माथिल्लो तामाकोशी : थपिएको म्यादमा पनि बनेन, कहिले सकिन्छ बाँकी २ प्रतिशत काम ?

भदौ ४, २०७६

काठमाडौं – राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुनुपर्ने भनी पहिलो चरणमा तोकिएको म्याद सकिएको ३ वर्ष बितिसक्दा समेत आयोजना सम्पन्न हुन सकेको छैन ।

यसबीचमा थप गरिएको म्याद समेत गत चैतमा सकिएको छ । त्यसपछि फेरि म्याद थप गरेर आयोजना अघि बढाइएको छ ।


ADVERTISEMENT

चैतमा म्याद थपिएयता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महिनैपिच्छे स्थलगत अनुगमन गर्ने बताएका थिए ।

पछिल्लो चरणमा थपिएको म्यादको अवधिमा हरेक महिना घिसिङले आयोजना अवलोकन गरिरहेको दाबी आयोजनाका प्रवक्ता गणेश न्यौपानेको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको काम आर्थिक वर्ष २०६७/०६८ बाट शुरू गरेर आर्थिक वर्ष २०७२/०७३ मा सम्पन्न हुने गरी सम्झौता भएको थियो ।

सम्झौता अनुसार ३ वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने आयोजना समयमै नबन्दा २०७५ चैतसम्मको म्याद थप गरियो । थप गरिएको उक्त म्याद सकिएको ५ महिना बितिसक्दा समेत आयोजना सम्पन्न हुन सकेको छैन ।

‘सम्झौता अनुसार २०७२/०७३ मै सम्पन्न गर्ने लक्ष्य भएपनि २०७२ वैशाखमा गएको भूकम्पका कारण केही ढिलाई भयो,’ प्रवक्ता न्यौपानले लोकान्तरसँग भने, ‘सोही वर्ष तराईमा भएको अन्दोलनले पनि निर्माणमा केही अवरोध भएपछि म्याद थप गरिएको हो ।’

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच आयोजनाको चारवटा उत्पादन एकाई बनाउने गरी २०६७ पुस १४ मा सम्झौता भएको थियो ।

सम्झौता अनुसार पहिलो दुईवटा उत्पादन एकाईबाट २०७२ पुस १० गतेदेखि विद्युत् उत्पादन शुरू गर्ने लक्ष्य थियो । बाँकी २ वटा एकाईबाट २०७३ असार ३० भित्र विद्युत् उत्पादन शुरू गरी प्राधिकरणलाई बिक्री गर्ने लक्ष्य रहेको थियो । तर सो अवधिमा काम नसकिएपछि चालू आर्थिक वर्ष २०७६/०७७ देखि विद्युत् उत्पादन गर्ने गरी म्याद थप गरिएको आयोजनाले जानकारी दिएको छ ।

प्रवक्ता न्यौपानेले आयोजना निर्माणको काम साढे ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै पहिलो दुईवटा एकाईबाट आगामी चैतमा र बाँकी २ वटा एकाईबाट असारभित्रै उत्पादन गरी प्राधिकरणलाई बिक्री गर्नेगरी म्याद थप गरिएको बताए । 

‘आयोजनाको साढे ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ । चार लटमा ठेक्का दिएर निर्माणको काम भएको अवस्थामा दोस्रो लटको ठेकेदारले काममा केही ढिलाई गर्दा चालू आर्थिक वर्षसम्म पुगेको हो,’ न्यौपानले भने, ‘यसअघि त गत आर्थिक वर्षमा नै सकिने लक्ष्य थियो ।’

म्याद थप हुँदा लागत बढ्यो

आयोजना निर्माणका लागि हालसम्म करिब ४३ अर्ब रूपैयाँ खर्च भइसकेको आयोजनाले जानकारी दिएको छ । निर्माणको शुरूमा आयोजना निर्माणका लागि ३५ अर्ब २९ करोड रूपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो । तर निर्माण अवधि थप हुँदै जाँदा लागत पनि बढेर उक्त रकम खर्च पुगेको आयोजनाको भनाई छ ।

आयोजना सम्पन्न गर्ने बेलासम्म करीब ७२ अर्ब रूपैयाँ लाग्ने आयोजनाले जानकारी दिएको छ । ‘ब्याजबाहेक ३५अर्ब २९ करोड रूपैयाँ लागत लाग्ने र ब्याजसहित ४९ अर्ब २९ करोड खर्च हुने शुरूमा नै अनुमान गरिएको थियो,’ आयोजनाका प्रवक्ता न्यौपानेले भने, ‘आयोजनाको म्याद थप हुँदै जाँदा समय अनुसार लागत पनि बढ्ने नै भयो । महंगी लगायतका विभिन्न फ्याक्टर हुन्छन् त्यसका । आयोजना सम्पन्न हुँदासम्म ब्याजसहित करिब ७२ अर्ब रूपैयाँ खर्च हुने देखिन्छ ।’

हाल आयोजनाको दुईवटा सुरूङमा पाइप राख्ने काम भइरहेको आयोजनाले जानकारी दिएको छ । ती सुरूङमा पाइप राखिसकेपछि काम सम्पन्न हुने आयोजनाले जनाएको छ ।

‘ठाडो सुरूङ ३१० मिटर र तल्लो ठाडो सुरूङ ३७३ मिटरमा पाइप राख्ने काम भइरहेको छ,’ न्यौपानेले भने, ‘अलिकित कठिन मानिएको त्यति काम मात्रै हो । उक्त काम जति छिटो सम्पन्न गर्न सक्यो त्यति नै छिटो आयोजना बन्छ ।’

४५६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना निर्माणका लागि चार चरणमा (लट) मा ठेक्का प्रक्रिया भएको थियो ।

आयोजनाका अनुसार पहिलो लटमा सिनो हाइड्रो ठेकेदार कम्पनीलाई ठेक्का दिइएको थियो । त्यस्तै दोस्रो लटमा टेक्स्ट म्याको रेल्वे इन्जिनीयरिङ ठेकेदार कम्पनीलाई, तेस्रो लटमा एन्ड्रिज हाइड्रो र चौथो लटमा केईसी इन्टरनेसनल ठेकेदार कम्पनीलाई निर्माणको ठेक्का दिइएको थियो । आयोजना निर्माण सम्पन्न भएर विद्युत् उत्पादन शुरू भएपछि मुलुकको विद्युत् उत्पादनमा ठूलो योगदान पुग्ने आपेक्षा गरिएको छ ।

एक वर्षमा २ प्रतिशत काम !

राष्ट्रिय योजना आयोगका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ सम्म आयोजनाको समग्र भौतिक प्रगति ९६ दशमलव ४ प्रतिशत भएको थियो । 

आर्थिक वर्ष २०७५/०७६ सकिँदासम्म साढे ९८ प्रतिशत भौतिक प्रगति भएपछि एक वर्षमा करीब दुई प्रतिशत मात्रै काम भएको देखिएको हो ।

प्रवक्ता न्यौपाने भने कठिन काम भएकाले समग्र प्रगती न्यून देखिएको दाबी गर्छन् । एक वर्षका लागि निर्धारित लक्ष्यको ९३ प्रतिशत काम भएको उनको दाबी छ ।

हालसम्म हेडबक्स क्रंकिटको कार्य, मुख्य सुरूङ खन्ने कार्य, विद्युत् गृह तथा ट्रान्सफर्मर क्याभर्न खन्ने कार्य र टेलरेस सुरूङमा लाइनिङ कार्य सम्पन्न भइसकेका छन् ।

आयोजना निर्माणका लागि लाग्ने लागत सम्पूर्ण रूपमा स्वदेशी नै रहने गरी आयोजना निर्माणको काम अघि बढाइएको थियो । 

जसअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार प्राधिकरणको ६ प्रतिशत, नागरिक लगानी कोषको २ र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानी रहने गरी निर्माण कार्य शुरू गरिएको थियो ।

बाँकी लगानी सर्वसाधारण, विभिन्न संस्थानका कर्मचारी र योजना निर्माण भइरहेको जिल्ला दोलखाका नागरिक लगायतबाट समेत शेयर संकलन गरेर लगानी जुटाउने गरी आयोजना निर्माणको कार्य अघि बढाइएको थियो ।

भदौ ४, २०७६ मा प्रकाशित

प्रेम चन्द

पत्रकार चन्द लोकान्तरका लागि आर्थिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस