माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
भदौ २३, २०७६
जिम्बाब्वेमा ३७ वर्ष शासन चलाएका रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा बिहीवार सिंगापुरस्थित अस्पतालमा निधन भएको छ । उनको उदय र पतनको कथा निकै रोमाञ्चक छ र कम्युनिस्ट क्रान्तिकारी पृष्ठभूमिबाट उदाएका नेताको निरंकुशतावादी पतनको कथा नेपालको सशस्त्र क्रान्ति र क्रान्तिपछि कम्युनिस्ट नेताहरूमा आएको विचलनसँग मिल्दोजुल्दो छ ।
जिम्बाब्वेलाई बेलायती साम्राज्यबाट मुक्त गर्नका लागि संघर्ष गर्ने मार्क्सवादी क्रान्तिकारी नेता मुगाबेले लामो शासनकालमा देशको अर्थतन्त्र ध्वस्त पारे अनि लोकतान्त्रिक संस्थाहरूको घाँटी निमोठे । कुनै समयमा अफ्रिकाको अन्नभण्डार भनी चिनिने जिम्बाब्वे मुगाबेको शासनकालमा मुद्रास्फीति, बेरोजगारी, भोकमरी, भ्रष्टाचार र रक्तरञ्जित संघर्षमा डुब्न बाध्य भएको थियो ।
सन् २००९ मा युरोपेली संघका प्रतिनिधिहरू मुगाबेलाई भेट्न राजधानी हरारे जाँदा अद्भुत दृश्य देखेका थिए । एकजना बलिया युवक कचौरा र पानीको भाँडो चाँदीको ट्रेमा लिएर आएका थिए । उनी मुगाबेका अगाडि झुके अनि मुगाबेले ती व्यक्तिलाई पाउमा राखेर हात धोए । कुनै समयमा पश्चिमले मार्क्सवादी स्वतन्त्रता सेनानी भनी अग्घोर प्रशंसा गरेका व्यक्ति मध्यकालीन शासकको नक्कल उतार्न थालेका थिए र उनका जनताहरू चाहिँ चरम पीडामा थिए ।
मुगाबेले आफ्नो शासनकालमा भोकमरीलाई नीति बनाएका थिए र राज्यमा लुटतन्त्र मच्चाएका थिए । उनको इच्छाको सम्मान नगर्नेहरूलाई कुटपिट, बलात्कार, यातना र हत्याको शिकार बनाइने गर्थ्यो । मुगाबेको नेतृत्वमा स्वतन्त्रताको लडाईं लडेको जेडएएनयू–पीएफले राजनीतिक विपक्षीहरूलाई हिंसा र धाकधम्कीका माध्यमले दबाउने गरेको थियो । सन् २००८ मा भएको आमनिर्वाचनमा विपक्षी राजनीतिकर्मी मोर्गन स्वांगिराईले मुगाबेलाई हराउन लाग्दा उनका अनुयायीहरूलाई कुटपिट गरिएको, बेपत्ता बनाइएको अनि हत्या गरिएको थियो । मुगाबेको शासनकालमा यस्तो दुर्व्यवहार सामान्य विषय बन्न पुगेको थियो ।
मुगाबेले सत्ता सम्हाल्दा जिम्बाब्वे कृषिका लागि प्रख्यात थियो । तर मुगाबेले गोरा कृषकहरूलाई देशबाट लखेटे अनि अर्थतन्त्र डुबाए । अर्थतन्त्र डामाडोल भएपछि मूल्यवृद्धि यतिसम्म बढ्यो कि प्रत्येक २४ घन्टामा सामानको मूल्य बढिरहेको हुन्थ्यो । हुँदाहुँदा खर्ब रुपैयाँको नोट पनि निकाल्नुपर्ने स्थिति आएको थियो ।
आमजनता आर्थिक संकटमा पिल्सिएर रगतको आँसु पिउन बाध्य हुँदा मुगाबे चाहिँ आफ्नो जन्मदिन भव्यताका साथ मनाउने गर्थे । उनको ९१औं जन्मदिनमा उनकै उमेर बराबर तौल भएको केक काटिएको थियो । अनि उनले विदेशमा महंगा भवनहरू किनेको चर्चा पनि चल्ने गर्थ्यो ।
उनकी पत्नी ग्रेस मुगाबेले लन्डन, पेरिस र रोमका महंगा पसलहरूमा सामान किन्ने गरेकी थिइन् । गुच्ची ब्रान्डको महंगो झोला बोक्ने गरेकाले उनलाई मानिसहरू गिल्ला गरेर गुच्ची ग्रेस भनी बोलाउने गर्थे ।
मुगाबे जतनाको पीडाप्रति उदासीन शासक थिए । तर उनी ठूला विद्वान् पनि थिए । उनले सातवटा विषयमा स्नातकोत्तर गरेका थिए र तीमध्ये धेरैजसो डिग्री उनले कारागारमा रहँदा पूरा गरेका थिए । व्यक्तिगत रूपमा कुरा गर्दा उनी निकै कठोर परिश्रम गर्ने तथा अनुशासनमा बस्ने व्यक्ति थिए । निकै वृद्ध भएपछि पनि उनी घाम झुल्किनुअघि उठ्थे, योग गर्थे र ब्रेकफास्ट लिँदैनथिए ।
मुगाबेको बाल्यकाल एक्लोपनमा बितेको थियो । सन् १९२४ मा जन्मिएका मुगाबे आफ्ना मातापिताका ६ सन्तानमध्ये तेस्रा थिए । उनका पिता सिकर्मी थिए भने माता विद्यालय शिक्षिका थिइन् । राजधानी हरारेभन्दा ५० माइल टाढाको कुटामा गाउँमा उनी जन्मेका थिए ।
उनी १० वर्षका हुँदा उनका पिता आफूभन्दा निकै कम उमेरकी महिलासँग भागेका थिए । त्यस घटनाले मुगाबेलाई निकै चोट पुर्यायो । उनी पीडा भुलाउनका लागि पुस्तकको संसारमा हराउन थाले ।
उनका निकै कम साथी थिए र प्रायः एक्लै बस्न रुचाउँथे । उनलाई चिन्नेहरूले उनी सानैदेखि निरंकुश प्रवृत्तिको भएको बताउँथे ।
क्याथोलिक पादरी बन्ने सोच पालेका मुगाबे पछि शिक्षक बन्न पुगे । उनले दक्षिण अफ्रिकाको फोर्ट हेयर विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्ति पाए । त्यहाँ उदाउँदा नेताहरूले लोकतन्त्र र मानवअधिकारका पाठ पढ्ने गर्थे । दक्षिण अफ्रिकाका महानतम नेता नेल्सन मण्डेला पनि मुगाबेका सहपाठी थिए । मण्डेलाकै प्रतिस्पर्धामा उनी पनि स्वतन्त्रता सेनानी बनेका हुन् भन्ने गरिन्थ्यो ।
सन् १९५८ मा अफ्रिकाभरि स्वतन्त्रता संग्राम चल्दै गर्दा मुगाबे घानामा प्राध्यापन गर्न गए । त्यहाँ उनले प्राध्यापिका स्याली हेफ्रोनलाई भेटे । हेफ्रोन नै मुगाबेको जीवनकी सबभन्दा प्रभावशाली व्यक्ति बन्न पुगिन् । तीन वर्षसम्मको प्रेमसम्बन्धपछि उनीहरूले विवाह गरे । शक्तिमा पुगेपछि उनी कमरेड स्याली वा आमाइ (राष्ट्रमाता) भनी चिनिन थालिन् र उनी मुगाबेकी सबभन्दा निकटवर्ती सल्लाहकार बनिन् ।
सन् १९९२ मा मिर्गौला बिग्रिएपछि स्यालीको निधन भयो । स्यालीको साथ नपाएपछि मुगाबेमा निरंकुशतातर्फ ढल्कँदै गएको र देशलाई पनि बिस्तारै भड्खालोमा पारेको विश्लेषण धेरैले गर्छन् । स्यालीको निधनपछि मुगाबेले आफ्नी सेक्रेटरी ग्रेससँग विवाह गरे । ग्रेस आफ्ना पतिभन्दा ४० वर्ष कान्छी थिइन् ।
घानाबाट जिम्बाब्वे फर्किएपछि मुगाबेले राष्ट्रवादी दलका जोशुआ न्कोमोको छत्रछायाँमा राजनीति थाले । सन् १९६३ मा उक्त दलमाथि प्रतिबन्ध लगाइएपछि मुगाबे न्कोमोबाट टाढिए अनि सशस्त्र संघर्षले मात्र गोराहरूको सरकार ढलाउन सकिन्छ भन्ने निष्कर्ष निकाले । त्यसपछि उनले जिम्बाब्वे अफ्रिकन नेसनल युनियन नामक पार्टी गठन गरे ।
त्यसको एक वर्षपछि उनले जिम्बाब्वेका गोरा प्रधानमन्त्री इयन स्मिथमाथि शाब्दिक आक्रमण गरेपछि १० वर्ष हिरासत/नजरबन्दमा परे । सन् १९७४ मा हिरासतमुक्त हुँदासम्म उनले थप डिग्री हासिल गरिसकेका थिए र आफूलाई मार्क्सवादी–लेनिनवादी–माओवादी भन्न थालेका थिए ।
त्यसपछि उनले सशस्त्र संघर्ष थाले । मोजाम्बिकमा छापामार लडाकू तालिम शिविर स्थापना गरेर उनले तत्कालीन रोडेसियामा आक्रमणको नेतृत्व गरे । सन् १९७९ सम्म आइपुग्दा स्वतन्त्रता युद्धमा परी ३० हजारभन्दा बढीको ज्यान गइसकेको थियो । मुगाबे क्रान्तिकारी नेताका रूपमा स्थापित भइसकेका थिए । त्यसै वर्षको क्रिसमसका दिन लन्डनमा एक सम्झौता भएपछि इयन स्मिथ सत्ता परित्याग गर्न बाध्य भए ।
यसरी जिम्बाब्वे स्वतन्त्र भयो । त्यसपछि मुगाबेले आफ्ना पुराना नेता न्कोमोको दललाई चुनाव लड्नै दिएनन् अनि आफूहरूले नजितेमा युद्धमा फर्किने धम्की दिए । नेपालमा पहिलो संविधानसभाको चुनावमा माओवादीहरूले कांग्रेस, एमाले तथा अन्य दललाई यसरी नै चुनावप्रचार गर्नै निषेध गर्ने अनि आफूहरू हारेमा जंगल फर्कने धम्की दिएर चुनाव जितेका थिए ।
मुगाबेको दलले दुईतिहाइ बहुमतका साथ चुनाव जित्यो अनि उनले माताबेलेल्यान्डमा न्देबेले कबिला समूहका मानिसको नरसंहार गराएर विपक्षी दलको आधारइलाका नै ध्वस्त पारे । जिम्बाब्वेलाई अस्थिर बनाउन छिमेकी मुलुक दक्षिण अफ्रिकाले खेल खेलेको र आफूले त्यसो हुन नदिनका लागि हिंस्रक कारवाही गरेको बताउँदा पश्चिमी शक्तिहरूले त्यसलाई माने ।
पश्चिमी नेताहरूको आशीर्वाद पाएर अनि पत्नी स्यालीको राम्रो सल्लाहका साथ मुगाबेले जिम्बाब्वेमा अनेकौं विद्यालय र अस्पताल खोले अनि देशलाई अफ्रिकाकै सबभन्दा धेरै साक्षरता दर भएको मुलुकमध्ये एक बनाए ।
तर सन् १९९० सम्म आइपुग्दा शीतयुद्ध समाप्त भयो अनि पूँजीवादी पश्चिम र साम्यवादी सोभियत संघले प्रभाव जमाउनका लागि अल्पविकसित देशहरूलाई दिने गरेको सहायतामा कमी आउन थाल्यो । त्यसको मारमा जिम्बाब्वे पनि पर्यो । त्यसमाथि राम्रो सल्लाह दिने पत्नी स्यालीको मृत्यु भएपछि मुगाबे अनियन्त्रित भए ।
देशमा आर्थिक समस्या चुलिँदै जाँदा मुगाबे झनै निरंकुश भए अनि शंकालु पनि हुन थाले । सत्ता जोगाइरहनका लागि उनी जुनसुकै कदम चाल्न पनि तयार भए ।
जनतामा असन्तुष्टि बढिरहेको चाल पाएर उनले देशका गोरा कृषकहरूलाई तारो बनाउन थाले । गोराहरूले देशको आधाभन्दा बढी जमीनमा कब्जा जमाएको यथार्थलाई मद्देनजर गर्दै उनीहरूलाई लखेट्दा जनसमर्थन पाइने आकलन मुगाबेले गरे । सन् १९९७ मा उनले १५ सयजना गोराहरूलाई कुनै क्षतिपूर्ति नदिइकन जमीनमा कब्जा जमाउने आदेश दिए ।
उनको यस कदमको पश्चिमी शक्तिहरूले कडा आलोचना गर्दै आर्थिक प्रतिबन्ध लगाए । त्यसपछि जिम्बाब्वेमा मुद्रास्फीति भयो र दंगा भड्किन थाल्यो । त्यसको नियन्त्रणका लागि सेना परिचालनको स्थिति आयो । त्यसमाथि कंगोमा भएको युद्धका लागि जिम्बाब्वेले १२ हजार सैनिक पठाएपछि देशको ढुकुटी रित्तियो । मूल्यवृद्धिले आकाश छोयो र देशको आधा जनसंख्या बेरोजगार भयो ।
त्यसमाथि जिम्बाब्वेको विदेशी मुद्रा आर्जन गर्ने सबभन्दा प्रमुख स्रोत सुर्तीको खेती पनि धेरै ठाउँमा हुन छोड्यो । त्यसले पनि अर्थतन्त्रलाई नराम्रो धक्का दियो । बेरोजगारी बढेपछि धेरै मानिस विदेशतिर पलायन भए । देशमै बस्नेहरू खाद्य सहायतामा निर्भर हुन थाले । हुँदाहुँदा जिम्बाब्वेले १० खर्ब डलरको नोट छाप्नुपर्ने स्थिति आयो । त्यसपछि उसले आफ्नो मुद्रा नै त्याग्नुपर्ने भयो ।
मुगाबेलाई चुनौती दिने मोर्गन स्वांगिराई र उनका समर्थकमाथि सरकारले चरम दमन गर्यो । तर विदेशी शक्तिहरूले स्वांगिराईको दलसँग साझेदारी गर्न उनलाई बाध्य बनायो । सन् २०१३ मा भएको निर्वाचनमा उनले धाँधलीपूर्ण चुनाव जिते अनि बूढ्यौलीले ग्रस्त पारे पनि सन् २०१८ मा समेत राष्ट्रपति बन्ने कुरा गरे ।
तर सन् २०१७ मा मुगाबेपत्नी ग्रेस र मुगाबेका मित्र म्नाङगग्वा गुटबीच द्वन्द्व हुँदा पत्नीलाई राष्ट्रपति बनाउन मुगाबेले म्नाङगग्वालाई उपराष्ट्रपति पदबाट बर्खास्त गरे । तर म्नाङगग्वाले सेनाको आशीर्वाद पाएका थिए अनि उनलाई बेलायत र चीनले समेत समर्थन गरेका थिए । त्यसैले उल्टो मुगाबे नै सत्ता छोड्न बाध्य बनाइए । उनको पतनमा जनताले व्यापक खुशी मनाएका थिए र यसैबाट उनी कुन हदसम्म घृणित बनिसकेका रहेछन् भन्ने देखायो ।
जिम्बाब्वेमा मुगाबेलाई स्वतन्त्रता सेनानी र निरंकुश शासक दुवै रूपमा स्मरण गरिन्छ । उनले देशलाई स्वतन्त्र बनाए तर लुटतन्त्र चलाएर खोक्रो बनाउन पनि उत्तिकै भूमिका निर्वाह गरे । स्वतन्त्रताको सुन्दर सपना देखाएका मुगाबेले अव्यवस्था, गरीबी र दमनको दुःस्वप्न देख्न जनतालाई बाध्य बनाउनु आधुनिक अफ्रिकी इतिहासको एक दुःखद अध्याय हो ।
एजेन्सीको सहयोगमा
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...