काठमाडौंस्थित भारत र पाकिस्तानको दूतावास अगाडि शान्ति समाजको धर्ना, मोदी र खानलाई पत्र

भदौ ३, २०७६

काठमाडौं – भारत–पाकिस्तान सीमा क्षेत्रमा उत्पन्न तनाव र गोलाबारीप्रति चिन्ता व्यक्त गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित दुवै देशका दूतावासअगाडि धर्ना दिएको छ ।

'युद्ध निषेधः शान्ति विशेष' अभियान सञ्चालन गर्दै आएको शान्ति समाजले भारत र पाकिस्तानलाई युद्धको कुनै पनि सम्भावना खारेज गर्न, दुई देशबीच वार्ता अघि बढाउन र ३४ वर्ष अगाडि स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय बनाउन आग्रह गर्दै धर्ना दिएको हो ।


ADVERTISEMENT

साथै समाजले शत्रुतालाई अन्त्य गर्न र मित्रतालाई गहिरो बनाउन आह्वान पनि गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावास र महाराजगञ्जस्थित पाकिस्तानी दूतावास अगाडि दिउँसो २ बजेदेखि १ घण्टासम्म भएको धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरू होमकान्त चौलागाई र डा. गंगाधर अधिकारी, सचिवहरू रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर र टेकबहादुर सार्की, कोषाध्यक्ष रामकृष्ण बराल लगायत सहभागी थिए ।

धर्नाको अन्त्यमा समाजका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लेखिएको पत्र दूतावासका वरिष्ठ अधिकारीहरूलाई हस्तान्तरण समेत गरिएको थियो ।

पत्रमा दक्षिण एशियाली राष्ट्रहरूमा नागरिक स्तरमा मित्रतालाई प्रगाढ बनाउने, सद्भाव र भाइचारा बढाउने उद्देश्यले शान्ति समाजले केही वर्ष अगाडि दक्षिण एशियाली सद्भाव यात्राको प्रारूप अघि सारेको स्मरण गराउँदै अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र आपसी समझदारीलाई अभिवृद्धि गर्ने उद्देश्यले थालिने नागरिक सद्भाव यात्रामा भारत र पाकिस्तान सरकारको नैतिक सहयोग र हार्दिकता प्राप्त हुनेछ भन्ने विश्वास पनि व्यक्त गरिएको छ ।

भदौ ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस