जर्मनीमा नवनाजी उम्मेदवार मेयर बनेपछि दलहरूमा आक्रोश

भदौ २३, २०७६

काठमाडौं – जर्मनीको हेस्से राज्यमा रहेको वाल्डसीडलुङ शहरमा नवनाजी विचारधारा बोक्ने व्यक्ति मेयर बनेपछि सत्तारूढ दलका वरिष्ठ राजनीतिकर्मीहरू आक्रोशित भएका छन् । 

उग्रदक्षिणपन्थी दल नेसनल डेमोक्रेटिक पार्टी (एनडीपी)का स्टेफान जाग्शलाई सातजना पार्षदले सर्वसम्मतिले निर्वाचित गरेका हुन् । 


ADVERTISEMENT

जाग्शविरुद्ध कोही पनि उम्मेदवार नउठेपछि उनी स्वतः निर्वाचित भएका हुन् । उक्त शहरमा लगभग २६ सय ५० मानिस बस्छन् । 

एनडीपीमाथि प्रतिबन्ध लगाउने कोशिश गरिएको भए पनि सफल हुन सकेको छैन तर यसलाई गैरसंवैधानिक मानिने गरेको छ । 

चान्सलर अंगेला मर्कलको क्रिस्चियन्स डेमोक्रेट्स, गठबन्धन साझेदार सोसल डेमोक्रेट्स र फ्री डेमोक्रेट्सलाई प्रतिनिधित्व गर्ने स्थानीय पार्षदहरू सबैले जाग्शलाई मत दिएका थिए । 

तर पार्टीका वरिष्ठ सदस्यहरूले जाग्शको विजयलाई निन्दा गरेका छन् । सीडीयू नेता आन्नेग्रेट क्राम्प–कारेनबावरले निर्वाचन रद्द गर्न माग गरेका छन् । 

जाग्शले शहरको हितमा काम गर्ने र दलीय स्वार्थबाट उठेर सिर्जनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

जर्मनीमा प्रमुख उग्रदक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) हो । एनपीडी निकै सानो दल हो र उसले क्षेत्रीय सभाहरूमा मात्र सीट जितेको छ ।

बीबीसीबाट

भदौ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस