सशस्त्र विद्रोह : अन्तर्विरोध र दुष्परिणाम

भदौ १४, २०७६

नेपाल !
सुन्दर, शान्त विशाल !!

निबन्धकार लक्ष्मीप्रसाद देवकोटाले ‘के नेपाल सानो छ ?’ निबन्धको आरम्भ नै माथिको कथनबाट गर्नुभएको थियो । ७४ वर्षअघि अर्थात् वि.सं.२००२ (सन् १९४५) उहाँमा आएको त्यही भावना कवि माधव घिमिरेको राष्ट्रगीतमा प्रतिध्वनित भएको छ: ‘गाउँछ गीत नेपाली...’ पनि ‘सुन्दर शान्त विशाल’ मै गएर टुङ्गिन्छ ।


ADVERTISEMENT

जग-जाहेर छ, समयको अन्तरालमा हामीले देवकोटालाई ‘महाकवि’ को रूपमा पायौं भने घिमिरेलाई ‘राष्ट्रकवि’ भनेर चिन्दै आएका छौं ।

यथार्थमा, ‘सुन्दर शान्त विशाल’ को यो मीठो र खँदिलो अभिव्यक्तिले हामी सबै नेपालीलाई वर्षौंदेखि प्रभावित पार्दै आएको छ । नेपालप्रतिको अपनत्व र मातृभूमिप्रतिको सम्मान एकैमुष्ट अर्पण गर्न पाइने यो पदावलीमा नलोभिने कुन नेपाली (वा नेपालीभाषी) होला र ?

लेखक कुलचन्द्र गौतमको रहरलाई यसै सन्दर्भमा हेरिनु पर्छ । नेपालीमा लेख्ने-बोल्नेको कुरै भएन, गौतमले त अङ्ग्रेजीमा लेखेको पुस्तकको एउटा अध्याय नै ‘सुन्दर शान्त विशाल’ मा समर्पण गर्नुभएको छ । संयुक्त राष्ट्रसंघ जस्तो विश्वसंस्थासँगको आबद्धताको पृष्ठभूमि सहितका लेखकले सपना नै सँगाल्नु भएको छ : सन् २०५१ (वि.सं.२१०८) सम्ममा नेपाललाई साँच्चिकै सुन्दर शान्त विशाल रूपमा देख्न पाइयोस् । आफ्नो पहिलो पुस्तक छापिएको वर्ष सन् २०१५ का पछिल्ला दुई अङ्कलाई अघि-पछि पारेर ‘२०५१’ लाई आफ्नो सपनासँग जोड्नु भएको होला । कुलचन्द्र गौतमको यस शैलीले जर्ज अर्वेलले लेखेको पुस्तक ‘१९८४’ को सम्झना गराउँछ जुन सन् १९४८ मा छापिएको थियो ।   

युवापुस्तालाई सन्देश

तीन वर्षको अन्तरालमा गौतमले दुईटा स्तरीय किताब (अङ्ग्रेजी) लेखेर देशभित्र र देशबाहिर दुवैतर्फका पाठक-समाजलाई गुन लगाउनु भएको छ । नेपालभित्र युवापुस्ता र देशबाहिर नेपालीभाषी तथा नेपालप्रति सद्‌भाव राख्ने विदेशीहरू यी पुस्तकबाट लाभान्वित हुनेछन् । पहिलो ‘लस्ट इन् ट्राञ्जिसन’ मा रक्तरञ्जित माओवादी विद्रोह (सन् १९९६-२००६) र चारवर्ष अघिको भूकम्पबाट भत्किन पुगेको मुलुकको पुनर्निर्माणको विषयलाई केन्द्रविन्दुमा राखिएको छ । भूकम्पबाट तहसनहस भएको नेपालउपर थोपरिएको भारतीय नाकाबन्दी गाँसिएर आएको छ । सन् २०१८ मा प्रकाशित दोस्रो किताब ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ संस्मरणात्मक छ जसमा गौतमले आफूले ४० वर्ष (सन् १९६८-२००८) प्रवासमा रहँदा बेहोरेका भुक्तमान र हासिल गरेका उपलब्धिको चर्चा गर्नुभएको छ । यसरी, विदेशमा उहाँले बिताएका चार दशकमध्ये ३५ वर्ष त संयुक्त राष्ट्रसंघको पदाधिकारी भएर कार्यरत रहँदा बितेका रहेछन् ।

सेवानिवृत्त हुँदा गौतम राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यकारी उप-निर्देशक पदमा पुग्नुभएको थियो । राष्ट्रसंघीय सचिवालय प्रणालीमा सेवा प्रवेशपछि वृत्तिविकासको माध्यमबाट खुड्किला उक्लिँदै सहायक महासचिवको तहमा पुग्नु चान्‌चुने कुरो होइन । भन्‌सुन वा सिफारिश बेगर आफ्नै बलबुता र मेहनतले एक नेपाली उच्चपदमा पुगेको पाइनु गर्वको विषय हो; हुनुपर्छ । जस्केलाबाट पसेर एकैपल्ट उच्चपदस्थ हुने अपवादमा पर्छन् ।

विवेच्य दुईटै किताबलाई दुई भिन्न खण्डमा राखेर पढ्दा सजिलो हुने देखिन्छ: १) गुल्मीको गाउँदेखि राष्ट्रसंघ सभाकक्षसम्मको कुलचन्द्र गौतमको लामो यात्राको रूपमा, र २) विश्वशान्ति, सुरक्षा र समुन्नतिको निमित्त संयुक्त राष्ट्रसंघले खेल्ने भूमिका र त्यस क्रममा अपनाइने कार्यशैलीको जानकारीको रूपमा । (यिनलाई राष्ट्र-राष्ट्र बीचका सम्बन्धलाई द्वन्द्वमा जान नदिन राष्ट्रसंघले अवलम्बन गर्ने उपाय र संयन्त्रहरूको कार्यप्रणाली बुझ्न उपयोगी हुने भरपर्दा प्रकाशन मान्नु पनि जाती हुन्छ ।) 

पश्चिम पहाडी जिल्ला गुल्मी अमरपुर गाउँको मध्यमवर्गीय ब्राह्मण परिवारमा जन्मी-हुर्केर, नेपाल र विदेश दुबैतिर पढेर-बढेर विश्वसंस्थामा उच्च पदाधिकारीको लहरमा पुग्नुलाई, मेरा मित्र कुन्द दीक्षित (सम्पादक, नेपाली टाइम्स) ले भने झैं, ‘प्रेरणाको कथा’ नै मान्नुपर्छ । ठिटौलो वयमा काशी र काठमाडौं गर्दाका संघर्ष र अमेरिकामा पढ्ने छात्रवृत्ति पाएर पनि नेपालको राहदानी (पासपोर्ट) नपाउँदा रोकिन रोकिन गएको पढाइ । धैर्य, लगन र इमान्दारी नछोडीकन बाटाका अवरोध पन्छाउँदै उच्चशिक्षाको लागि संयुक्त राज्य अमेरिका पुग्न सफल गौतमको कथाले आजभोलिको हतास र निराश युवापुस्ताका महिला-पुरुषलाई मेहनत र परिश्रम गर्ने मानिस अन्ततोगत्वा पुरस्कृत हुन्छ भन्ने गहकिलो सन्देश दिन्छ ।       

फराकिलो परिवेश

किताबमा भेटिन्छन्, राष्ट्रसंघीय बालकोष अर्थात् युनिसेफको अधिकृत भएर स्थलगत जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा गौतमले एसिया, अफ्रिका, युरोप, दक्षिण अमेरिका, अष्ट्रेलिया समेतका महादेशमा पर्ने दर्जनौं देशहरूको भ्रमण गर्दा बटुलेका तीता-मीठा अनेकानेक अनुभव । थाइल्याण्ड र हाइटीमा खटिँदाका चुनौतीहरू । युनिसेफको माध्यमबाट विश्वभरका बाल-बालिकाको सेवामा लाग्न पाउँदाको सन्तुष्टि । ‘वसुधैव कुटुम्बकम्’ को मान्यता राख्ने देशको नागरिक भएकोले समग्र मानवकल्याणको निम्ति काम गर्न सकेकोमा सन्तोष ।

के राष्ट्रसंघका  जिम्मेवार पदाधिकारी छँदा गौतमले नेपालको निमित्त चाहिँ केही गर्न पाउनु भएन, भ्याउनु भएन ? चर्चित पुस्तकका पृष्ठहरू ( दुबैको हिसाब गर्दा ९००+) छिचोल्दै जाँदा गौतमले नेपालको लागि दुई कोणबाट गहकिलो योगदान गर्न पाउनुभएकै देखिन्छ । युनिसेफका परियोजनाहरू मार्फत् नेपालका बाल-बालिकाको हित र संरक्षणका लागि भएका कामको यथोचित श्रेय उहाँले पाउने नै हुनुभयो । साथै, युनिसेफको दक्षिण एसिया कार्यालयलाई दिल्लीबाट काठमाडौं सार्ने प्रक्रियामा पनि उहाँको सद्‌प्रयास परेको रहेछ । यसरी कूटनीतिकवृत्तमा रहँदा आफूलाइ प्राप्त पहुँचको उपयोग गर्दै विभिन्न देशका राजा, राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग गरिएका भेटवार्तालाई गौतमले व्यापक जनहितको पक्षमा उपयोग गर्नुभएको छ । साँगुरो वृत्तमा रुमल्लिने मानसिकता उहाँमा देखिन्न ।   

किताबमा मुद्रित बेहोरा, विवरण केलाउने जोसुकैले बुझ्नसक्छ, राजनीतिक/कूटनीतिक तहबाट नेपालको लागि हुन/गर्न सकिने काम गर्न र आवश्यकता अनुसारको भूमिका निर्वाह गर्न पनि कुलचन्द्र गौतम सधैंजसो सक्रिय रहनुभयो । राष्ट्रसंघको क्रियाशील पदाधिकारी रहँदाको अवस्थामा परोक्ष ढङ्गले र सेवाबाट अवकाश लिइसकेपछि प्रत्यक्ष रूपले नेपालको आर्थिक विकास र सामाजिक रूपान्तरणको दिशामा उहाँका हातहरू सहयोगी भएका छन् ।  माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा अवतरण गराउने नियोगमा गौतमको सहभागिता प्रशंसनीय स्तरमा रहेछ ।

राष्ट्रसघीय संयन्त्रको रूपमा नेपाल आएका मानव अधिकारकर्मी निकाय र अन्‌मिन (UNMIN) का सकारात्मक मात्र हैन नकारात्मक पक्षहरू पनि यी पुस्तकमा उघ्रिएका छन् । चित्तनबुझ्ने, बिझाउने बुँदाहरू चर्चामा आएका छन् । जस्तो, राष्ट्रसंघीय सुरक्षा परिषद् लोकतान्त्रिक संरचना होइन किनभने १५ सदस्यमध्ये पाँचसँग निषेधाधिकार (भिटो पावर) छ । अर्को शब्दमा,  परिषद्‌मा विचाराधीन सबै प्रस्ताव बहुमतबाट पारित हुन पाउँदैनन् ।

‘क्रान्तिकारी’का इमान्दारी !

नेपालको शान्ति प्रक्रियाका क्रममा आफूले भेट्ने र कुराकानी गर्ने मौका पाएका नेतागणमा प्रचण्ड, बाबुराम प्रभृतिबारे उल्लेख गर्दा गौतमले तिनको इमान्दारी र वचनबद्धतामा सन्देह प्रकट गर्नुभएको छ । यिनका दोधारे कुराले मानिसमा भ्रम पैदा हुने गरेको अनुभव धेरै नेपालीलाई जस्तै गौतमलाई पनि भएको रहेछ । जस्तो बाबुरामको यो कथन: हामी बहुदलवाद (मल्टीपार्टी) स्वीकार गर्छौं तर बहुलवाद (प्लुरालिजम्) चाहिँ होइन । ‘जनगणतन्त्र’को वकालत पनि सँगसँगै गर्ने । त्यस्तै, एकातर्फ सामन्तवाद र पूँजीवादको निन्दा गर्ने र निजी सम्पत्ति राख्नु हुँदैन भन्ने अर्कोतर्फ माओवादीहरू आफैं भने धन-सम्पत्ति जोड्ने, भोग-विलासमा रमाउने । अर्को, देशमा जताततै नेपाली भाषा थोपरिनु हुँदैन पनि भन्ने अनि आफ्ना छोरा-छोरीलाई अङ्ग्रेजी स्कूलमा भर्ना पनि गर्ने । यता उद्योग, कलकारखाना बन्द गराउन ट्रेड युनियन परिचालन गर्ने उता आर्थिक समुन्नतिको बाचा गर्दै हिँड्ने । सुनको फुल पार्ने कुखुरी मारेर एकैपल्ट कायापलट गराउँछौं भनेर सपना देखाउने !  झूट, फरेब र ढोङ् त कति हो कति ।    

कुलचन्द्र गौतमले आफ्नो पहुँचले भ्याएसम्म नेपालबारेका यी र यस्ता एकतर्फी, पूर्वाग्रही, हेपाहा र भ्रामक धारणालाई चिर्ने प्रयत्न गर्नुभएको देखिन्छ– पुस्तकमा परेका बुँदाहरूले त्यही कुरा छर्लङ्ग पार्छन् ।

संघीयताबारेको लेखक गौतमको सोच पनि धेरै नेपालीजनको अवधारणासँग मिल्दोजुल्दो छ । पिछडिएका समुदायहरूलाई शिक्षाका फराकिला अवसर दिएर र सकारात्मक विभेदका माध्यमबाट लाभान्वित गराउन सकिने टड्कारो सम्भावना छँदा छँदै जात-जाति र क्षेत्रको आधारमा नेपालमा संघीयता थोपर्नुको कुनै औचित्य थिएन; छैन ।

यसै क्रममा, गौतमले त्यो माओवादी जिकीरको पनि उल्लेख गर्नुभएको छ जसमा स्वीट्जरल्याण्ड जस्तो सानो देशमा २६ वटा क्याण्टोन छन् नि त भन्ने गरिएको छ । तर त्यस देशमा हरेक महत्वपूर्ण मामिलामा जनमतसंग्रह पनि गरिन्छ नि, संघीयताबारे त्यही विधिबाट निर्णय गरौं न त भन्दा त्यो बाटो जाने हिम्मत माओवादीमा नहुने ! उनीहरूको तरीका नै हो सडकमा क्रान्तिकारी दौड गराउने, हिंसात्मक जुलुस प्रदर्शन आदिको आयोजना गर्ने ।

अन्‌मिनको अलमल

प्रारम्भमा राष्ट्रसंघीय नियोग (अन्‌मिन) ले नेपालमा राम्रै काम गरेको हो तर पछि-पछि माओवादीका कुराले राष्ट्रसंघका कर्मचारी र पश्चिमा दाता, विकासे कामदार सबैलाई एकोहोरो पारेको पाइयो, लेखक गौतमको मूल्याङ्कन छ । पश्चिमाहरूलाई माओवादीको कार्यसूची वा एजेण्डा मात्र ‘प्रगतिशील’ जँच्ने, अरू सबैका तर्क र मान्यताहरू ‘यथास्थितिवादी’ शक्तिका प्रतिनिधि-स्वर सिवाय केही नठहर्ने । इयान मार्टिन र करिन लनग्रेन जस्ता अन्‌मिन कर्मचारी राष्ट्रसंघको मुख्यालयमा माओवादी माग-दाबीलाई मात्र बल पुग्ने प्रतिवेदनहरू पठाउन थाले । अङ्ग्रेजीमा लेखिएका तर कट्मिरा केही पुस्तक र लेखहरू पढेका भरमा नेपालको धरातलीय यथार्थभन्दा भिन्न रिपोर्ट पढ्दा-पढ्दा राष्ट्रसंघ नै भ्रमित हुन गयो ।

त्यसैताका हो, नेपालको राष्ट्रिय सेनालाई माओवादीका लडाकूसँग तुलना गर्दै ‘नेपाली सेना र माओवादी सेना’ भन्ने पदावली व्यापक चलनचल्तीमा ल्याइयो– माओवादीबाहिरका २२+दलहरूको विरोध हुँदाहुँदै पनि । यसबीच, गिलास आधा भरिएको छ भन्न रुचाउने (सकारात्मक सोचका) डा. रामशरण महतका कुरालाई स्थान नदिने तर गिलास आधा खाली छ भन्ने आग्रह राख्ने डा. देवेन्द्रराज पाण्डेका भनाइलाई व्यापक महत्त्व दिने काम ‘इण्टरनेसनल क्राइसिस ग्रूप’ जस्ता संस्थाहरूबाट निरन्तर भइरह्यो । अघिपछि मानव अधिकार, समता, समानताका कुरा चर्को स्वरमा गर्ने पश्चिमका दातृराष्ट्र र विशेषगरी युरोपेली देशहरू नाकाबन्दीमा परेका नेपालीको पक्षमा चूँ बोलेनन् । कता गयो तिनको मानव अधिकारको नारा ? कुनै कुनै देशका कूटनीतिक कर्मचारीले त आफ्नै देशमा मान्य नहुने कुराहरू समेत नेपालको संविधानमा प्रवेश गराउने दुस्साहस गरे । गौतमले पुस्तकमा खुलस्त नगरे पनि बेलाइतका राजदूत एण्डी स्पार्कको धृष्टतालाई सजग नेपालीले बिर्सेका छैनन् ।

किताबमा परेका अनेक रोचक प्रसङ्गमध्ये एउटा यस्तो छ : सन् २००५ को १ फेब्रुअरीमा राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएको केही दिनपछि लण्डनमा नेपालबारे एक गहन छलफल कार्यक्रम आयोजना भएको थियो । राष्ट्रसंघका उच्च पदाधिकारी गौतमले व्यक्तिगत हैसियतबाट गरेको प्रस्तुति लोकतान्त्रिक मूल्य-मान्यता अनुकूलको थियो । परन्तु नेपालमा त्यसको चर्चा माओवादीले ‘राजावादी सोच हो’ को रूपमा गरेछन् र यता दरबारियाहरू चाहिँ गौतम ‘माओवादी-समर्थक हुन्’ भन्ने निष्कर्षमा पुगेछन् । एकै वक्तव्य, तर आन-का-तान फरक अवधारणा !  

कुलचन्द्र गौतमले आफ्नो पहुँचले भ्याएसम्म नेपालबारेका यी र यस्ता एकतर्फी, पूर्वाग्रही, हेपाहा र भ्रामक धारणालाई चिर्ने प्रयत्न गर्नुभएको देखिन्छ– पुस्तकमा परेका बुँदाहरूले त्यही कुरा छर्लङ्ग पार्छन् । तसर्थ दुबै पुस्तकमा परेका सान्दर्भिक विवरणहरू समेटेर लेखकले एक बृहत् नेपाली संस्करण प्रकाशित गर्नु भएमा पाठकसंख्या उल्लेख्य दरले बढ्ने आशा गर्न सकिन्छ । किनभने नेपालको हिंसात्मक विद्रोहलाई अन्तर्राष्ट्रिय समुदायले कसरी बुझेछ त्यसको सही परिप्रेक्ष्य जान्ने उत्सुकता धेरै नेपालीमा बाँकी नै छ ।  

  (२०७६/०५/११/०४)

भदौ १४, २०७६ मा प्रकाशित

ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस