‘कौन बनेगा करोडपति’मा रामायण नजान्दा सोनाक्षी सिन्हामाथि व्यंग्य वर्षा

असोज ४, २०७६

नयाँदिल्ली – बलिउडकी चर्चित नायिका सोनाक्षी सिन्हाले भारतीय अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने ‘कौन बनेगा करोडपति’ कार्यक्रममा रामायणबारे सोधिएको प्रश्न नजानेपछि समर्थकले व्यंग्य बाणको वर्षा गरेका छन् ।

कार्यक्रममा सिन्हालाई हनुमानको सोधिएको थियो – रामायणका अनुसार हनुमानले कसका लागि सञ्जीवनी बुटी ल्याएका थिए ? यसको सही उत्तर लक्ष्मण हो ।


ADVERTISEMENT

तर कार्यक्रममा उत्तर नजान्दा सिन्हाले विज्ञको सहायता लिने निर्णय गरेकी थिइन् । सामान्यजस्तो प्रश्न समेत नजानेपछि नायिका सिन्हा सहभागी कार्यक्रमको भिडियोलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ बनाइएको छ ।

नायिका सोनाक्षीको परिवार बस्ने घरको नाम रामायण राखिएको छ, उनका बुवा–काकाको नाम समेत रामायणकै पात्रका नाम राखिएका छन् । उनका भाइको नाम लव–कुश छ तर उनले रामायणको सजिलो प्रश्नको जवाफ समेत दिन सकिनन् । यो कुरा उनका समर्थकलाई पचेन तर सामाजिक सञ्जालमा व्यंग्य गर्न थाले ।

सामाजिक सञ्जालमा व्यंग्य वर्षा भएपछि नायिका सिन्हाले ट्विटरमार्फत भनेकी छन् – मलाई पाइथागोरस, मुगल वंशको वंशावली लगायत अरु के–के आउँदैन, त्यो पनि थाहा छैन । यदि तपाईंहरूसँग काम छैन र धेरै फुर्सद छ भने कृपया सबै विषयमा ‘मीम्स’ बनाउनुस्, मलाई ‘मीम्स’ मन पर्छ ।

सिन्हाको यो जवाफमाथि समेत व्यंग्य शुरू भएको छ । एक समर्थकले जवाफमा लेखे, ‘त्यसो भए केबीसी (कौन बनेगा करोडपति) मा किन जानुभएको बहिनी ?'

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस