पर्खालभित्र कमरेडहरू, पर्खालबाहिर भरिया !

असोज ५, २०७६

देशको झण्डा बोकेर टुँडिखेलको पर्खालको प्वालबाट पर्खालभित्रको संविधान दिवस दृश्य हेरिरहेको एकजना भरियालाई प्रहरीले खेदायो । ठ्याक्कै त्यही बेला मेरो मोबाइलको ब्याट्री अफ थियो, प्रमाण खिच्न सकिनँ । अहिले थकथकी लागिरहेको छ । हुन त आजको स्टोरी सामान्य विषयमा छ । तर कतिपय सामान्य विषयहरूको अन्तर्य निकै असामान्य हुने गर्छ । के लेखेको होला यस्तो काम नपाएर छेउ न टुप्पाको नभन्नुहोला । आफूलाई लागेको कुरा लेखेको मात्र हो । 

दुःखको कुरा, संविधानको किताब त बदलियो तर मानिसहरूको सोच बदलिएन । देशको रीतिथिती पनि बदलियो तर सामन्तवादी चरित्र बदलिएन । 


ADVERTISEMENT

अरू पनि थुप्रै दुःखका कुरा छन् । जस्तो कि ४ किलोमिटर पर टुँडिखेलमामा मनाउन लागिएको संविधान दिवसलाई  लक्षित गरेर ४ किलोमिटर वरै तीनकुनेमा सार्वजनिक सवारीसाधनहरू गुड्न रोक लगाइएको थियो त्यस दिन । संविधानले दिएको निर्बाध रूपमा हिँडडुल गर्न पाउने जनताको अधिकार पनि संविधान दिवसकै दिन खोसियो । 

कथित भीआईपी सवारीको नाम दिइएको त्यस बाटो बन्दका कारण म सवार ट्याक्सीका चालकले सुन्न नसक्ने गरी अनेक अश्लील मुख छाडे । मलाई लाग्छ, यहाँका ९० प्रतिशत चालकहरूले सरकारलाई गाली गर्ने शब्द नै यस्तै( यस्तै बनाएका छन् । सर, तपार्इं झरेर जानुहोस्, यो जाम खुल्दैन भनेपछि मैले पनि मु... भन्दै मुख छाडें । अनि ट्याक्सीबाट निस्कें । नजिकै प्रेस लेखिएको गाडी आइरहेको रहेछ । अब यही प्रेसको तागत लगाएर जानुपर्‍यो भनेर यसो गाडीमा हेरेको थिएँ, चिनेजानेकै भाइहरू रहेछन् । दाइलाई गाडीमा हालेर हुँइकाइहाले । अनि मनमनै लाग्यो, पैसा कमाउन नसके पनि हुनुपर्ने त पत्रकार नै रहेछ, यार । वाह, क्या तागत छ ! भीआईपी सवारी ? नो प्रोब्लम बिकज आई याम पत्रकार । 

टुँडिखेलमा भेट भएर यसो चिया गफ गरौंला भनेर सल्लाह गरेका केही मित्रहरूले फोनमा दुखेसो पोखे– टीचिङ अस्पताल, कान्ति अस्पताल, प्रहरी अस्पताल, गंगालाल अस्पताल जस्तो संवेदनशील ठाउँ लाजिम्पाट महाराजगञ्ज बाटो रोक्या छ । कम्तीमा ४५ मिनट जति लाग्छ रे खुल्न । कसरी आउने यार ? मैले भनें, अब सरकारलाई पखेटा हाल्दिन भन्नपर्‍यो हरेक नागरिकलाई । यस हातको काम छैन । हातको ठाउँमा पखेटा चाहियो । जहाँ भीआईपी साहेबहरूको सवारी हुन्छ, जनता पखेटा फिँजाइहाल्छ । ती साथीले भने, ‘म आउदिनँ, यार । फर्किएँ ।’ 

प्रत्येक वर्ष संविधान दिवस यसरी नै तारबारले घेरेर उच्च सुरक्षाबीच मनाउने परम्परा नै चलेको छ । तर यो परम्परा किन बस्यो, अब के रहिरहनुपर्छ यो परम्परा ? यस्तै हो भने त देश हाँक्न सिंहदरबार छिरेकाहरू सिंहको नै रूप धारण गरिसके तर जनता भने सधैं रैती नै बन्न बाध्य भए भन्दा अन्याय होला त ।

अनि मैले भने, ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं । फेरि सञ्चारमन्त्री गोकुल बास्कोटाले भनेकै थिए, ‘केटी घुमाउने, जाँड रक्सी खाएर रमाइलो गर्ने, जुवा तास खेल्ने होइन नि छुट्टी दिएको, संविधान दिवस मनाउन हो ।’

चाहेको भए टुडिखेलभित्र छिरेर संविधान दिवसका फोटाहरू, गतिविधिहरू कैद गर्न सक्थें । तर चाहिनँ किनभने टुँडिखेलको पर्खालबाहिर मजस्तै हजारौं नागरिकहरू संविधान दिवसको खुशियाली हेर्न फलामको तारबारहरूका प्वालभित्र आँखा तेर्स्याइरहेका थिए । मानांै यहाँ भोकमरी लागेको छ र खानाको प्रतीक्षामा मानिसहरू उभिइरहेका छन् । यसरी जनतालाई पर्खालबाहिर राखेर पर्खालभित्र जुन संविधान दिवसको तामझाम हुँदैथियो, कम्तीमा गेट बाहिरबाट हेर्ने मेरो रहर पूरा हुन सकेन । मेरो मात्रै हैन, मसँगै लहरै उभिएका ५० जना मानिसहरूको रहर पूरा हुन सकेन किनभने एक हप्तामा प्रहरीहरू आए र हामीलाई भेडाबाख्रा जस्तो व्यवहार गरेर खेदियो । 

भनियो, हेर्न मनाही छ । देख्न मनाही छ । झुम्मिन मनाही छ । फलामको प्वालबाट पर्खालभित्रको खुशियालीको अनुभव गर्न मनाही छ । हजुरहरूलाई पर्खालबाहिर उभिन पनि मनाही छ । यहाँ उभिन पनि पाउनुहुन्न । मानौं कि जनताहरू यस देशका नागरिक हैनन्, केवल रैती हुन् जस्तो । तेस्रो मुलुकबाट भाडामा ल्याइएका कामदारहरू जस्तो । के त्यहाँ जनता काम नपाएर एकबारको जुनी पर्खालबाहिर उभिएर बिताउन गएका थिए र ? पक्कै थिएनन् । केही घण्टाको कुरा थियो । तर जनतालाई पर्खालबाहिर उभिन पनि दिइएन । 

एकजना प्रहरीले उदार भावमा मलाई भन्दैथिए, ‘सर, तपाईं आउनुहोस् न भित्र । म मिलाउँछु नि ।’ मैले उनलाई आवेगमा झपारें अनि भनें, ‘तपार्इंले मलाई मिलाउनु नि पर्दैन, सर भन्नु नि पर्दैन । म जानेबुझेरै पर्खालबाहिर उभिएको हुँ किनभने म आम जनता हुँ । तपार्इंको काम हो हामीलाई हेर्न नदिनु, देख्न नदिनु, यहाँ उभिन नदिनु । माथिको आदेश के हो त्यो पालना गर्नुहोस्, हामीलाई यहाँबाट खेद्नुहोस् । तर घरमा गएर आफ्नो बच्चालाई भन्नुहोला– यो देश कुनै शासकको मात्र हैन, हामी सबैको हो । संघर्ष गर्नुपर्छ भन्नुहोला ।’ अनि ती प्रहरी निन्याउरो मुख पारेर गए । 

अरे, यस देशमा हाम्रा शासकहरू जनताको स्तरबाट कहिले सोच्ने होलान् ? समाजवादको चर्को कुरा गर्छन् तर यिनीहरूको आनीबानी, आचरण पूरै हुकुमी शासकहरूको जस्तो छ । गालामा नेपालको झण्डा पोतेर नारा लगाउँदै सडकमा राज्यप्रमुखहरूसँग हात मिलाउन नपाउने ? चोर जस्तो पर्खालबाहिर उभिनुपर्ने । हुन त सरकार संविधान दिवस मनाउने तयारी गर्दै गर्दा यता विद्यार्थी संविधानमा लेखिएका हक अधिकार नपाएर १७ दिनदेखि भोकभोकै आन्दोलन गरिरहेका छन्, कस्तो विडम्बना ! 

राष्ट्रिय खुशियालीका दिनहरूमा विदेशमा पनि देखिन्छ त्यहाँका राज्यप्रमुखहरू खुला बाटोमा हिँडेर जनतासँग अंकमाल गरिरहेका हुन्छन् । फूलमाला आदानप्रदान गरेर गर्वको महसूस गरिरहेका हुन्छन् । जनतासँग हाँस्दै हाँस्दै हात मिलाइरहेका हुन्छन् । जनताले आयोजना गरेको खुशियाली भेलाहरूमा ती पुगेका हुन्छन् । तर हाम्रो देश अलिक अचम्मै छ । यस्ता खुशियालीहरू सीमित जमातले मात्रै हेर्नुपर्छ, यो खुशियाली जनताको भन्दा पनि शासकको हो र शासकहरू नै यस दिनमा विशेष हुन्छन् भन्ने जस्तो । 

आखिर यस्तो किन त ? यो एक्कासी यस्तो भएको हैन, नेपालको शासकवर्गको सोच, चिन्तन र संस्कार उही पुरानै छ, अर्थात् फेरिएको छैन । त्यस खुशीको क्षणमा खुशी साट्न पुगेका जनतालाई गेटभित्र त परै जाओस्, गेटबाहिर पनि उभिन नदिएर जनतालाई तारबारले रोकेर टुँडिखेलको तामझाम श्री ३ हरूले  मात्रै  नजर गरिबक्सेका छन् । हुन त यो आइस्योस्, खाइ्स्योस्, गरिबक्स्योस् शासकवर्गको लागि प्रयोग गरिने सम्मानको भाव हो । तर हामीले जनताको शासन ल्याउने भन्यौं, जनताको नेता भन्यौं, जनताको सरकार भन्यौं, जनताको राज्य भन्यौं । व्यवहार चाहिँ यस शासकको मात्रै राज्य जस्तो देखिन्छ कहिलेकाहीँ । 

आफैंले आफैंलाई पुरस्कार सिफारिश गर्ने देशमा के टुँडिखेलको गेटभित्र गएर शासकहरूलाई नियाल्न पनि आफैंले आफैंलाई सिफारिश गर्नुपर्ने हो कि ? ल, भित्र त कुरै छाडौं बाहिर गेटबाट पनि हेर्न नपाइने ?  आम सर्वसाधारण जनताहरू हातमा नेपालको झण्डा बेकेर टुँडिखेल वरिपरि लगाइएको फलामको गेटको प्वालबाट सरकारलाई हेर्ने प्रयास गरिरहेका देखिन्थे । टुँडिखेलभित्र संविधान दिवस मनाइरहेका सरकारलाई हेर्न निकै सकस परिरहेको थियो, खासगरी स्कूले बालबालिका, उमेर बुढ्यौली भएका बा आमाहरूलाई । 

वास्तवमा टुँडिखेलभित्र जनताकै छोरी भनिएकी राष्ट्रपति थिइन् विद्यादेवी भण्डारी । के उनको नजिकै पुगेर जनताहरू उभिन मिल्दैन ? के फूलका मालाहरू हातमा लिएर, खुशीका चेहराहरू लिएर टुँडिखेलभित्र वा बाहिर नै भए पनि जनताहरू विना रोकतोक उभिन मिल्दैनथ्यो ?

फलामको गेटको प्वालबाट संविधान दिवसको रौनक हेरिरहेकाहरूलाई प्रहरीले लखेटिरहेको थियो मानौं कि देशमा संकटकाल घोषणा भएको छ । प्रहरीहरूको खटनपटन हेर्दा टुँडिखेलभित्र हेर्न मनाही छ भनिरहेको थियो । आफ्नो बाबाको काँधमा बसेर गेटभन्दा अग्लो देखिने प्रयास गरेकी ५ वर्षीया नानीलाई पनि आफ्नो बाबासँगै प्रहरीले प्वालबाट संविधान दिवस समारोह नियाल्न दिएन ? आफ्नै देशको जनतामाथि देशको खुशियालीको दिनमा समेत हजारौं प्रहरी परिचालन गरेर यतिधेरै कडिकडाउ गर्नुपर्ने टुँडिखेलभित्र के थियो ? के हुँदैथियो ? के त्यस्तो भवितव्य हुनेवाला थियो ?

वास्तवमा टुँडिखेलभित्र जनताकै छोरी भनिएकी राष्ट्रपति थिइन् विद्यादेवी भण्डारी । के उनको नजिकै पुगेर जनताहरू उभिन मिल्दैन ? के फूलका मालाहरू हातमा लिएर, खुशीका चेहराहरू लिएर टुँडिखेलभित्र वा बाहिर नै भए पनि जनताहरू विना रोकतोक उभिन मिल्दैनथ्यो ? मलाई लाग्दैन, त्यति धेरै कडिकडाउ गर्नुपर्ने थियो भनेर किनभने यस्तै खुशियाली र दिवसका दिनहरूमा त हो शासकहरू आम जनताको नजरमा पर्ने, नजरमा देखिने र जनताहरूले आफ्नो देशका नेतृत्वकर्ताहरूसँग आत्मीयता साट्न पाउने । जनतासँगको सम्बन्ध जनताको स्तरबाटै गर्नुपर्छ र त्यसका लागि यस्ता तानाशाही हर्कतहरू बन्द गरिनुपर्छ तर सुन्ने कस्ले ? 

हुन त यो कुनै नौलो कुरा होइन । प्रत्येक वर्ष संविधान दिवस यसरी नै तारबारले घेरेर उच्च सुरक्षाबीच मनाउने परम्परा नै चलेको छ । तर यो परम्परा किन बस्यो, अब के रहिरहनुपर्छ यो परम्परा ? यस्तै हो भने त देश हाँक्न सिंहदरबार छिरेकाहरू सिंहको नै रूप धारण गरिसके तर जनता भने सधैं रैती नै बन्न बाध्य भए भन्दा अन्याय होला त । संविधान दिवसको कार्यक्रम गर्दा भीआईपीहरूलाई निश्चित ठाउँमा सुरक्षाको व्यवस्था मिलाई खुला रूपमा जनताको  सहभागितामा टुँडिखेलको पर्दा खोल्नुपर्छ । भरियादेखि राष्ट्रपतिसम्मले खुशी बाँड्न सक्नुपर्छ ।  अन्य देशहरूमा त  सडकमै सबैले सहज तरिकाले हेर्ने गरी सञ्चालन गरिन्छ यस्ता उत्सवहरू । 

प्रहरीले खेदेका ती भरियाहरूको संविधान दिवस त्यसदिन आउनेछ जुन दिन सबै समान हुनेछन् । स्वतःस्फुर्त रूपमा संविधान दिवस मनाउने दिन आउँदा मात्र बल्ल जनताको संविधान हुन्छ । जतिबेला संविधानमा लेखिएका कुरा कार्यान्वयन हुन्छन् । सैनिक तैनाथ गरेर पारित गरिएको संविधान  चोकचोकमा सेना परिचालन गरी जनतालाई प्रवेश गर्न नदिने संविधान दिवसको के औचित्य छ ?

असोज ५, २०७६ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस