पीडामा छन् कश्मीरका मानिस, एक युवतीको डायरीले देखाउँछ वास्तविक चित्र

साउन २८, २०७६

काठमाडौं – दिल्ली विश्वविद्यालयमा अध्ययनरत एक कश्मीरी युवतीले कश्मीरमा पाँच दिन भोगेका घटना डायरीमा नोट गरेकी छन् । 

बीबीसीको हिन्दी संस्करणको अन्लाइनमा उक्त डायरी प्रकाशित भएको छ । यहाँ त्यसको अनुवाद प्रस्तुत छ :


ADVERTISEMENT

द्वन्द्व चलिरहेको ठाउँमा हिंसा र विश्वासघात भइरहेका हुन्छन् । त्यतिखेर कुनै सूचना सही भए पनि त्यसको विश्वास लाग्दैन । 

शुक्रवारदेखि सोमवार साँझसम्म फरक फरक मानिसले कश्मीरमा थप सुरक्षाबल तैनाथ गरिएको विषय अनि यात्रीहरू तथा कश्मीरबाहिरबाट आएका मानिसहरूलाई कश्मीर छोड्न गरिएको अपीलका फरक फरक कारण दिएको हामीले सुनिरहेका थियौं । 

केही मानिस यस राज्यलाई तीन भागमा बाँडिन सक्ने भन्दैथिए । कश्मीरलाई केन्द्रशासित प्रदेश बनाउन सकिने अनि जम्मुलाई राज्यको दर्जा दिइने र धारा ३७० तथा ३५क लाई हटाउन सकिने कुरा भइरहेका थिए । 

सोमवार कर्फ्यु लगाइने हल्ला चलेको थियो । यसपालिको कर्फ्यु कठोर र लामो समयसम्म रहने डर थियो । म लाल बजारबाट आफ्नो घर नाड कडाल जाँदै थिएँ । सडकमा एकजना हतारहतार गरेर गइरहेको देखें । एटीएम अगाडि मानिसको लामो भीड थियो । किराना पसलअगाडि दशौं कार थिए । पेट्रोल पम्प खाली थिए किनकि शुक्रवार राति नै मानिसहरूको भीडले पेट्रोल सक्यो । 

एउटा पेट्रोल पम्पमा मेरो भाइलाई पेट्रोल त छ तर सर्वसाधारणलाई नदिएर सीआरपीएफ र प्रहरीलाई लागि सञ्चित राख्नू भनी निर्देशन आएको बताइयो । 

भाइको परीक्षा अगस्ट ६ मा हुनुपर्ने थियो । ऊ पढाइमा व्यस्त थियो । राति अबेर कश्मीर विश्वविद्यालयले परीक्षा रद्द गरेको सूचना दियो । मैले एक साथीलाई राति साढे १० बजे एसएमएस पठाएँ तर त्यो डेलिभर भएन । 

मेरो इन्टरनेटले त्यतिखेरसम्म काम गरिरहेको थियो । त्यसैले त्यो पूर्ण बन्द भइसकेको जस्तो मलाई लागेन । मेरा आमाबुवा दिल्लीमा हुनुहुन्थ्यो । आमालाई एसएमएस पठाएर म सुतें ।

सोमवार
म सोमवार बिहान उठ्दा भान्सामा अनौठो शून्यता थियो । बिहान प्रायः त्यहाँ गुलिस्तां च्यानलमा आउने प्रभातीय कार्यक्रम हेरेर मैले दिनको आरम्भ गर्थें । तर सोमवार बिहान सबैजना चुपचाप ब्रेकफास्ट लिइरहेका थिए । 
हाम्रो घरबाहिर बिहान चार बजेदेखि सेनाका जवान तैनाथ रहेको मलाई कसैले बतायो । टीभी, ल्यान्डलाइन र मोबाइल फोन कुनै पनि काम गरिरहेको थिएन । कर्फ्यु लागेको बेलामा बीएसएनएलका ल्यान्डलाइन फोनले त काम गर्थ्यो तर यसपालि त्यसलाई पनि बन्द गरियो । 

हामीहरूलाई खानेकुराको चिन्ता थियो । पसलहरू बन्द थिए र पसले पनि देखिँदैनथिए । मेरा अंकल तरकारी किन्न बाहिर जानुभयो तर सेनाका जवानले उहाँलाई रोके र जोखिम मोलेर किन बाहिर आएको भने । 

उहाँ रित्तै हात घर फर्किनुभयो किनकि तरकारी खोज्न लामो बाटो हिँड्नुपर्ने डर उहाँलाई थियो । उहाँले एकजना पसले त देख्नुभयो तर उसले सबै तरकारी बेचिसकेको थियो । तैपनि आन्टीले तरकारीको व्यवस्था गर्नुभयो । 

कश्मीरका बारेमा के गरिने हो भन्ने केही थाहा हुन सकेको थिएन । घरका पुरुष सदस्यहरू मस्जिदबाट नमाज पढेर फर्केपछि बल्ल थाहा भयो । धारा ३७० खारेज गरिएको खबर अपराह्नमा घर पुगिसकेको थियो । अंकलले पनि मस्जिदमा यही कुरा सुनेको बताउनुभयो ।

हामी सबैले यसलाई अफवाह मानेर वास्ता गरेनौं । राज्य सरकारसँग सल्लाह नलिइकन अनि अदालतमा मुद्दा चल्दा चल्दै पनि सरकारले कसरी धारा खारेज गर्न सक्छ र भनी मैले भाइलाई भनें । 

सञ्चारका कुरा सबै ठप्प पारिएपछि सबैजना मेरो ल्यापटपमा फिल्म हेर्न थाले । साँझ केही च्यानलहरूलाई प्रसारणको अनुमति दिइएको हामीले सुन्यौं । तर दूरदर्शनका च्यानलहरू मात्र आइरहेका थिए, अरू सबै बन्द थिए । 
समाचार हेरेपछि हामीले थाहा पायौं– राज्यसभाले जम्मु कश्मीर पुनर्गठन विधेयक पारित गरेछ । जम्मु तथा कश्मीर अब केन्द्रशासित प्रदेश बन्यो । लद्दाखलाई बेग्लै केन्द्रशासित प्रदेश बनाइयो । धारा ३७० र ३५क खारेज गरिएको थियो । 

अब के हुने हो भन्ने सोच आएपछि मेरा आँखामा आँसु आए । समाचार सुनेको १५ मिनेट हामीहरू मौन बस्यौं । 

मेरा भाइहरू बोर हुन थालेका थिए । उनीहरूलाई मैले बगैंचामा खेल्न लगें । हामीले आइस वाटर खेल्न थाल्यौं । अचानक बगैंचामा अश्रूग्यासको गोला आयो । भाइहरू खोक्न थाले तर खेल्न मन गरिरहे । मैले उनीहरूलाई तानेर जबर्जस्ती घरभित्र लगें । 

मंगलवार
दिल्ली फर्किनका लागि बिहीवारको टिकट मसँग थियो । तर एयरपोर्टसम्म सुरक्षित रूपमा कसरी पुग्ने भन्ने चिन्ता पनि थियो । अंकलको घरबाट बुधवार बिहान निस्केर विमानस्थल नजिक पुग्ने योजना हामीले बनायौं । 

मंगलवार अपराह्नमा सबै टीभी च्यानललाई प्रसारणको अनुमति दिइयो । तर टीभी च्यानलमा आइरहेका समाचार हामीले सहन सक्ने खालका थिएनन् । त्यसमा खुशियाली मनाइएको दृश्य देखाइँदै थियो । हामी चाहिँ यता घरमा थुनिने, उनीहरू चाहिँ खुशियाली मनाउने ? हाम्रो भविष्यमा असर पार्ने सरकारको निर्णयविरुद्ध असहमति र क्रोध देखाउन पनि सम्भव थिएन । 

मंगलवार साँझ हाम्रो घरमा फेरि अश्रूग्यासको गोला आइपुग्यो । हाम्रा एक नातेदार घरमा आए अनि अब घर छोडेर दुर्गमको एक घरमा जाने कुरा बताए । श्रीनगरमा उनको घरबाहिर बेस्सरी ढुंगामूढा भइरहेको उनले बताए र अश्रूग्यासका कारण बच्चाहरू डराइरहेको पनि जानकारी दिए । एउटै घरभित्र बसिरहौं भन्नेमा बच्चाहरूको जोड थियो ।

हाम्रो घरमाथि अनेकौं हेलिकप्टर उडिरहेका थिए । तिनको आवाज र तल अश्रूग्यासको वर्षाले हामी युद्धको जस्तो स्थितिमा रहेको विश्वास दिलायो । केही युवकहरूको मृत्यु भइसकेको, केही घाइते भएको मानिसहरू बताइरहेका थिए । तर कसैले पनि केही कुराको पुष्टि गरिरहेको थिएन । 

मंगलवार राति मेरो भाइ कटरास्थित विश्वविद्यालयबाट फर्कियो । उसको कलेजको प्रशासनले सबै कश्मीरीहरूलाई क्याम्पस छोड्न भनेको थियो । उनीहरूको सुरक्षाको ग्यारेन्टी लिन नसकिने बताइएको थियो । 

उसलाई घर पुग्न २४ घन्टा लाग्यो । बाटोमा उसले अनेकौं प्रहरीसँग विभिन्न ठाउँमा सहायता माग्यो । मंगलवार राति हामीहरू यो सिलसिला कहिलेसम्म चल्ला भनी सोचिरह्यौं ।

बुधवार
म बिहान पाँच बजे उठें र विमानस्थल नजिकको पीर बाग जान खोजें । आँखामा आँसु भरेर मैले आन्टीलाई गूडबाई भनें । उहाँले मलाई दुबईमा बसिरहेको उहाँको छोरासँग कुरा गर्न भन्नुभयो । आइतवार रातिदेखि छोरासँग फोनमा कुरा गर्न नपाएकोमा चिन्ता व्यक्त गर्नुभयो । अब कहिले कुरा गर्न पाइने हो भनी उहाँले बिलौना गर्नुभयो । 

सडकहरू सुनसान थिए । बाटोभरि ब्यारिकेड र काँडेतार राखिएका थिए । हामीले कार निकाल्यौं । बिहानै भएकाले हामीलाई कसैले रोकेन । पीर बाग पुग्दा धेरै ब्यारिकेड राखिएको हामीले देख्यौं । साना गल्लीमा जान समेत प्रतिबन्ध लगाइएको थियो ।  

अबेर साँझ मेरी आन्टी आउनुभयो र उहाँको भाइको छोरालाई अश्रूग्यासका कारण संक्रमण भएको तर कारमा पेट्रोल नभएकाले औषधि लिन जान नपाएको बताउनुभयो । कर्फ्यु लगाइएकाले सार्वजनिक वाहन पनि उपलब्ध छैनन् ।

बिहीवार
आमाबुवासँग चार दिनदेखि कुरा गर्न पाएको थिइनँ । उहाँहरू चिन्तित हुनुभएको कुरा मलाई थाहा थियो । तर कश्मीरमा रहेको मेरो परिवारलाई कसरी गूडबाई भनौं भन्ने थाहा पाइरहेकी थिइनँ । उनीहरूलाई त्यस्तो स्थितिमा छोडेर म आफू चाहिँ सामान्य जिन्दगीमा कसरी फर्कौं ? 

तर म एक जिम्मेवारीका साथ त्यहाँबाट निस्किएँ । दिल्ली पुगेर सबै दाजुभाइसँग सम्पर्क गरी म उनीहरूका आमाबुवालाई भेटेर फर्किएको र उहाँहरू सुरक्षित रहेको म बताउन चाहन्थें । 

म उनीहरूलाई घरमा रासनपानी रहेको बताउँछु र उहाँहरूले औषधि पनि किनेको भन्छु । निराशा र निरीहताका बीच ईद मनाइरहेको पनि म बताउँछु । यस्तो विवशताले हाम्रो भविष्यलाई कसरी लामो समयसम्म प्रभावित पार्छ भनेर पनि म बताउनेछु ।

बीबीसी हिन्दीबाट
 

साउन २८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस