इरानको अर्थतन्त्र ध्वस्त भएपछि शरीरका अंग बेच्न बाध्य जनता

असोज ३, २०७६

काठमाडौं – अमेरिकी प्रतिबन्धका कारण इरानको अर्थतन्त्र ध्वस्त हुन थालेपछि मानिसहरू आफ्ना अंग बेच्न थालेको एक विपक्षी समूहले दाबी गरेको छ । 

पेरिसमा रहेको नेसनल काउन्सिल अफ रेजिस्टेन्स अफ इरानले अंग बिक्री अहिले फलिफुलिरहेको जनाएको छ । 


ADVERTISEMENT

उक्त संस्थाले जारी गरेको प्रतिवेदनमा तेहरानको एक गल्लीमा अंग बिक्री गरिन्छ भन्ने विज्ञापन यति धेरै कोरिएका छन् कि त्यसको नामै मिर्गौला गल्ली भनी राखिएको उल्लेख छ । 

हातमुख जोर्नै समस्या भएकाहरूले आफ्नो फोन नम्बर र रगतको टाइप भित्तोमा लेख्ने गरेका छन् । कसैले नम्बर देखेर मिर्गौला किनिहाल्ला कि भनी उनीहरूले आशा गरेका छन् । संस्थाको प्रतिवेदनमा आर्थिक संकटको दोष इरान सरकारमाथि थोपरिएको छ । 

संस्थाको प्रतिवेदनमा उल्लेख गरिएका केस स्टडीजमा ३० वर्षीय एक विद्यावारिधि विद्यार्थीले अपांग आमाको स्याहार गर्न मिर्गौला बेच्ने प्रस्ताव गरेका छन् । 

अंग बिक्री गर्ने एक वेबसाइटले २६ वर्षीय एक व्यक्ति आर्थिक समस्याका कारण मिर्गौला बेच्न तयार रहेको उल्लेख गरेको छ । अर्का एकजनाले मिर्गौला र बोनम्यारो बेच्न खोजेका छन् । 

केही विक्रेताहरूले आफूलाई खेलाडी र शारीरिक रूपमा तन्दुरुस्त रहेको भन्दै विज्ञापन गरेका छन् ।

कलेजोका लागि १५ हजारदेखि ५० हजार डलरसम्म मूल्य तोकिएको अनि मिर्गौला चाहिँ १० हजार डलरसम्ममा बिकिरहेको छ । 

एजेन्सी

असोज ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस