गोडाविहीन नाकको शिखर–यात्रा, जग हसाउने गाईजात्रा !

असार २, २०७६

निर्मला परमसुन्दरी युवती हुन् । कम्ब्याट ड्रेसमा सजिएकी तिनी रूप र लावण्यले धपक्कै बलेकी छिन् । समाजमा नाक राख्ने धून थियो । संसारैभरिको होचो–अर्घेलो मिलाउने जोशले तिनी माओवादी पार्टीमा बन्दुक समाउन पुगेकी थिइन् । पार्टी शान्ति प्रकृयामा आएपछि तिनी बेरोजगार भइन् । बेस्सरी बिरामी परिन् । श्रीमानले त्यागे । कान्छी लिएर भागे । निर्मला विक्षिप्त भइन् । अगेनामा परेर दुवै खुट्टा डडे ।

उपचारको अभावमा कुँजिएर गनाइरहेकी छिन् । निर्मला विकको त्यो दुर्गन्धलाई डा. बाबुराम भट्टराईको वैचारिकी मान्न सकिन्छ । बरू निर्मलाले फूलको जीवन बाँचिन् । समयक्रममा ओइलाइन् । उनलाई क्रान्तिमा होम्ने डा. बाबुराम भट्टराई घाटघाटको पानी खाँदै भौंतारिइरहेका छन् । उनको  गोडाविहीन (दर्शनशून्य) यात्रा, नाक रगडेर शिखर पुग्ने मेयरको रहर जस्तै हो ।


ADVERTISEMENT

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको मुद्दा सरकारले १८ लाखमा टुङ्ग्यायो । शुरूमा तातो रगतका थोरै मान्छेहरूले हत्यारोलाई कारवाहीको माग गरेर सशक्त आन्दोलन चर्काए । सरकारले अनेक जाल रचेर आन्दोलनलाई दबाउँदै गयो । आखिर त्यही भयो जे न्यायकाविरुद्ध हुने गर्छ । नमिता–सुनिताका बाबाहरू धनाढ्य थिए । उच्च सामाजिक मर्यादा र सरकारी ओहोदामा थिए । सत्ताका अगाडि उनीहरूको त केही लागेन । कान्छी ल्याएर जेठी हेप्ने निर्मलाका बाबु सत्तासँग नझुक्ने कुरै थिएन, झुके । बाबा रुन्छन् वर्ष दिन, आमा जुगैभरि नि हजुर ! निर्मलाका आमाहरू जुगजुगभरि रोइरहन्छन् । भन्न त जनगायकहरू उहिल्यैदेखि भन्थे, ‘धुरु–धुरु नरोऊ आमा, तिम्रो आँसु पुछेरै छाडुँला !’ व्यवहारमा माथिल्लो तहका कसैले पनि आमाको आँसु पुछ्ने नैतिकतालाई अङ्गालेनन् ।

नैतिकता– यहीँ बज्रपात हुन्छ । के हो नैतिकता ? अनेक प्रश्न उठ्छन् । उत्तर आ–आफ्नै ढङ्गका हुन्छन् । धर्मचेत अनुसार गुरु द्रोणलाई एकलब्यले औँलो चढाउनु नैतिकता थियो । क्रान्तिचेत अनुसार दरबारिया कुकुर बुद्धिका द्रोणलाई लघार्नु नैतिकता हो । कवि रविलाल अधिकारीको काव्य ‘एकलब्य’ मा यसो भनिएको छ–

‘ए चण्डाल ! रचेर चाल ननिको मेरो मीठो जिन्दगी 
पार्ने सारविहीन ध्येय मनमा राखेर आइस् हगि ? 
मैले घात यहाँ धनुर्धर भई के के गरेको छु र, 
काटी यो अँगुठो चढाउन पर्‍यो दरबारिया कुक्कुर ?’ 

टनकपुर सन्धिपछि तत्कालीन प्रधानमन्त्रीको पदबाट गिरिजाप्रसाद कोइरालाको राजीनामा माग्नु एकता केन्द्रका महामन्त्री कमरेड प्रचण्डको नैतिकता थियो । ०४९ पुस ४ गते प्रचण्डले विज्ञप्ती निकाले–‘गिरीजाप्रसाद कोइरालाले अहिलेसम्म पद त्याग नगर्नु सामान्य राजनीतिक नैतिकताको पराकाष्ठा हो ।’ पछि १२ बुँदेपछि गिरिजाप्रसाद कोइरालाई आफ्नो दाजु वा पितातुल्य मान्नु क. प्रचण्डको नैतिकता थियो । गिरिजाले गणतन्त्रसम्मको यात्रामा दृड सामेली जनाएका थिए । ‘हामीले खोजेको, नेपाली जनताले चाहेको राजसंस्था हो (०७६/२/२७) ।’ आदित्यमान श्रेष्ठको नैतिकता यस्तो हो । गणतन्त्रलाई सबल बनाउनु प्रदीप गिरीको नैतिकता हो । प्रदीप गिरी लेख्छन्, ‘नेपालमा गणतन्त्र एउटा खास परिस्थितिमा ठूलो सङ्घर्षबाट आएको छ । यो सामान्य गणतन्त्र होइन । यसले क्रान्तिकारी गणतन्त्रको भावनालाई टेकेर वा बोकेर आएको छ । यो हाम्रो गणतन्त्रको मौलिक विशेषता हो । अब हामीले यसैभित्र नयाँ सँरचनाको परिकल्पना गर्नुछ । त्यो हामीले मिलेर गर्ने हो (ऐ ) ।’

मिलेर गर्नेमा नेकपाका अध्यक्ष क. प्रचण्डको ध्येय पत्यारिलो पाइन्छ । वैद्य, बाबुराम, विप्लवहरू टाडिए पनि क. प्रचण्डले ‘द ब्रुक’ कवितालाई व्यापकतामा सम्झाइरहेका छन् । ‘मान्छे आउँछन् र जान्छन्, तर म निरन्तर गइरहन्छु !’ प्रचण्ड आप््mनै गतिमा बगिरहेका छन् । संघीय गणतन्त्रको संविधान निर्माणका लागि माधव नेपाल,  बाबुराम भट्टराई, झलनाथ खनाल, खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली आदिलाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराउँदा क. प्रचण्डको अनुहारमा कहिल्यै विषाद देखिएन । अहिले केको कचिङ्गल ? त्यो खुट्याइनु पर्छ । केपीविरुद्ध पीकेले कचिङ्गल शुरू गरेको अर्थ लगाउनेहरू पनि छन् । यसैले राजनीतिक कचिङ्गलको ऐतिहासिकता खोतल्दै संश्लेषण गरिनु उचित हुन्छ । डा. केआइसिंह र गोपाल शमशेर, वीपी र मातृकाका कचिङ्गल स्मरणीय छन् । पछि, गिरिजाप्रसाद कोइरालाले गणेशमान र कृष्णप्रसाद भट्टराईविरुद्ध गरेका अनेक जालझेल र षडयन्त्रका खेल आलो घटना हुन् । वैद्य बाले पनि जनताका घरवारभन्दा बादलमाथिको दरवारमा बढी जोड दिएका हुन् । हातको बत्ती निभाएर अहिले आगो खोज्दैछन् । फेरि बन्दुक बोक्ने भन्दैछन् ।

‘प्रकृतिप्रदत्त जाडो र शत्रुप्रदत्त तातो गोलीको परवाह नगरी डा. केआईसिंहले उठाएको जायज माग र गोपाल शमशेरद्वारा उठाइएको कचिङ्गल दुवैलाई नेपाली काङ्ग्रेसका हाइकमानले एकै स्तरमा राखी सुल्झाउने प्रयत्न गरेका थिए ।’....‘पार्टीको सभापति पदमा आसिन व्यक्ति नै प्रधानमन्त्री हुन सक्दछ भन्ने भावनाले प्रेरित भई दुवै भाइ (मातृका र वीपी) बीच होड चल्यो । फलतः यसै समयदेखि नेपाली कांग्रेस दुई खेमामा विभाजित भयो ।’ (‘नेपालको ऐतिहासिक रूपरेखा’ पृष्ठ ४४९/४५०)

ती नाक जोगाउने र नाक रगड्ने खेलहरू थिए । यही खेलमा आजका नेकपाका अध्यक्षद्वय भिड्दैछन् । उनीहरूलाई भिडाइँदैछ । ईश्वर पोख्रेल भन्छन्, ‘जो पार्टी अध्यक्ष, उही प्रधानमन्त्री !’ घरदेश वा परदेश (बेलायत) जहीँतहीँ प्रधानमन्त्री केपी ओली पद नछोड्ने अड्डी लिँदैछन् । भाँड मतिका बुद्धिजीवीहरू प्रचण्डको प्रमाणसहितको जायज माग र प्रधानमन्त्री केपी ओलीको कचिङ्गललाई एकै स्तरमा राखेर ‘बहस’ गर्दैछन् । रक्षा मन्त्रीको तर्क र इटहरिका मेयरको सिद्धान्त उस्तै–उस्तै हो । यसरी नाक टेकेर यात्रा थाल्नु र कान समातेर माफी माग्नु एउटै कुरा हो । पहिलोले जनयुद्धको मर्म बिर्साउँछ । दोस्रोले कम्युनिस्ट अनुशासनलाई त्याज्य ठान्दछ । गोडाविहीन नाकको यात्रा जग हँसाउने गाईजात्रा हो । हरिबोल गजुरेल सही भन्छन्, ‘प्रचण्ड फकाउँदा मान्छन्, धम्काउँदा छाड्दैनन् ।’ सहमतिका दस्तावेज अनुसार फकाउने र फकिने मैत्रीपूर्ण मन्त्र हो । सहमति भाँडेर शिखर चढिँदैन, फेदीतिरै गुल्टिइन्छ ।

असार २, २०७६ मा प्रकाशित

मदन भण्डारी

वामपन्थी विचारक भण्डारी पोखरामा रहेर समसामयिक विषयमा लेख्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार