इमरान खानकै दलका नेताले मागे भारतमा शरण

भदौ २४, २०७६

काठमाडौं – नयाँ पाकिस्तान बनाउने दाबी गर्ने प्रधानमन्त्री इमरान खानको दलका नेता नै असुरक्षित अनुभव गरिरहेका छन् । 

पाकिस्तानको आरक्षित सीटबाट सांसद बनेका तहरीक–ए–इन्साफका बलदेव कुमार भारत आएका छन् । उनले पाकिस्तान अल्पसंख्यकहरूका लागि असुरक्षित रहेको बताउँदै फर्केर पाकिस्तान जान नचाहेको भने । भारत सरकारसँग उनले शरण मागेका छन् । 


ADVERTISEMENT

बलदेवले भने, ‘पाकिस्तानमा अल्पसंख्यक मात्र नभई मुसलमान पनि सुरक्षित छैनन् । पाकिस्तानमा हामीले एकदमै मुश्किल परिस्थिति सामना गर्नुपरेको छ । मलाई शरण दिनका लागि भारत सरकारसँग अनुरोध गर्छु । म फर्किन्नँ ।’

विगत केही महिनादेखि पाकिस्तानमा अल्पसंख्यक युवतीहरूलाई अपहरण गरेर जबर्जस्ती धर्मपरिवर्तन गरेका घटना सार्वजनिक भएका छन् । 

बलदेवले सन् २००७ मा पञ्जाबको खन्नामा बस्ने एक महिलासँग विवाह गरेका थिए । उनी खन्नामा आफ्नो परिवारसँग बसिरहेका थिए । 

बलदेव तीन महिनाको भिजा लिएर भारत पुगेका हुन् । खैबर पख्तुनख्वा इलाकामा अल्पसंख्यकहरूको अधिकारका लागि उनी आवाज उठाइरहेका हुन्छन् । उनी सांसद भइसकेका व्यक्ति हुन् । 

मिडियासँग कुरा गर्दै उनले भने, ‘पाकिस्तानका अन्य जनता जस्तै मलाई पनि इमरान खानसँग ठूलो आशा थियो तर उनले हामीलाई निराश गरे । पाकिस्तानमा अहिले असुरक्षा छ र यस्तोमा म त्यहाँ फर्केर जान चाहन्नँ ।’

एजेन्सी
 

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार