एशियाली जुडो खेलाडीको पीडाः खाजा पसलको भरमा खेल्दै सिकाउँदै

भदौ २२, २०७६

भीमदत्तनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुरकी सुनिता बोहरा छैठौँ र सातौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा जुडोकी स्वर्ण पदकधारी खेलाडी हुन् ।
 उत्कृष्ट खेल प्रदर्शनकै कारण उनी नेपाल खेलकूद पत्रकार मञ्चद्वारा २०७० सालमा आयोजित ‘पल्सर स्पोर्टस् अवार्ड’को मनोनयनमा मात्रै परिनन् सर्वोत्कृष्ट खेलाडी भई पल्सर मोटरसाइकल पुरस्कारसमेत पाइन् । सन् २०१७ मा दक्षिण कोरियामा भएको एशियाली खेलकूद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेकी बोहरा हाल जीविकोपार्जनका लागि ‘खाजा पसल’ सञ्चालन गरिरहेकी छिन् । 

     बोहरा प्रायः कभर्डहलमै भेटिन्छिन् । उनले यहाँ जुडो खेलाडीलाई निःशुल्क प्रशिक्षण दिँदै आएकी छिन् । उनले जीविकोपार्जनका लागि हाल खाजा पसलसमेत सञ्चालन गरेकी छिन् । बोहरा खेल र व्यवसायमा उत्तिकै सक्रिय छिन् । नौ वर्षको उमेर छँदा उनी खेलकूदमा सक्रिय भएकी हुन् । शुरुआतमा बोहरा कराते खेलाडी थिइन् । पाँचौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि करातेमा छनोट हुन नसकेपछि उनको खेलयात्रा जुडोतर्फ मोडियो । खेलाडी छनोटका लागि कञ्चनपुर आएका जुडो प्रशिक्षक हरि श्रेष्ठको नजरमा परेपछि बोहराले करातेभन्दा जुडोमै मन लगाइन् ।  


ADVERTISEMENT

    अठहत्तर किलो बढी तौल समूहमा खेल्ने गरेकी बोहराले बृहत् पाँचौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा रजत पदक जितिन् । “पहिलो प्रतियोगितामै पदक जितेपछि जुडोलाई नै निरन्तरता दिए”, बोहराले भनिन्, “त्यसयता पदकविहीन हुनुपरेको छैन ।” विसं २०६८ देखि उनले कञ्चनपुरमा जुडोको नियमित प्रशिक्षणसमेत दिँदै आएकी छिन् । उनी आफैँ खेलाडी, आफँै प्रशिक्षक हुन् । “जुडोको प्रशिक्षक उपलब्ध छैनन्, इन्टरनेटका माध्यमले नयाँनयाँ टेकनिक सिक्दै खेलाडीलाई सिकाउने गरेकी छु”, उनले भनिन् । 

    स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै आएकी बोहरा दुई महीनाअघि भारतको मुम्बइमा ‘एनआइएस’ तालीम सकेर फर्केकी छिन् । “खेलाडीको भविष्य सुनिश्चित नहुँदा खेल जीवन त्याग्ने गरेका छन्, मैले खेलप्रतिको मोहकै कारण सँगैसँगै खाजा पसलसमेत चलाएकी छु”, बोहराले पीडा सुनाइन् । उनले कभर्ड हल नजिकै खाजा पसल सञ्चालन गर्नुका साथै १५ खेलाडीलाई जुडो सिकाउँदै आएकी छिन् । “कहीँकतैबाट सहयोग पाएकी छैन, आफ्नै प्रयासले खेलाडीलाई प्रशिक्षण दिँदै आएकी छु”, बोहराले भनिन् । 

    सुदूरपश्चिम प्रदेशमै छैटौँ राष्ट्रिय खेलकूद आयोजना हुँदा जुडो सङ्घबाट प्राप्त ‘म्याट’को हाल प्रयोग गर्न सकिएको छैन । “प्रशिक्षण गराउन ठाउँ अभाव छ, ठाउँ अभावले म्याटको प्रयोग गर्न सकिएको छैन”, उनले भनिन् । बोहराले जुडोको सामग्री आफ्नै खर्चमा जुटाउने गरेको बताइन् । “खाजा पसलको आम्दानीले जुडोलाई निरन्तरता दिएकी छु, घर परिवारको साथ पनि पाएकै छु”, उनले भनिन् । जिल्लामा जुडो सङ्घ निश्क्रिय रहेकामा बोहराको चित्त दुःखेको छ । “सङ्घ हाम्रो अभिभावक हो, तर सक्रिय नहँदा खेलाडी टुहुरा जस्तै भएका छन्”, बोहराले पीडा सुनाइन् । 

    नामकै लागि बोहरा जुडोमा समर्पित छिन् । “नेपालमा खेलाडीले हातमुख जोर्नकै लागि दिनरात सङ्घर्ष गर्नु परिरहेको छ”, दक्षिण कोरियामा एसियाली खेलकूद प्रतियोगितामा सहभागी हुँदाको अनुभव सुनाउँदै बोहराले भनिन्, “व्यक्तिगत प्रयासले मात्र खेलाडीले प्रतिस्पर्धा गर्नु परिरहेको छ, राज्यको लगानी शून्यसरह छ ।” सुदूरपश्चिम प्रदेश जुडो प्रशिक्षकविहीन अवस्थामा छ । खेलाडी आफ्नै प्रयासले प्रतियोगितामा सहभागिता जनाउँछन् । प्रतियोगिता भएका बेला उनीहरुले अन्य प्रदेशका जुडो खेलाडीबाट नै खेलबारे ज्ञान बटुल्छन् । त्यसैका भरमा अको प्रतियोगितालाई तयारी गर्छन् । 

भदौ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार