प्रधानमन्त्री इमरान खानसँग चिढियो पाकिस्तानी सेना

भदौ २, २०७६

काठमाडौं – अमेरिका भ्रमणमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशमा ३० देखि ४० हजार आतंकवादी छन् भनी दिएको बयानले पाकिस्तानी सेना चिढिएको खबर छ । 

आफ्नो सरकारले जिहादी संस्कृति अन्त्य गर्न चाहेको पनि उनले बताएका थिए र उनको यो बयानले पाकिस्तानी सेना क्रुद्ध भएको बताइएको छ । 


ADVERTISEMENT

पाकिस्तानको राजनीतिमा सेनाको महत्त्वपूर्ण भूमिका छ । इमरानलाई पाकिस्तानी सेनाले नै प्रधानमन्त्री बनाएको भन्ने चर्चा पनि चल्ने गर्छन् । तर इमरानका बयानका कारण सेना उनीसँग चिढिएको बताइएको छ । 

पाकिस्तानी सेनाले आतंकवादीहरूलाई राजनीतिक प्रक्रियामा ल्याउने कोशिश गरिरहेको हुन्छ । सन् २०१७ को अक्टोबरमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले आफूहरूले विशेष योजना बनाएर आतंकवादीहरूलाई मूलधारमा ल्याउने कोशिश गरिरहेको भनी बयान दिएका थिए । 

तर इमरान खानले ती आतंकवादीलाई सिध्याउने अभियान चलाउने भनेपछि सेना उनीसँग चिढिएको बताइएको छ । 

त्यसमाथि भारतले कश्मीरको विशेषाधिकार खोसेर उक्त राज्यलाई केन्द्रप्रशासित प्रदेश बनाएपछि इमरान खानले त्यसका विरुद्ध विश्वमत हासिल गर्न नसकेकाले पनि पाकिस्तानी सेना चिढिएको बताइएको छ । 

एजेन्सी
 

भदौ २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस