पशुबली विरुद्धका अभियन्ता विकास भन्छन् : 'हामीले देवीदेवतालाई राक्षस बनाइरहेका छौं'

साउन २५, २०७६

काठमाडौँ - नेवार समुदायका विकास श्रेष्ठ उमेरले ५८ वर्ष पुगिसके, तर समाज परिवर्तनको अभियानमा एउटा युवामा हुनुपर्ने जोश जाँगर छ उनमा । उनी पशुबलीको विरोधमा अभियान संचालन गरिरहेका छन् ।

आजभन्दा २६ वर्ष अगाडि आफ्नो बुबाको मृत्यु भएपछि मङ्सिर महिनामा घरमा बली दिएर पूजा गर्ने कुरामा विवाद भयो । त्यसपछि उनले घर छोडेर भिन्न बस्न थाले । त्यही वर्षदेखि विकासले शाकाहारी जीवन बिताउने र समाजमा पनि सो अभियान सञ्चालन गर्ने संकल्प गरेका थिए ।


ADVERTISEMENT

'म नेवार समुदायमा जन्मेहुर्केको मान्छे,' महाराजगंजको चुनदेवीमा बस्ने विकासले लोकान्तरसँग भने, 'माछामासु हाम्रो घरमा प्राय:जसो नै पाक्ने गर्थ्यो । मैले पनि सानैदेखि माछामासु खाने गर्थें । युवा अवस्थामा नै मैले बुद्ध धर्मको पंचशील सिद्धान्त पढ्ने अवसर प्राप्त गरे । बुद्ध धर्मको मुलमन्त्र 'अहिंसा' बाट म निकै प्रभावित भएँ । मलाई पशुबली गर्ने र पशुपंक्षीको मासु खानेकुरा निकै नराम्रो लाग्न थाल्यो ।

विकासकोविचार

धर्म, संस्कृति र परम्पराको हिसाबले हिन्दू परिवारमा जन्मिएका विकास अहिले आफ्नै परम्परा र संस्कृतिमा भएको बली प्रथा सच्चिनुपर्ने आवाज उठाउने अभियान सञ्चालन गर्दै आएका छन् । निर्दोष पशुपंक्षीहरूलाई बली दिएर आफ्नो मनोकामना पुरा नहुने र ईश्वर पनि खुशी नहुने उनको बुझाइ छ ।

'हामी शाकाहारी बन्नुपर्छ, साग जतिपटक टिपेर खाउँ पलाउँछ तर बोकाको टाउको काट्यो भने त पलाउँदैन नि’, अरू प्राणीको जीवन समाप्तीमा आफ्नो ईच्छापूर्ति देख्ने सोच त पाप सोच भएन र ?' श्रेष्ठले प्रश्न गरे, 'मन्दिर भनेको शान्तिको पाठशाला हो, मानिसहरू आफ्नो मनोकामना पुरा गर्न र आत्मशान्तिका लागि मन्दिर जान्छन् । कुनै पनि देवीदेवताले मासु र रगत खाँदैनन् तर हामीले जबर्जस्ती देवतालाई राक्षस बनाईरहेका छौं’, विकासले विचार व्यक्त गरे ।

पशुबलीनिषेध सचेतना अभियान

०५९ सालमा संस्कृतिविद् डाक्टर गोविन्द टण्डनको संयोजकत्वमा केही अहिंसावादी तथा शाकाहारी संस्थाहरूले संयुक्त भेला गरी 'पशुबली निषेध चेतना अभियान’ संस्थाको गठन गरे । त्यस वर्षदेखि निरन्तर रुपमा त्यो अभियानले पशुबली विरुद्धमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

संस्था दर्ता भएको छैन । तर संस्थाको वार्षिक रूपमा नविकरण गर्ने र निश्चित कार्यक्रम गर्ने कार्यतालिका नै बनाएर अगाडि बढेको छ । संस्थाले वर्षको ३/४ वटा सचेतना र्‍याली गर्ने गर्छ । 'प्रत्येक शनिवार पशुपतिमा र मंगलवार रत्नपार्कमा हामिले सचेतना अभियान सञ्चालन गर्दै आएका छौं,' उनले भने, 'सचेतना अभियानमा ब्यानर बोकेर पर्चा बाँड्ने काम गर्छौ हामिले,' श्रेष्ठले बताए ।

प्रत्येक शनिवार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म अभियानकर्मीहरू जम्मा भएर पशुपतिमा ब्यानर र पर्चा बोकेर जाने गर्छन् ।

संस्थाले गर्ने कार्यक्रममा खर्च गर्ने पैसा छैन । तर संस्थाले र्‍यालीका लागि आधारभूत खर्च खानेपानी र ब्यानरका लागि पैसा जुटाइरहेको छ । काठमाडौंमा कार्यक्रम गर्न संस्थालाई समस्या छैन । 'जब र्‍याली र सभा गर्ने समय आउँछ तब हामी अभियानकर्मीहरूले एकआपसमा पैसा उठाउँछौ,' उनले भने, 'यदि पैसामा कमी भयो भने रामचन्द्र मन्दिर बत्तिसपुतलीले हामीलाई सहयोग गर्ने गरेको छ ।' भारतिय जैन धर्मका अनुयायीहरूले पनि संस्थाको कार्यक्रममा बेलावखत सहयोग गर्ने गरेको विकास बताउँछन् ।

के अभियानले समाजमा परिवर्तनल्याएको छ त ?

धेरै संर्घष गरेर अभियान सञ्चालन गर्नुपरेको कुरा विकासले सुनाए । गतसाल चैत्रमा कालिमाटी टेकेश्वरमा रहेको कमलादी गणेश मन्दिरमा ज्यापु सहलः गुठीले ७ महिनाको जस्तै पाडो बली दिन कार्यक्रम थियो । 'म घरमै थिएँ, मलाई खवर आयो,' उनले भने, 'अभियानका साथीहरूलाई खबर गर्‍यौं । हामी साउण्ड सिस्टम लिएर तत्काल गणेश मन्दिर पुग्यौं ।'

श्रेष्ठका अनुसार मन्दिर परिसरमा पुगेर चर्को आवाजमा अभियानकर्मीले पशुबली विरोधी गीत बजाए । दुई पक्षबीच चर्को भनाभन भयो । 'यसपालि बली ल्याइसकेको हुनाले बली दिने तर अर्को वर्षदेखि मन्दिरमा पशुबली नदिने सहमति भयो । यो वर्षदेखि उक्त गुठीले पशुबली दिने कार्यक्रम हटाएको छ । हाम्रो अभियानको यो महत्वपुर्ण उपलब्धी हो ।’

'बाग्लुङ मौलाकालिका मन्दिरले अहिले केही वर्षदेखि पशुबली हटाएको छ,' उनले भने, 'काठमाडौँमै मानिसहरूले अचेल गाडी किन्दा पशुबली दिन छोडेर नरिवल फोर्ने परम्पराको विकास भएको देखेको छु । समाज परिवर्तन भईरहेको छ । हाम्रो अभियान पनि जारी राखेका छौं ।’

अहिले पशुबली निषेध अभियान राष्ट्रव्यापी रुपमा सञ्चालन भईरहेको छ । काठमाडौँ जिल्लाबाहिर पनि अभियानले स्थानीय स्तरमा रहेका पशुबली निषेधको आवाज उठाउने विभिन्न संस्थाहरूसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ । 'ओम शान्ति, ओशो लगायतका धेरै संस्थाहरूसँग समन्वय गरेर हामीले अभियान सञ्चालन गरिरहेका छौं,' उनले भने, 'समाजमा नयाँ र राम्रो काम गर्न धेरै गाह्रो छ । धेरै नै संघर्ष गर्नुपर्ने रहेछ ।'

 

साउन २५, २०७६ मा प्रकाशित

नारायण अर्याल

पत्रकार अर्याल लोकान्तर संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस