभएको छ ।’

फाउन्डेसनको पूरै व्यवस्थापनको जिम्मेवारी समेत लिएकी उनी समाजशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छिन् भने मनोविमर्श सम्बन्धी १ वर्षे अध्ययन समेत पूरा गरेकी छिन् ।

परिवारको चाहना र आफ्नो चाहना नमिलेपनि उनी आफ्नो उद्देश्यमा अडिग रहेको सुनाउँछिन् । व्यक्तिगत घर बनाउने सपना नदेखेको बताउने उनी त्यही फाउन्डेसनलाई आफ्नो घर र अभियान बनाएकी छिन् भने उद्धार भई आउनेलाई परिवारको सदस्यको रुपमा स्वीकारेको दावी गर्छिन् ।

जेठ २५, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार