×

NMB BANK
NIC ASIA

राजनीतिको आडमा अत्याचार

नेकपाका ‘डोजर डन’ सांसदको दादागिरी : आफू लाखौं कमाउने, जनतालाई रुवाउने !

असार १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–१८ महुवा गाउँका किसान किशोरी ठाकुरले ३ वर्षदेखि खेतमा कुनै खेती गर्न पाएका छैनन् । जनकपुरदेखि तिनकौरियासम्म हुलाकी सडक बनाउने क्रममा ठेकदारले बलजफ्ती डोजर चलाएर उनको खेतको माटो खनेर सडकमा प्रयोग गरे ।

Sagarmatha Cement
Muktinath Bank

खेतको माटो खन्न लागेको देखेपछि  ठाकुरले रोक्न खोजे तर उनलाई ठेकेदारले उल्टै धम्क्याए – विकास निर्माणमा अवरोध गरेको भन्दै कारवाही गराइदिन्छु । नियमकानून धेरै नजानेका ठाकुरले प्रतिवाद गर्न सकेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विकास निर्माणको काममा विरोध गरेर डोजरलाई रोके प्रतिघण्टा २ हजार रुपैयाँका दरले डोजरको हर्जाना तिर्नुपर्छ भनेर ठेकेदारले उल्टै धम्क्याए,’ पीडित किसान ठाकुरले भने । उनको खेतको १५ धुर क्षेत्रबाट माटो खनियो, जसबाट खेतमा ठूलो खाडल भएको छ । ‘अब त्यहाँ कुनै खेती नै गर्न सकिएको छैन,’ उनले भने । जमिनलाई खेतीयोग्य बनाउन माटो भराउनुपर्ने र ५० हजार रुपैयाँ लाग्ने भएपछि खेतीपाती गर्न नसकिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

डोजरलाई जथाभावी चलाउने ‘डन’को दादागिरीका कारण जनकपुर उपमहानगर–१८ महुवाकै किसान सियासरण मण्डल पनि पीडित छन् । खेतमा ७ फिटसम्म गहिरो खाडल खनेर माटो निकाल्दै ठेकेदारले सडकमा प्रयोग गरे । खेत नखन्न आग्रह गर्दा उनलाई पनि धम्क्याइयो । विगत ३ वर्षदेखि उनले खेती गर्न पाएका छैनन् ।

Vianet communication
Laxmi Bank

धनुषाको औरही गाउँपालिका–२ देउरीका किसान बथबु यादवको खेतमा ६ फिट गहिरो खाडल खनेर ठेकेदारले सडकमा माटो प्रयोग गरेका छन् । देउरी परबाहाका किसान भोगेन्द्र यादवको खेतमा पनि ठूलै क्षति भएको छ । खेतमा खनिएको खाडलका कारण उनको खेत अब खोलामा नै परिणत भएको छ । उनको खेत नजिकै रहेको खोलाले धार नै परिवर्तन गरेर खेतमै खोला पुगेको छ । ‘ठेकेदारको दादागिरीका कारण मेरो खेत नै खोला भएको छ,’ यादवले भने, ‘५ कठ्ठाभन्दा बढी खेत अब खोला बनेको छ ।’ ५० लाखभन्दा पनि बढीको क्षति भएको उनले अनुमान गरेका छन् ।

सडक निर्माण गर्दा आवश्यक पर्ने कच्चापदार्थको बन्दोबस्त आफैं गर्नुपर्ने भएपनि ठेकेदारले नजिकैका किसानको खेतमा डोजर चलाउँदा धेरै किसान पीडित बनेका छन् । जग्गाको छेउमै सडक बन्ने खबरले खुशी भएका स्थानीयहरू ठेकेदारको दादागिरीबाट सडक बनेपछि हैरान भएका छन् । धनुषाको जनकपुरदेखि कमला पुलसम्म ३० किलोमिटर ७ सय मिटरसम्म बनिरहेको सडकमा हजारौं किसानको खेतबाट माटो काटेर सडकमा राखिएको छ । यसरी काम गर्दा एकातिर जमिनमा क्षति पुगेको छ भने अर्काेतिर सडकको दुवैछेउ खोला बनेको छ ।

सडकको काम प्रदेशसभा सदस्य किशोरी साहले पेट्टी ठेक्का लिएर गरिरहेका छन् । उनी नेकपाका प्रदेशसभा सदस्य हुन् । जनप्रतिनिधि नै ठेकदार भएकाले केही पनि गर्न नसकिएको धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले बताए । ‘पटक–पटक हुलाकी सडकको कार्यालयमा गएर इन्जिनीयरलाई भनेको छु, सदनमै पनि पटक–पटक आवाज उठाएको छु,’ समाजवादी पार्टी नेपालका सांसद अरगरियाले भने, ‘तर ठेकेदार नै नेकपाको प्रदेशसभा सदस्य भएकाले कुनै पनि कारबाही हुन सकेको छैन ।’

सम्झौता विपरीत खेतमा डोजर 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग मातहत हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय जनकपुरले सडक निर्माण गराइरहेको छ । ३ वटा प्याकेजमा खण्डीकरण गरेर सडक निर्माण गर्न ठेक्का लगाइएको छ । जनकपुरधामको कदम चोकदेखि औरही गाउँपालिकाको कपटौलसम्म १२ किलोमिटर सडकलाई पहिलो खण्डमा राखिएको छ । त्यसपछि कपटौलदेखि विदेह नगरपालिकाको तिनकौरिया सडकसम्म १३ किलोमिटर सडकलाई दोस्रो खण्डमा राखिएको छ । तिनकौरियादेखि धनुषाकै कमला नगरपालिकाको लग्मा हुँदै सघारास्थित कमला पुलसम्म ५ किलोमिटर ७ सय मिटर सडकलाई तेस्रो खण्ड अन्तर्गत राखिएको छ ।

पहिलो र दोस्रो खण्डको सडक निर्माणका लागि लामा रमण जेभी निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । २७ करोड ९५ लाख ४३ हजार रुपैयाँमा भ्याटसहित पहिलो प्याकेज अन्तर्गतको सडक निर्माणका लागि २०७३ असार ३१ गते सम्झौता गरिएको थियो । २०७५ फागुन ३ गतेभित्र सडक निर्माण सम्पन्न गर्नुपर्नेमा काम सम्पन्न नहुँदा हुलाकी राजमार्ग निर्देशनालयले पहिलो पटकको लागि २०७६ असार २४ गतेसम्म म्याद थप गरेको छ ।

सडक निर्माण पूरा नभएपनि २०७६ असार १ गतेसम्म ९ करोड ६३ लाख ९६ हजार रुपैयाँ भुक्तानी गरिसकिएको सडक खण्डका साइट इन्चार्ज इन्जिनीयर कमल साहले बताए । इन्जिनीयर साह भन्छन्, ‘सडक खण्डमा औरही गाउँपालिकामा कतिपय मानिसको जग्गाको मुआब्जा र घरको क्षतिपूर्ति दिने कुराको समस्या भएकाले निर्माण काम धेरै अगाडि बढ्न सकेको छैन, तै पनि ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।’

सडक बनाउँदा निर्माण कम्पनीले सडकको सिमानाभन्दा २ किलोमिटर बाहिरबाट माटो ल्याउनुपर्ने सम्झौता गरिएको छ । १ लाख ६ हजार २ सय ९१ घनमिटर माटोका लागि हुलाकी राजमार्ग निर्देशनालयले निर्माण कम्पनीलाई १ करोड ३ लाख ६७ हजार १ सय ७१ रुपैयाँ भ्याटबाहेक भुक्तानी पनि गरिसकेको छ तर निर्माण कम्पनीले बाहिरबाट माटो ल्याउनुको साटो सडकको दुवै छेउबाट किसानका निजी सम्पत्तिको रुपमा रहेको खेतबाट नै निःशुल्क माटो खनेर सडकमा खन्याएका छन् । सम्झौता विपरीत किसानको निजी खेतको माटो खनेर सडकमा प्रयोग गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत २०७३ असार ३१ गते नै २२ करोड ९७ लाख ४५ हजार रुपैयाँ भ्याटसहित सडक निर्माण गर्ने सम्झौता लामा रमन जेभी कम्पनीले गरेको थियो । २०७५ फागुन ३ गते नै म्याद सकिएको ठेक्काको म्याद पनि २०७६ असार २४ गतेसम्म थप गरिएको छ । त्यस खण्डमा ९४ हजार ३ सय ५७ घनमिटर माटोको काम गर्न निर्देशनालयले ९७ लाख ७५ हजार ६ सय ९० रुपैयाँ भ्याटबाहेक निर्माण कम्पनीलाई भुक्तानी गरेको छ तर सम्झौता विपरीत सडककै दुवै छेउका किसानको निजी खेतको माटो काटेर प्रयोग गरिएको छ ।

हुलाकी राजमार्ग कार्यालयका इन्जिनीयर कमल साहका अनुसार सडक खण्डमा १३ किलोमिटरसम्म माटोको काम सम्पन्न भएको छ । ८ किलोमिटर सडकको बेस कार्य, १९ वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ । २ किलोमिटर ६ सय मिटर सडकमा कालोपत्रे पनि सम्पन्न भएको छ । २०७६ सालको जेठ मसान्तसम्म उक्त खण्डअन्तर्गत निर्माण कम्पनीलाई १२ करोड ७१ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
तेस्रो प्याकेज अन्तर्गत तिन्कौरियादेखि कमला पुलसम्म निर्माण गर्नका लागि ढुकुचु कन्स्ट्रक्सन कम्पनी काठमाडौंले २०७४ असार ३० गते सम्झौता गरेको थियो । २०७५ पुस ३० गते सम्झौताको म्याद सकिएपछि पहिलो पटकको लागि २०७६ असोज २८ गतेसम्मका लागि म्याद पनि थपिएको छ ।

१९ करोड १४ लाख ३७ हजार रुपैयाँमा सम्झौता गरिएको सडक निर्माण गर्नका लागि माटोको छुट्टै बजेट छुट्याइएको छ । ४८ हजार ८ सय ९६ घनमिटर माटोको काम गर्नका लागि भ्याटबाहेक १ करोड ३९ लाख ४३ हजार रुपैयाँ निर्माण कम्पनीलाई प्रदान गरिएको छ तरपनि कम्पनीले अलग ठाउँबाट माटो ल्याउनुको साटो सडककै दुवैछेउबाट किसानको निजी जग्गाबाट डोजरले माटो खनेर सडकमा प्रयोग गरेका छन् । हालसम्म कम्पनीले ५ करोड ५२ लाख ९६ हजार रुपैयाँ भुक्तानी पनि पाइसकेको छ ।

हुलाकी राजमार्ग कार्यालयका अनुसार सडकखण्ड अन्तर्गत हालसम्मको प्रगति ५३ प्रतिशत रहेको छ । ३ किलोमिटरसम्म माटोको काम भएको छ, २ किलोमिटर ५ सय मिटरसम्म सडकको सवबेस निर्माण गरिएको छ, २ किलोमिटर कालोपत्रे गरिएको छ, १० वटा कल्भर्ट निर्माण गरिएको छ ।

सांसद नै ठेकेदार 

दुवै खण्डको ठेक्का लामा रमण जेभी कम्पनीले लिएको भएपनि कम्पनीका सञ्चालक बलराम महतोले भाइ किशोरी साहलाई पेट्टी ठेक्का दिएका छन् । प्रदेश सभाको चुनाव हुँदा तत्कालीन नेकपा एमालेबाट टिकट पाएर उनले धनुषाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट चुनाव जितेका थिए । उनले नै दुवै खण्डको निर्माण गरिरहेका छन् ।

प्रदेश सांसद नै ठेकेदार हुँदा पनि सडक नबन्दा स्थानीय स्तरमा जनताले विरोध गर्न थालेपछि उनले आफ्नो नाम ठेक्काको प्रतिनिधिबाट हटाएर आफ्नो मान्छेको नाम राखेका छन् । शुरूमा रामविनोद मण्डललाई प्रतिनिधि बनाएका थिए भने अहिले उनलाई पनि हटाएर महेश्वर साहलाई उनले आफ्नो प्रतिनिधि राखेका छन् ।

ठेकेदारले सडकछेउमै किसानको निजी खेतबाट मनपरी माटो खनेर सडकमा राखेपछि किसानले हुलाकी सडक कार्यालयमा आएर पटक–पटक उजुरी दिएका छन् । गाउँघरमा चक्काजाम गरेर संघर्ष पनि गर्दै आएका छन् तर ठेकेदारले हालसम्म किसानलाई न क्षतिपूर्ति दिएका छन्, न माटो पुर्ने काम गरेका छन् ।

२०७५ माघ २५ गते हुलाकी सडक कार्यालयले ३ वटै खण्डका ठेकेदारलाई पत्र नै लेखेर खनिएको खाल्डो पुर्न निर्देशन दिएको थियो । त्यसपछि २०७६ वैशाख २९ गते र २०७६ जेठ २० गते पत्र लेखेर पुनः ताकेता गर्दै खाल्डोमा माटो पुर्न निर्देशन दिएको छ तर ठेकेदारले ती पत्रको बेवास्ता गर्दै आएका छन् । सरकार चलाउने शक्तिशाली सरकारका सांसद भएको दम्भ ठेकेदारमा देखिएको हो कि ?

हुलाकी राजमार्ग कार्यालयका साइट इन्चार्ज इन्जिनीयर कमल साहका अनुसार ठेकेदारले १ पटक पत्रको जवाफ दिँदै खाल्डो आफूले नखनेको जवाफ दिएका छन् । ‘साविकमा नेकपा एमालेका नेता रामचन्द्र झा स्थानीय विकास मन्त्री भएको बेला सडकमा ग्राभेल खसाउने बेला नै खाल्डो खनिएको तथा आफूले खाल्डो नखनेको भन्दै ठेकेदार पन्छिन खोजेका छन्,’ इन्जिनियर साहले भने ।

सडक निर्माणको ठेक्का लिएका प्रदेश सांसद साहले भने, ‘त्यो सडकमा पहिलेदेखि नै खाल्डो खनिएको थियो, हामीले सडक बनाउँदा कहीँकहीँ मात्र किसानको जमिनबाट माटो खनेर लिएको हो ।’ सडकको माटो वर्षात्का कारण किसानको खेतमा बगेर गएकाले त्यो माटो मात्र काटिएको ठेकेदार सांसद साहले बताए । ‘हुलाकी कार्यालयले किसानको खेतमा खनिएको खाल्डो पुर्नका लागि निर्देशन दिएपछि धेरै ठाउँमा माटो पुरेको पनि छु र बाँकी ठाउँमा पनि पुर्नेछु,’ ठेकेदार सांसद साहले भने, ‘कुन पुरानो खाल्डो हो र कुन नयाँ खाल्डो हो प्रष्ट देख्न सकिने हुनाले नयाँ खाल्डोका लागि मात्र जिम्मेवार रहेको छु ।’

पूर्व मन्त्री झाले २०६५ सालतिर आफू स्थानीय विकास मन्त्री भएको बेला सडकमा माटो र ग्राभेलका लागि ३ करोड रुपैयाँ बजेट निकासा गरेको बताए । ‘त्यतिबेला सडकमा साइकलसम्म चल्न नसक्ने अवस्था थियो । त्यसैले जनसहभागितामा सडक बनाउन भनिएको थियो । किसानको विना बाधा अवरोध किसानकै सहयोगमा सामान्य खाडल खनेर माटो त्यतिबेला सडकमा राखिएको थियो । सडक बनेपछि किसानले आफैं पनि माटो पुरेका थिए तर अहिले सडक ३० मिटर चौडाइमा बनिरहेको छ,’ उनले भने ।

‘ठेकेदारले २ किलोमिटर बाहिरबाट माटो ल्याउनका लागि भुक्तानी समेत लिएको अवस्थामा किसानको निजी खेतमा डोजर चलाएर माटो खनेका छन्,’ नेकपाका केन्द्रीय सदस्य समेत रहेका झाले भने, ‘१० वर्ष पुरानो खाल्डो हो कि २ वर्षअघिको त्यो त त्यसै पनि देख्न सकिन्छ ।’

जनकपुर–जलेश्वर–भिठामोड सडक खण्डमा पनि त्यस्तै

धनुषा सदरमुकाम जनकपुरदेखि महोत्तरीको सदरमुकाम जलेश्वर हुँदै भारतको सीमा नाका भिठामोडसम्म बनिरहेको सडकमा पनि जथाभावी तरिकाले ठेकेदारले सडककै छेउमा रहेको माटो खनेर सडकमा राखेका छन् । १८ किलोमिटर ५ सय मिटरसम्म सडक निर्माण गर्न २ वटा अलग–अलग खण्ड बनाएर हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरले सम्झौता गरेका छन् । जनकपुर उपमहानगरपालिकाको बेला पुलदेखि महोत्तरीको पिपरा गाउँपालिकाको बिग्ही पुलसम्म ९ किलोमिटर सडक निर्माणका लागि प्रतिभा वाईपी जेभी ललितपुरलाई ठेक्का दिइएको छ ।

५६ करोड ७७ लाख २ हजार ८ सय १८ रुपैयाँ भ्याट बाहेकको लागत अनुमान गरिएको सम्झौता ३८ करोड ५५ लाख ४६ हजार ७ सय ९१ रुपैयाँमा सम्झौता गरिएको थियो । फेरि त्यसलाई संशोधन गरेर संशोधित ठेक्का रकम ४२ करोड ९३ लाख ४२ हजार ८ सय १६ रुपैयाँ बनाइएको छ । २०७३ भदौ २३ गते सम्झौता गरिएको सडकमा कम्पनीले जनकपुरका  स्थानीय ठेकेदार मुन्ना साहलाई पेट्टी ठेक्का दिएका छन् ।

२०७६ असोज ८ गतेसम्म कार्यसम्पन्न गर्नुपर्ने ठेक्कामा माटोको कामका लागि सरकारले ठेकेदारलाई ३ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । सडकको २ किलोमिटर सीमा बाहिरबाट माटो ल्याउनुपर्ने सम्झौता अनुसार माटोकै लागि रकम समेत भुक्तानी पाइसकेपनि ठेकेदारले भने बलजफ्ती सडकको दुवै छेउबाट नै माटो खनेर राखेका छन् । 

सडकमा हालसम्म ५८ प्रतिशत भौतिक प्रगति भएको दाबी गरिएको छ । ठेक्काको म्याद सकिनै लाग्दा पनि २७ वटा पाइप कल्भर्ट निर्माण गर्नुपर्नेमा २१ वटा मात्र निर्माण गरिएको छ । ६ वटा स्ल्याब कल्भर्ट निर्माण गर्नुपर्नेमा गरिएको छैन । ६ किलोमिटर नाला निर्माण गर्नुपर्नेमा १ किलोमिटर मात्र निर्माण गरिएको छ । ९ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा ३ किलोमिटर मात्र गरिएको छ ।

सडकको दोस्रो खण्ड अन्तर्गत पिपराको बिग्ही पुलदेखि भिठामोड सीमासम्म ९ किलोमिटर ५ सय ६० मिटर सडक निर्माण गर्न आशिष/पप्पु/रमण जेभीलाई ठेक्का दिइएको छ । संशोधित ठेक्का रकम ५० करोड ४९ लाख ५५ हजार ९ सय ३४ रुपैयाँ भ्याटबाहेक सम्झौता गरिएको ठेक्का पनि ठेकेदारले जनकपुरका स्थानीय ठेकेदार हिरा भगतलाई पेट्टीमा ठेक्का दिएका छन् ।

एकैदिन गरिएको सम्झौताको पनि म्याद सकिन लागेको अवस्थामा काम भने ४८ प्रतिशत मात्र सम्पन्न भएको छ । २९ वटा पाइप कल्भर्ट निर्माण गरिएको छ । ५ वटा स्ल्याब कलभर्ट निर्माण गरिएको छ । २ किलोमिटर नाला निर्माण गर्नुपर्नेमा काम नै शुरू गरिएको छैन । ९ किलोमिटर ५ सय ६० मिटर सडक कालोपत्रे गर्नुपर्नेमा ३ किलोमिटर मात्र गरिएको छ ।

सडकमा माटोका लागि २ किलोमिटर बाहिरबाट माटो ल्याउन भन्दै छुट्टै ३ करोड २० लाख रुपैयाँ नेपाल सरकारले ठेकेदारलाई भुक्तानी गरेको छ तरपनि ठेकेदारले भने सडक छेउबाटै माटो काटेर सडकमा राखेको छ । मनपरी ढंगले सम्झौता विपरीत सडक छेउबाट माटो खनेर सडकमा राखेको विषयमा हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय जनकपुरले सम्बन्धित ठेकेदारलाई पटक–पटक मौखिक र लिखित पत्र नै काटेर सडक छेउको खाल्डो पुर्न ताकेता गरेको छ । साईट इन्चार्ज इन्जिनीयर सञ्जिवकुमार साहका अनुसार पटक–पटक ताकेता गरिएको भएपनि ठेकेदारले कुनै वास्ता गरेका छैनन् । योजना प्रमुख राजेन्द्रप्रसाद दासले २०७६ जेठ २० गते पुनः ताकेता गरिएको भन्दै दुवै ठेकेदारलाई पत्र लेखेका थिए ।

जनकपुर–यदुकोहा सडक

धनुषाको जनकपुरधामदेखि शहीदनगर नगरपालिकाको यदुकोहासम्म १६ किलोमिटर ६ सय ३० मिटरसम्म सडक निर्माण भइरहेको छ । डीबा निर्माण सेवा ललितपुरले ठेक्का लिएको हो । २०७३ कात्तिक ७ गते गरिएको सम्झौताको म्याद ३० महिनाको दिइएको थियो । ३० करोड ३९ लाख १४ हजार ६ सय ८० रुपैयाँमा सम्झौता गरिएको ठेक्का पनि जनकपुरकै स्थानीय ठेकेदार लक्ष्मण महासेठलाई पेट्टी ठेक्का दिइएको छ ।

सडकमा पनि २ लाख ४६ हजार ४ सय ५२ घनमिटर माटोको कामका लागि ६ करोड ४२ लाख ९१ हजार रुपैयाँ हुलाकी सडक कार्यालयले भुक्तानी गरेको छ तरपनि ठेकेदारले त्यस सडक खण्डमा पनि किसानकै माटो खनेर सडक बनाएका छन् ।

जनकपुरदेखि पोखरभिन्डा सडकमा उस्तै दशा

जनकपुरदेखि बसबिट्टी हुँदै महोत्तरीको बलवादेखि पोखरभिन्डासम्म निर्माण भइरहेको सडकमा पनि दुवै छेउबाट किसानको खेत खनेर माटो भरिएको छ । २२ किलोमिटर सडक निर्माण हुँदै गर्दा हजारौं किसानको खेत ध्वस्त पारिएको छ । २०७४ फागुन ९ गते कालिका रमण जेभीले ९४ करोड १६ लाख रुपैयाँमा गरेको सम्झौताको म्याद २०७७ फागुन ३ गतेसम्म छ ।  

सडक सीमा क्षेत्रभन्दा बाहिरबाट माटो ल्याउनका लागि सरकारले ठेकेदारलाई १५ करोड रुपैयाँ भुक्तानी समेत गरेको छ । योजना कार्यालय जनकपुरका इन्जिनीयर कमल साहका अनुसार सडक खण्डमा खाल्डो खनिएकोबारे ठेकेदारलाई सोध्दा पहिले नै सडक कार्यालय जनकपुरले खाल्डो खनेको भन्दै जवाफ दिने गरेका छन् । २६ प्रतिशत जति काम मात्र प्रगति भएको साहले बताए । १२ वटा स्ल्याब कल्भर्ट बनेको, २७ वटा ह्यूमपाइप बनेका छन् ।

संसदीय समितिको अनुगमन

संघीय संसदको विकास तथा प्रविधि समितिको संसदीय अनुगमन टोलीले जनकपुरदेखि कमला सडक र जनकपुरदेखि भिठामोड सडकको स्थलगत निरीक्षण समेत गरेको छ । सांसद इन्दु शर्माको संयोजकत्वमा गठित अनुगमन समितिमा सांसद मिनाक्षी झा, टेकबहादुर कार्कीको टोलीले जेठ २४ देखि २६ गतेसम्म जनकपुर–भिठामोड सडकको स्थलगत निरीक्षण गरेको थियो ।

ठेकेदारको लापरवाहीका कारण किसानलाई ठूलै क्षति भएको अनुगमन समितिले जनकपुरमा २०७६ जेठ २७ गते गरेको पत्रकार सम्मेलनमा बताइएको थियो । अनुगमन समितिका संयोजक सांसद शर्माले भनिन्, ‘स्थलगत अनुगमन गरेको प्रतिवेदन तयार भएको छ, छिट्टै नै समिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्छौं ।’  विकास समितिको बैठकमा प्रतिवेदन पारित भएपछि सरकारलाई आवश्यक कारबाहीको लागि समितिले निर्देशन दिने शर्माले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x