ऐतिहासिक तथ्यमाथिको विवेचित साहित्य

भदौ २१, २०७६

- महेन्द्रजंग शाह

सिद्धान्त संग्रह गरिएको मूल कानून संविधान हो । सिद्धान्तले निर्माताको विचार र मस्यौदाले अभिव्यक्त गर्न खोजेको भावना व्यक्त गर्दछ । 


ADVERTISEMENT

निर्माताको मनसायले संविधानको जीवन्तता, मार्गदर्शन र व्याख्यामा सीमितता ल्याउँछ । संविधानको व्याख्या गरी निर्माताको मनसाय पत्ता लगाउने कार्य ज्यादै गहन र जटिल कार्य हो ।

ब्याख्याका लागि ब्याख्यात्मक टिप्पणी प्राथमिक स्रोतका रुपमा रहन्छन् । अमेरिकामा अलेक्जेण्डर हेमिल्टन, जेम्स मेडिसन र जोन जेद्वारा लिखित एवं छद्मनाममा प्रकाशित ८५ लेख तथा निबन्धको संग्रहलाई संवैधानिक ब्याख्याका लागि प्राथमिक स्रोतका रुपमा लिने गर्दछन् ।

प्रकारको उपमा कर्मले राजनीतिज्ञ अभियन्ता, वैचारिक रुपमा समाजवादी, स्वतन्त्रता, समानता र सामाजिक न्यायका अथक योद्धा कर्णाली प्रदेशका प्रेमबहादुर सिंहद्वारा लिखित ‘संविधान निर्माण घटना र अनुभूति २०७६’ दर्शन, इतिहास, राजनीति, साहित्य र कानूनमा घुलित भएको पुस्तक संवैधानिक ब्याख्याको प्राथमिक स्रोत सामग्रीको रुपमा रहेको छ ।

सरल र सरस भाषाशैली प्रयोग भएको पुस्तकमा तथ्यको संस्मरणात्मक अनुभूतिले साहित्यिक सामिप्यतामा पुर्‍याएको छ । संविधान निर्माणको बाटो कण्टकाकीर्ण र अपजसिलो थियो तर त्यहीँ बाटोलाई पछ्याउँदै निचोडमा पुग्न सकियो भन्ने सन्देश पुस्तकले दिएको छ ।

पुस्तकमा संविधानको मस्यौदाको विवरणलाई जस्ताको तस्तै समावेश गर्दा केही पेज बढ्न गएको भएपनि ज्ञानको दृष्टिकोणले अध्ययन, अध्यापन, अनुसन्धान कार्यका लागि स्रोत सामग्रीको काम गर्नेछ ।
८ भागमा विभाजित पुस्तकमा प्रारम्भिक ३८ पेज, मूल पाठ र अनुसूची ५९२ पेज र तस्वीर खण्ड २६ पेज गरी जम्मा ६५६ पेज रहेको छ । अनुसूची र मूल पाठबीच तालमेल देखिन्छ । सन्दर्भ सूचीलाई र पादटिप्पणीलाई सजिलो बनाउन अनुसन्धानका विधिको पूर्ण प्रयोग भएको देखिँदैन ।

संविधान निर्माणका विभिन्न विधिमध्ये संविधान सभाबाट संविधान निर्माण गर्ने उत्कृष्ट विधिलाई छर्लंग बनाउने प्रयास गरेको छ । घटनाको विवरण प्रस्तुत गरिएको पुस्तकले तथ्यपरकता र सान्दर्भिकतालाई आत्मसाथ गरेको छ । संविधान निर्माण प्रक्रियालाई ऐतिहासिक दस्तावेजका रुपमा सम्झनाको तरेलीमा राखिराख्न पुस्तकले सघाउने देखिन्छ ।

पुस्तकको शीर्षक र विषयवस्तुबीच सार्थक सम्बन्ध रहेको पुष्टि नेपालको संक्षिप्त परिचयले गरेको छ । संविधान निर्माणका सिलसिलामा संविधान सभाको ऐतिहासिक दिनदेखि संविधान जारी भएका दिनसम्मको परिघटनालाई विवरणात्मक ब्याख्याका रुपमा प्रस्तुत गरी घटनासँगको आफ्नो उपस्थितिलाई आत्मपरक ढंगले लेखकले उल्लेख गरेका छन् । पुस्तकमा भविष्य निर्देशित संविधान कार्यान्वयन, सुशासन, विकास र समृद्धिजस्ता विषय समावेश गरी संविधान र संघीयताको विशेष चर्चाका साथ उपसंहारतर्फ उन्मुख छ ।

सहकार्यमा भएका तीतामिठा अनुभव घात, प्रतिघात र विश्वासघातलाई पुस्तकको ‘दुःखद अन्त्य’को शीर्षकले नै स्पष्ट गरेको छ । अन्त्यमा पुस्तक ऐतिहासिक तथ्यमाथिको विवेचित साहित्य र ज्ञानविवेकमूलक कानूनको मूल ब्याख्याको लागि संवैधानिक साहित्य र दर्शनमा जीवन्त दस्तावेजको रुपमा रहेको छ । 

(प्राड महासेनानी शाह सैनिक न्याय प्रणालीमा विद्यावारिधि, संवैधानिक कानून र राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् ।)

भदौ २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार