हात्तीको बथानले गर्‍यो उखुबाली नष्ट

भदौ २५, २०७६

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीमा जंगली हात्तीको बथानले उखु बालीमा नोक्सान गरेको छ ।

मंगलवार राति भारतको दुधुवा नेशनलपार्कबाट आएको हात्तीको बथानले गाउँपालिका अध्यक्ष मदनसेन बडायकको सहित आधा दर्जन बढी किसानको उखु बालीमा नोक्सानी गरेको हो ।


ADVERTISEMENT

३० देखि ३५ को संख्यामा रहेका हात्तीले खाएर र खुट्टाले कुल्चेर उखु बालीमा नोक्सानी गरेको गाउँपालिका अध्यक्ष बडायकले बताए ।

‘रातभरि हात्तीको बथान उखु बारीमै बस्यो,’ उनले भने, ‘मुस्किलले भगाउन सक्यौं ।’ हात्तीको बथान नजिकैको लालझाडी संरक्षित वनतर्फ गएकाले अझै बस्तीमा छिरेर आतंक मच्चाउने चिन्ता रहेको उनले बताए ।

हात्तीबाट उखु तथा अन्य बाली जोगाउन स्थानीय बासिन्दा रातभर जाग्रामसमेत बस्न थालेका छन् । प्रत्येक वर्ष धान, मकै र उखु बाली पाक्नै थालेका बेला हात्तीले नेपाली बस्तीमा छिरेर नोक्सानी गर्दै आएका छन् ।

केही दिनअघि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेको अर्को हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले लगाएको धान बालीमा नोक्सानी गर्दै आएको छ ।

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस