१५ महिनाको कसरतपछि रोजगारीका लागि खुल्ने भयो मलेसिया

फाइल फोटो
भदौ २६, २०७६

काठमाडौँ -लामो समयदेखि नेपाली कामदारहरूका लागि बन्द रहेको मलेसिया यही आइतवारबाट खुल्ने भएको छ ।

बिहीवार दिउँसो प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नेपाली श्रमिकका लागि मलेसिया डेस्टिनेसन आइतवारदेखि खुल्ने बताएका हुन् । मलेसियाको राजधानी क्वालालम्पुरमा भइरहेको द्वीपक्षीय वार्ता तीन दिनदेखि चलिरहेको थियो ।


ADVERTISEMENT

एक ट्वीट गर्दै भट्टराईले भने, 'गतबर्ष देखि बन्द रहेको नेपाली श्रमिकहरुको मलेसिया डेस्टिनेशन आज भएको द्विपक्षीय सहमति अनुसार आगामी आइतबार बाट खुल्ने भएको छ ।'

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले २०७५ को जेठ ३ गतेदेखि मलेसियामा नेपाली श्रमिक पठाउन रोक लगाएको थियो । विभिन्न गैर-कानूनी संयन्त्रहरूले मलेसिया जाने कामदारहरूबाट अनाधिकृत रूपमा अर्बौं उठाएको भन्दै मन्त्री गोकर्ण विष्टको पहलमा रोजगारीका लागि मलेसिया बन्द भएको थियो ।

त्यसपछि गत कात्तिकमा नेपाल र मलेसियाबीच द्विपक्षीय श्रम सम्झौता भयो । श्रम सम्झौता भएपनि रोजगारी खुल्न सकेन । मुख्य अड्किएको विषय स्वास्थ्यपरीक्षण संस्थाको छनौट थियो ।

क्वालालम्पुरमा भइरहेको द्वीपक्षीय वार्तामा स्वास्थ्य परीक्षण संस्थाका विषयमा नयाँ सहमति जुटेको बताइएको छ ।

 

 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस