नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको अभिभारा : प्रचण्ड

असोज ३, २०७६

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले संविधान दिवसको अवसरमा  बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

शुक्रवार एक सन्देश जारी गर्दै उनले जनताको त्याग र बलिदानबाट प्राप्त संपिवधानका खातिर जीवनोत्षर्ग गर्ने नेपाली आमाबुबाका सर्वोत्तम छोराछोरी महान् शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 


ADVERTISEMENT

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जारी गरेको सन्देशमा भनिएको छ, 'यस संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ भने नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतान्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको छ ।'
उनले वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्थातर्फ मार्ग प्रशस्त गरेकाले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्ने अठोट र संकल्प गर्नुपर्ने बताएका छन् । 

उनले शुभकामना सन्देश जारी गर्दै नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको अभिभारा भएको बताएका छन् । 

अध्यक्ष प्रचण्डले जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेको समेत उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा उनले जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन्  । 


 

असोज ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस